भर्खरै :

पहिलो प्रशिक्षणमै उपाधि

काठमाडौँ, १४ पुस  : पहिलो पटक ‘ए’ डिभिजन क्लबको प्रशिक्षक बन्नुभएका सुमन श्रेष्ठ पहिलो प्रशिक्षणमै उपाधि जित्न सफल हुनुभएको छ ।
सन् २००४ देखि प्रशिक्षक भएर काम गरे पनि श्रेष्ठले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा यसअघि प्रशिक्षण गर्नुभएको थिएन । बिहीबार मनाङलाई दुई खेलअगावै लिग च्याम्पियन बनाएपछि अहिले श्रेष्ठको चर्चा बढेको छ ।
‘ए लेभल’ को लाइसेन्स प्राप्त प्रशिक्षक सुमन शहीद स्मारक ‘ए’ डिभिजन लिगको शुरुआती खेलमा गुमनाम जस्तै हुनुहुन्थ्यो । लिगमा मनाङले लगातार जित निकालेपछि सुमन सबैको नजरमा पर्न सफल हुनुभयो । पहिलो पटक ‘ए’ डिभिजन क्लबको प्रशिक्षक बनेका सुमनले बिहीबार मनाङलाई २ खेलअघि च्याम्पियन बनाउन सफल हुनुभयो । लिग जितेपछि उहाँले क्लबको लक्ष्य पूरा भएको प्रतिक्रिया दिनुभएको छ ।
श्रेष्ठले मनाङलाई उपाधि मात्र जिताउनुभएन, ६४ वर्षे लिग इतिहासमा लगातार ११ खेल जित्ने पहिलो प्रशिक्षक र टोलीको इतिहाससमेत कायम गर्नुभएको छ । उपाधि जितिसकेको मनाङले अब जारी लिगमा दुई खेल खेल्न बाँकी छ ।
“हाम्रो अथक मिहेनतले दुई खेलअगावै लिग विजेता बन्न सफल भयौँ ।”, उहाँले भन्नुभयो, “लिगभन्दा अगाडि राम्रो तयारी पनि गर्न पाएका थिएनौँ, हामी सिधै सिक्किमको गभर्नस कप खेल्न गयौँ, सिक्किममा च्याम्पियन बनेपछि हाम्रो टोलीको ‘टिम वर्क’ राम्रो बन्दै गयो ।”
पहिलोपटक ‘ए’ डिभिजन लिगको प्रशिक्षक बन्दा सोचेकोभन्दा बढी दबाब महसुस गरको बताउँदै उहाँले जारी लिगबाट आफूलाई धेरै कुरा सिक्ने मौका मिलेको प्रतिक्रिया दिनुभयो । टोलीमा रहेको विदेशी खेलाडीका कारण पनि लिग जित्न ठूलो सहयोग पुगेको उल्लेख गर्दै उहाँले राष्ट्रिय टोलीका छ जना खेलाडी क्लबमा हुन अझ बलियो पक्ष रहेको बताउनुभयो ।
एन्फाबाट सन् २००४ मा प्रशिक्षकको रुपमा काम थाल्नुभएका उहाँले शुरुआतमा धनकुटामा प्रशिक्षकको काम गर्नुभएको थियो । त्यसपछि नेपाल आर्मीको क्षेत्रीय टोलीको प्रशिक्षक हुँदै ‘ए’ डिभिजन क्लब मनाङको प्रशिक्षक बन्नुभएको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *