भर्खरै :

कोसी बाँधको पुलको पर्खाल र पेटी जीर्ण

– रामजनम
कोसी बाँध तथा तटबन्धमा बनाइएको पुलको केही भाग भत्केको बिग्रेको धेरै भइसक्यो । पुलको दक्षिणतिर रहेको उक्त पर्खाल र पेटी अहिले पनि बनाइएको छैन । दिनको सयौँ हजारौँ गाडी आवतजावत हुने, हजारौँ सर्वसाधारण जनता ओहोरदोहोर हुने सो पुलमा बिग्रेको भाग निर्माण नगर्दा गाडी चालक र बटुवाहरू चिन्तित छन् । पेटी र पर्खाल नबनाउँदा यात्रुहरू सडक भएर जाँदा एकातिर दुर्घटना हुने सम्भावना छ भने अर्कोतिर पुलबाट बाँधमा खसेर ज्यान जाने सम्भावना छ । पर्खाल र पेटी भत्केको सो स्थानमा सुरक्षाको नाउँमा केही दण्डी र पेटीकै सिमेन्टका पाटाहरू त्यसै राखिएको छ । त्यतिले मात्र उक्त ठाउँको सुरक्षा हुँदैन । बाँधको सो गहिराइ भएको संवेदनशील ठाउँमा लामो समयदेखि त्यो पर्खाल र पेटी किन बनाइएन ? त्यो निर्माण कार्य कुन पक्ष (नेपाल या भारत) ले बनाउनुपर्ने हो ? त्यसतर्फ किन ध्यान दिइएन ? स्थानीय जनता, चालक र आन्तरिक तथा बाह्य पर्यटकहरु प्रश्न उठाउँछन् । कतै यो ‘तै रानी मै रानी को भर्छ कुवाको पानी’ उखानजस्तै भएन ?
अहिले पुलको दायाँबायाँ रहेको पर्खालमा रङ्ग लगाइँदै छ । तर, बिग्रेको पेटी र पोलको पर्खाल बनाउनेतर्फ ध्यान गएको देखिँदैन । पुलकै सडकको केही भाग बिग्रेको स्थितिमा छ । गाडी आवतजावत हुृँदा पुलमै धुलो उड्छ । पुलको सो बिग्रेको भागमा पनि पीच गर्नुपर्ने देखिन्छ । त्यत्रो लामो बाँध तथा तटबन्धमा बनाइएको पुलमा लामो समयदेखि किन बेवास्ता भएको हो ? के पुलबाट बाँधमा गाडी खसेपछि, मान्छे खसेर ज्यान गएपछि मात्र सम्बन्धित निकायले ध्यान दिने ? दुर्घटना हुनुअगावै बुद्धि पु¥याएर समयमै पुलमा पीच गर्ने र पुलको दक्षिणतिर रहेको पेटी र पर्खाल निर्माण गर्नुपर्ने देखिन्छ । त्यस्तो संवेदनशील क्षेत्रमा त्यसै छोडेर राख्नु के सरकारको कमजोरी होइन ? यो निर्माण कार्य नेपाल सरकारको हो कि भारत सरकार या दुवै देश मिलेर बनाउनुपर्ने हो ? कार्य छिटो थाल्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *