भर्खरै :

सहकारी संस्था र फाइनान्सबीच भिन्नता कम हुँदै

भक्तपुर, २२ मंसिर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को १४ औं वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन शनिबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सहकारी संस्था र फाइनान्स कम्पनीबीच व्यवहारमा भिन्नता कम हुँदै गएको बताउनुभयो । सहकारी संस्था र अभियानलाई नै समाजवाद मान्नु गलत भएको चर्चा गर्दै उहाँले सोभियत सङ्घ र चीनमा प्रयोग भएका विभिन्न सहकारीहरूबारे बताउनुभयो ।
अर्थतन्त्र हातमा भएको शक्तिको नियन्त्रणमा देश हुने बताउँदै उहाँले भौगोलिक स्थितिका आधारमा प्रदेश र स्थानीय तहको ऐन कानुन फरक–फरक हुनसक्ने विचार राख्नुभयो । सहकारी संस्थामार्फत उद्योग, प्रविधि र आदर निकेतनजस्ता पुर्वाधार विकास गर्न सरकारले आवश्यक ऐन कानुन बनाउनुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक एवं राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष रमेश पोखरेलले कुशल व्यवस्थापनका साथ उदाहरणीय साकोस सङ्घ बनाउन सफल भएकोमा भक्तपुर जिल्ला बचत सङघलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले सामूहिक समृद्धिको आवश्यकता पूरा गर्न ३४,५१२ वटा सहकारी संस्थाहरू सक्रिय भई ६४ लाख सहकारी सदस्यबाट ६५० अर्ब कारोबार गरेको बताउनुभयो । उहाँले सहकारी ऐनको कार्यान्वयनको लागि नियमावली मंसिर मसान्तभित्र र पुस मसान्तभित्र महानगरपालिकामा रहेका सहकारी संस्थालाई १० प्रतिशत र नगरपालिकामा रहेका सहकारी संस्थालाई ५ प्रतिशत आयकरको दर निर्धारण हुने बताउनुभयो ।
नेफ्स्कूनका सञ्चालक सदस्य उद्धव सापकोटाले नेफ््स्कून र सहकारी विभाग सहकारीमा सुशासनको लागि समन्वयकारी भूमिका खेलिरहेको बताउनुभयो । त्यसको लागि नेफ्स्कूनले एसियाली ऋण महासङ्घको प्राविधिक सहयोगमा एक्सेस ब्राण्ड र नेपालस्तरीय प्रोवेसन र जोखिममा आधारित सुपरिवेक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले सहकारी ऐन सङ्घीय, प्रदेश र स्थानीय तहमा एकरुपता नभएकोले कार्यान्वनमा समस्या भइरहेको बताउनुभयो । जिल्ला कृषि सहकारी सङ्घ लि. का अध्यक्ष सनिस लागेजुले उत्पादन बढाउन उत्पादक क्षेत्रमा विकास गर्नुपर्ने विचार राख्नुभयो ।
सङ्घका सचिव हरि बल्लले सङ्घले अन्तरलगानी, तालिम र अभियानलाई अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रममा सङ्घका सचिव जगनाथ प्रजापतिले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रु.२७ लाख २७ हजारको भावी कार्यक्रमहरू प्रस्तुत गर्नुभयो ।
सङ्घका कान्छाभक्त घजुले वार्षिक आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७४।७५ मा १ करोड ४ लाख ३७ हजारको नाफा भएको आय व्यय प्रस्तुत गर्नुभयो । उहाँले आ.व. २०७५।७६ मा रु. ५३ करोड ६९ लाख ३७ हजारको अनुमानित वासलात र ५ करोड १७ लाख ९ हजारको अनुमानित आयव्यय बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुमुन्द उपाध्यायले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रम सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुको सभापतित्वमा भएको थियो । शनिबारको सभाले रिक्त एकजना सञ्चालक सदस्य बाँकी अवधिका लागि नन्दीके्रश्वर बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि इन्द्रप्रसाद व्याञ्जुलाई निविर्रोध निर्वाचित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *