भर्खरै :

सांसद सुवालसित जिल्ला भलिबल सङ्घ कास्कीका पदाधिकारीद्वारा भेटघाट

पोखरा, २८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालसित जिल्ला भलिबल सङ्घ कास्कीका पदाधिकारीहरूले बिहीबार भेटघाट गरेका छन् ।
जिल्ला भलिबल सङ्घ पोखराको आयोजनामा भएको उक्त कार्यक्रममा सांसद सुवालले खेल मित्रता, अनुशासन र सार्वभौमिकता रक्षाको लागि हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘संविधानमा खेलकुदलाई अनिवार्य गराउन नेमकिपाले जोड दिएको हो । अन्तर्राष्ट्रिय जगतमा देशलाई चिनाउने काम खेलाडीहरूले गर्ने हुँदा खेलकुदको पदवीलाई शैक्षिक पदवीसँग जोड्नु आवश्यक छ ।’’
देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने उद्देश्यकासाथ नेमकिपाका कार्यकर्ताहरूले राजनीति गर्दै आएको स्पष्ट पार्दै सांसद सुवालले भन्नुभयो, ‘‘पदमा पुगेर लाभ लिने उद्देश्यले राजनीति गर्दा देशको हरेक क्षेत्रमा भ्रष्टाचार भइरहेको छ । देशको मुख्य समस्या भनेकै भ्रष्टाचार हो ।’’
वैदेशिक रोजगारको नाममा युवाहरूलाई सस्तो ज्यामीको रूपमा विदेश पठाउँदा देश परनिर्भर हुँदै गएकोले युवाहरूलाई स्वदेशमै रोजगार सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘‘संरा अमेरिकी साम्राज्यवाद कायम रहेसम्म विश्वमा शान्ति कायम हुनेछैन । खेलाडीहरूले साम्राज्यवादविरूद्ध सङ्घर्ष गर्नु आवश्यक छ’’, सांसद सुवालले भन्नुभयो ।
भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले नेमकिपाले पार्टी घोषणापत्रअनुसार भक्तपुर नगरपालिकामा काम गर्दै आएको हुँदा शिक्षा, स्वास्थ्य र सरसफाइमा उल्लेख्य प्रगति भइरहेको बताउनुभयो ।
भलिबल सङ्घका राष्ट्रिय रेफ्रि राजन पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा रमेशकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *