भर्खरै :

निःशुल्क आँखा शिविर सम्पन्न

भक्तपुर, २२ मंसिर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको आतिथ्यमा भनपा वडा नं. ६ वडा कार्यालयको आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले सरकारले भक्तपुर अस्पताललाई गुणस्तरीय नबनाउँदा भक्तपुर नगरपालिकाले जनस्वास्थ्य केन्द्र स्थापना गर्नुपरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले वडा वडामा स्टाफ नर्सको व्यवस्था गरी जनताको स्वास्थ्य सेवामा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको चर्चा गर्नुहुँदै उहाँले वडा कार्यालयको आयोजनामा भएको आँखा शिविर कार्यक्रम सराहनीय कदम छ भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘‘नेपालमा आँखा र दाँतका बिरामीहरू बढ्दो छ । यसको अर्थ सरकारले जनतालाई आधारभूत स्वास्थ्य सेवा र सुविधा दिन नसक्नु हो ।’’
‘‘सरकारमा गएका पार्टीहरूले कृषिप्रधान देशमा समेत खर्बौँ रुपैयाँको खाद्यान्न भारतबाट आयात गर्नुपरेको छ । पेट्रोलियम पदार्थ र अन्य सामान आयातको कारण नेपाल भारतसँग १२ खर्ब रुपैयाँको व्यापार घाटा हुन पुग्यो । सरकारमा गएका राजनीतिक पार्टीहरूको अदुरदर्शिताको कारण नै यस्तो भएको हो’’, उहाँले भन्नुभयो ।
निर्वाचनमा पैसा र सामान बाँड्ने, जनतालाई झूठा आश्वासन दिने पार्टीहरूको दुईतिहाइ मत आएको हुँदा देश र जनताले दुःख पाएको चर्चा गर्नुहुँदै उहाँले सरकारले सुन तस्कर र भ्रष्टाचारहरूलाई कारबाही गर्न नसकेकोमा आपत्ति व्यक्त गर्नुभयो ।
वडा सदस्य एवं नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले नियमितरुपमा शिविरहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुहुँदै शिविरले विभिन्न रोगहरूको लक्षण पत्ता लाग्ने बताउनुभयो ।
वडा नं. ६ का वडा अध्यक्ष हरिराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा सदस्य रोशनमैया सुवाल र सिद्धिराम अवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *