भर्खरै :

‘पाहुनाः द लिटिल भिजिटर्स’

– सुमन
भारतीय अभिनेत्री एवम् लेखिका पाखी टायरवालाले जब आफूले जान्दै नजानेको भाषामा चलचित्र बनाएर फिचर फिल्म निर्देशनमा डेबु गर्ने निर्णय गरिन्, उनलाई थाहा थियो–यो कुनै सजिलो काम हुनेछैन । टायरवालाले नेपाली भाषाको सिक्किमेली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर्स’ बाट फिचर फिल्ममा डेबु गरेकी छिन् । डिसेम्बर ७ मा उक्त चलचित्र सार्वजनिक भएको छ । आफूलाई पटक्कै ज्ञान नभएको भाषामा बनेको चलचित्र निर्माणबारे टायरवालाले भनिन्, “कहिलेकाहीं कसैको कथा भन्दा उनीहरूकै भाषामा भन्नुपर्ने हुन्छ । मलाई पटक्कै नआउने भाषामा यो काम गर्नुपर्दा पक्कै गा¥हो हुने मलाई थाहा थियो । तर म इमानदारिताले त्यो अज्ञानतालाई जित्न चाहन्थें ।”
मूलधारभन्दा फरक यो चलचित्र बनाउने टायरवालाको अग्रसरतालाई साथ दिएकी छिन्, बलिउडकी नायिका प्रियंका चोपडाले । चलचित्रको निर्माण गरेको छ, चोपडाको पर्पल पेबल पिक्चर्सले । नेपालमा माओवादी द्वन्द्वबाट विस्थापित भएर सिक्किममा पुगेको परिवारका दुई जना केटाकेटी (इशिका गुरुङ र अनमोल लिम्बु) चलचित्रका मूल कथावाचक हुन् ।
रिलिज हुनुअघि यो चलचित्र सन् २०१७ को टोरोन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरियो । यसै वर्ष सन् २०१८ मा स्चलिनजेल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव प्रदर्शित यो चलचित्रले प्रोपेसनल जुरीबाट विशेष पुरस्कार जितेको थियो ।
चलचित्र ‘पाहुना’ निर्माण गर्ने विचारको गर्भ आजभन्दा पन्ध्र वर्षअघि नै बसेको थियो । टायरवाला पन्ध्र वर्षअघि सिक्किममा आर्ट अफ लिभिङको कोर्स गर्न गएको बखत उनले सिक्किममा आधारित चलचित्र निर्माण गर्ने सोच बनाएकी थिइन् । उत्तिबेला उनलाई उत्तरपूर्वी भारतका मानिसजस्तै सिक्किमका मानिस पनि मूलधारको मिडियाबाट उपेक्षित रहेको अनुभव भएको थियो । सिक्किमका जनताले मूलधारको उपेक्षाप्रति विमति राख्दै आवाज उठाइरहेका थिए ।
“पहिलो पटक आर्ट अफ लिभिङ कोर्ष गर्न म सिक्किम जाँदा म सानै थिएँ । त्यो सन् २००१ को कुरा हो । म नेपाल पनि त्यही सिलसिलामा गएकी थिएँ । सिक्किम जाँदा त्यहाँका मानिस निकै उपेक्षित भएको महसुस भयो । सिक्किमका मानिसहरू कुनै अर्को देशका मानिसजस्तै गरी हामीसँग व्यवहार गर्थे । त्यत्तिबेला मैले मनमनै सिक्किममै आधारित भएर कुनै एउटा चलचित्र बनाउने अठोट गरेकी थिए । आज त्यही अठोटले मलाई मेरो पहिलो चलचित्र दिएको छ ।”
टायरवालाको यो ड्रिम प्रोजेक्ट पूरा गर्ने यात्रा भने सरल र सहज पक्कै थिएन । विभिन्न कारण उनको चलचित्र निर्माणको प्रस्ताव धेरै ठाउँबाट अस्वीकृत बन्यो । त्यही बेला कसैले उनलाई प्रियंका चोपडाले क्षेत्रीय चलचित्र बनाइरहेको सुनायो । उनी मनमा उत्साह र आशा बोकेर सन् २०१६ को डिसेम्बरमा प्रियंकालाई भेट्न गइन् । उनको प्रस्तावलाई प्रियंकाले सहजै स्वीकारिन् ।
त्यसपछि चलचित्रका लागि उचित कलाकारको छनौट कार्य सुरू भयो । त्यो अर्को ठूलो चुनौती थियो । टायरवालाको टोलीले विद्यालयहरूमा उपयुक्त बालकलाकारको छनौट थाल्यो । “मेरो मनमा चलचित्रका मुख्य पात्र केटा र केटी कस्ता हुन्छन् भन्ने प्रस्ट चित्र थियो । चलचित्रमा प्रमुख भूमिका खेलेका दुवै केटाकेटी एउटै समुदायका होइनन्, (एक जना गुरुङ र एक जना लिम्बु हुन्) तर उनीहरू दुवै एउटा समुदायका जस्तै देखिएका छन् ।”, टायरवालाले भनिन् ।
भाषा एउटा प्रमुख चुनौती त थियो, तर भाषाले नै सबै निर्धारण गर्ने अवस्था थिएन । निर्देशक टायरवाला सिक्किमेली नेपाली भाषामै चलचित्र बनाउनेमा अडिग थिइन् । उनलाई चलचित्रको संवाद हिन्दीमा लेख्दा निकै अस्वाभाविक जस्तो महसुस भयो । संवादहरू अनुवाद जस्तो नहोस् भन्नेमा उनी सहज थिइन् । त्यसै कारण पटकथा लेखकसँग आफैं बसेर शब्द शब्दमा मिहिनेत गरिन् । चलचित्रको पटकथा लेखन विश्वास तिमसिनाले गरेका थिए । चलचित्र शब्दबिना पनि बोल्न सक्ने भएकाले पनि चलचित्र महोत्सवमा धेरैले मन पराएको टायरवालाको विश्वास छ ।
“चलचित्रमा संवादका कोणबाट हेर्दा भाषा सबभन्दा थोरै गा¥हो विषय बन्यो । धेरै दर्शनले चलचित्र बुझ्न आफूलाई सबटाइटलको आवश्यकता नै महसुस नभएको प्रतिक्रिया दिए । चलचित्रमा स्क्रिनप्ले गुनिलो बन्दा संवाद भारी भएको छैन ।”, टायरवालाले भनिन् ।
चलचित्र मूलतः द्वन्द्वका कारण हुने विस्थापनसँग सम्बन्धित छ । चलचित्र वयस्कहरूका गतिविधिले केटोकेटीको मनोविज्ञानमा कस्तो प्रभाव पार्दछ भन्नेमा आधारित छ । एक जना ठूलो मान्छे रिसाउँदा, झुठो बोल्दा र झगडा गर्दाको असर केटाकेटीलाई कस्तो पर्छ भन्ने कथावस्तु वरपर चलचित्र घुमेको छ । एक जना केटा, एक जना केटी र एक जना शिशुको यात्राले कुनै खराब नियतिबाट भाग्दै गर्ने रोचक र बालसुलभ यात्राको चलचित्र नै पाहुना हो । उनीहरूले समाजभन्दा अलग कुनै उपेक्षित पुरानो थोत्रो गाडीमा आफ्नै अलग घर बनाएका हुन्छन् । समाजको खराबीबाट अलग उनीहरू त्यही जङ्गलमा प्रकृतिसँग अभ्यस्त भएर बाँच्न सिक्छन् । सिक्किमको निकै सुन्दर ठाउँमा छायाड्ढन गरिएको चलचित्र प्राकृतिक दृष्यका कारण पनि दर्शकले रुचाउन सक्छन् ।
चलचित्रमा मञ्जु केसी, शरण राई, विनोद प्रधान, उत्तम प्रधान, डीके लेप्चा, रुपा तामाङ, महेन्द्र क्षेत्री र वानिता लागुनलगायतका कलाकारहरू अभिनय गरेका छन् ।
‘पाहुना’ पछि निर्देशनमा टायरवालाको उत्साह थपिएको छ । उनी विद्यालयका विद्यार्थीका लागि उपयुक्त वेभ सिरिज बनाउने सोचमा छिन् । अनि उनको अर्को सपना भनेको राजनीतिक चलचित्र बनाउने हो ।
विभिन्न साइटमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *