भर्खरै :

आचारसंहिता उल्लङ्घनमा प्रतिस्पर्धा

मंसिर १० र २१ गते दुई चरणमा तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिंदै जाँदा विभिन्न जिल्लामा निर्वाचन आचारसंहिताविरोधी घटनाहरु सार्वजनिक भएका छन् । आज सत्तामा बसेका र हिजो सत्तामा रहेका शासक पार्टीहरु एक–अर्कालाई आचारसंहिताविपरीतका क्रियाकलापको आरोप प्रत्यारोप गर्दैछन् । जिल्ला–जिल्लामा ती पार्टीका नेता, उम्मेदवार तथा माओवादी केन्द्रलगायत शासक दलहरु जसरी पनि निर्वाचन जित्ने नियतले अनैतिक गतिविधि गर्दै गराउँदै छन् ।
डोटीका एमाले उम्मेदवार प्रेमबहादुर आलेमगरले र धादिङका नेपाली काङ्ग्रेस उम्मेदवार मधुकुमार श्रेष्ठले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँड्दै गरेको तस्विर सामाजिक सञ्जालहरुमा भाइरल बने । एमाले उम्मेदवार आलेमगरविरुद्ध उजुरी गरेपछि निर्वाचन आयोगले आलेमगरको उम्मेदवारी रद्द किन नगर्ने ? भनी सोध्दै २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पठाउन पत्र काट्यो । त्यसको जवाफ आयो आएन र निर्वाचन आयोगले कारबाही गर्छ÷गर्दैन केही भनेको छैन । नेपाली काङ्ग्रेसका उम्मेदवारविरुद्ध पनि कुनै कारबाही भएको समाचार आएको छैन ।
माओवादी नेताहरुविरुद्ध बम विस्फोटका घटना भएका छन् । शनिबार रोल्पाको भिट्टाबाङमा माओवादी नेता वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट भएको बताइएको छ । माइन विस्फोट भएको र त्यो घटनामा विप्लव समूहका कार्यकर्ताको संलग्नता भएको दावी माओवादी केन्द्रले गरेको छ । गत शुक्रबार पनि माओवादी उम्मेदवार जनार्दन शर्मालाई लक्षित गरी विप्लव समूहका कार्यकर्ताले बम प्रहार गरेको दाबी गरिएको थियो । दुवै घटनामा लक्षित नेता र कार्यकर्ताहरु कसैलाई केही भएको छैन । त्यसैले घटना वास्तवमै आक्रमण हो कि चर्चामा आउनका निम्ति गराइएको नियोजित विस्फोट ? भन्ने प्रश्न पनि खडा भएको छ । जे भए पनि दुवै घटनामा सुरक्षा निकायको कमजोरी सहजै देखिएको छ । विस्फोट गरेर आक्रमणकारी सहजै भागेका छन् । सरकार निकम्मा देखिएको छ । शासक दलहरु आचारसंहिता उल्लङ्घन गर्ने प्रतिस्पर्धामा भुलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *