भर्खरै :

किन हिंसात्मक बन्दैछ नेपाली समाज ?

–सप्तरी जिल्लाको राजविराजमा सम्पत्तिको लोभमा भाइले पच्चीस वर्षपछि घर फर्केका दाजुको पूरै परिवारको निर्मम हत्या गरे ।
–काँडाघारीबाट अपहरण गरेको बालक निशान खड्कालाई अपहरणकारीले मुखमा कपडा कोची हत्या ग¥यो । लास घरको जग राख्न खनिएको खाल्डोमा फाले ।
–कञ्चनपुर जिल्लामा एक जना बालिकालाई बलात्कार गरी मृत लास खेतमा फालियो ।
हरेक दिनजसो देशका विभिन्न जिल्लामा भइरहेका यस्ता आपराधिक घटनाले नेपाली समाज क्रमशः हिंसात्मक बन्दै गइरहेको देखापर्दछ । यस्ता आपराधिक गतिविधिले समाज क्रमशः विश्रृङ्खित बन्दै गइरहेको छ । को–कसबाट कहिले अपराधको सिकार बन्ने हो भन्ने डेमोकल्सको तरबारमुनि मानिस बाँच्नुपरेको छ । अपराध नियन्त्रण प्रहरीको दायित्व हो । तर अपराध प्रहरीबाट मात्र नियन्त्रण हुनसक्दैन । समाजको अर्थ–राजनीतिक र सामाजिक अवस्थासँग अपराध परोक्ष रुपमा जोडिएको हुन्छ । सम्पत्ति वा पैसा भएपछि मात्र जीवन सहज हुने वा समाजमा पैसा वा सम्पत्ति भएको व्यक्तिलाई मात्र प्रतिष्ठित मान्ने सामाजिक मनोविज्ञानका कारण अपराध बढिरहेको हो ।
यस्तो सामाजिक मनोविज्ञानको लागि मूलतः देशको राजनीतिक बन्दोबस्त जिम्मेवार हो । मानिसमा सम्पत्तिको मोह देशको अर्थ–राजनीतिक बन्दोबस्त तथा सामाजिक अवस्थाको प्रतिबिम्ब हो । शिक्षित मानिस पनि यस्ता अपराधमा संलग्न हुनुको कारण यस्तै मनोविज्ञानमा आधारित शिक्षा प्रणाली हो । नेपालको शिक्षा प्रणालीमा सिकाइने व्यक्तिगत स्वार्थलाई महत्व दिने पद्धतिका कारण आज शिक्षा स्वयं स्वार्थी समाजको स्रोत बनिरहेको छ ।
अपराधको पूर्ण निमूर्लन आजको सामाजिक बन्दोबस्तमा असम्भव छ । तर न्यूनीकरण भने अपरिहार्य छ । पुँजीवादी बन्दोबस्तमा सम्पत्तिको मोह बढ्दो हुने भएकोले पुँजीवादी बन्दोबस्तमा अपराध स्वभावतः बढी हुने गर्दछ । संसारका कडाभन्दा कडा सुरक्षा बन्दोबस्त भएका पुँजीवादी सहरमा समेत जघन्य अपराध दिनहुँ भइरहेकोले पनि यो कुरा प्रमाणित गर्दछ ।
अपराध न्यूनीकरणको सबभन्दा बलियो औजार कानुनी बन्दोबस्त नै हो । अमानवीय अपराधीलाई मृत्युदण्डको सजाय कानुनभित्रै बन्दोबस्त हुनुपर्ने कुरा देशको व्यवस्थापिकामा पटक–पटक लामो समयदेखि उठ्दै आएको छ । अपराधलाई राजनीतिक संरक्षण अर्को ठूलो चुनौती हो । सत्ताको न्यानोमा बसेका मानिसले जस्तोसुकै जघन्य अपराध गरे पनि उन्मुक्ति पाउने अवस्थाले अपराधमात्र बढ्ने होइन, राजनीतिसमेत फोहोर हुने सत्यको उदाहरण अब अरु देशमा खोज्न जान नपर्ला, नेपाल आफैं त्यसको उदाहरण बनेको छ ।
शिक्षा प्रणालीमा परिवर्तन अपराध नियन्त्रणको बलियो माध्यम हो । सानै उमेरदेखि विद्यार्थीलाई सामाजिक दायित्वबारे शिक्षित बनाउन सके अपराधको मात्रा घट्ने सम्भावना रहन्छ । तर जबसम्म समाजमा विभेदको विकृति रहिरहन्छ, तबसम्म कुनै अपराधरहित समाजको कल्पना गर्न सकिन्न । अपराधको बीउ भनेको विभेदमूलक सामाजिक बन्दोबस्त हो । मानिसलाई हिंसात्मक बनाउने मूल जरा भनेको सामाजिक र आर्थिक समानता नै हो । यसको निम्ति राजनीतिक परिवर्तनको अपरिहार्यता सर्वविदित तथ्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *