भर्खरै :

राष्ट्रव्यापी मेयर कप बुद्धिचाल प्रतियोगिता हुने

मध्यपुर थिमि, २९ कार्तिक । राष्ट्रव्यापी प्रथम मेयर कप बुद्धिचाल (चेस) प्रतियोगिता मंसिर ४ देखि मध्यपुर थिमिमा सुरु हुँदैछ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ र मध्यपुर चेस क्लवको संयुक्त आयोजनामा हुने राष्ट्रव्यापी प्रथम मेयर कप प्रतियोगिता मंसिर ४ गतेदेखि ८ गतेसम्म ऐतिहासिक नगरी मध्यपुर नपा ४ दुईपोखरीमा हुने आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएक छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा मध्यपुर चेस क्लवका अध्यक्ष पूर्णसुन्दर श्रेष्ठले मुलुकभरका खेलाडीले भाग लिने उक्त प्रतियोगिताका विजयी खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरिने जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा चर्चित रेटिङ प्राप्त एक दर्जन खेलाडीसहित १ सय ५० भन्दा बढी खेलाडीले भाग लिने जानकारी दिनुभयो ।
प्रतियोगितामा विभिन्न विधामा विजेता ३० खेलाडीहरूलाई नगदसहित, पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ । कार्यक्रममा मथिनपाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमिलाई एैतिहासिक, सांस्कृतिक, शैक्षिक, पर्यटकीय एवं खेल र खेलाडीको नगरको रुपमा पनि परिचित गराउन मध्यपुर थिमि नपा प्रयत्नशील रहेको बताउनुभयो । कार्यक्रममा मध्यपुर थिमि नपा ४ का वडाध्यक्ष कुमार श्रेष्ठले भौतिक विकासका साथै खेलकुदमार्फत पर्यटकीय विकासमा वडा नं. ४ क्रियाशील रहेको बताउनुभयो । फूटबल, फुटसल, कराते, बुद्धिचाल, ब्याडमिन्टन आदि खेलमार्फत मध्यपुर थिमिलाई मुलुकभित्र एवं विदेशमा पनि चिनाउन सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
स्थानीय बालकुमारी मन्दिर परिसरमा भएको उक्त कार्यक्रममा मंसिर ४ गते बिहान ११ बजेदेखि खेल सुरु हुने र आगन्तुक खेलाडीहरू लाई परम्परागत बाजागाजासहित शंखधरचोकदेखि दुइपोखरीसम्म स्वागत गरिने वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *