भर्खरै :

फोहर सिंहदरबार अब सुन्दर बन्ने भो !

सिंहदरबार अनेक मन्त्रालयहरू रहेको थलो हो । देशको कुना काप्चामा सन्देश पु¥याउने र योजना बाँड्ने थलो सिंहदरबार सुन्दर र व्यवस्थित हुनुपर्ने हो । प्रजातन्त्र स्थापना भएको दसकौं बित्यो, गणतन्त्र स्थापना भएकै एक दसक बित्यो । यस एक दसकभित्र सबै ठूला दलले आलोपालो सरकारको नेतृत्व गरे । फोहर फाल्ने, थोत्रा गाडी थन्काउने कन्टिनरको रुपमा रहेको सिंहदरबारलाई सफा र व्यवस्थित बनाउनेतर्फ नेका, एमाले र माओवादीको ध्यान गएको देखिंदैन । अहिले डोजरले थालेको कामलाई नै सुन्दर सिंहदरबार निर्माण अभियान भनेर सरकारी प्रवक्ताले गर्व गरे, नाक फुलाए ।
सबैजसो मन्त्रालय रहेको सिंहदरबारमा मन्त्रालयका अघिल्ला भवन र कार्यालयहरू, बाटाहरू राम्रा, सफा र आकर्षक भए पनि त्यस दरबारको भित्री भाग या ठाउँ झारपातले भरिएको छ । पुराना थोत्रा गाडी र मेसिनरी सामान थन्काइएको छ । काम नलाग्ने वस्तुहरू फालिएर डङ्गूरजस्तै बनेको छ । कागज र प्लाष्टिकका टुक्रा र सिसीहरू फालिएको अवस्थामा छ । सिंहदरबारको यस्तो दुर्दशा देखेरै सांसदहरूले त्यसबेला नै सफा गर्न, बगैँचा बनाउन र व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गरेका थिए । तर, सरकारको ध्यान गएन । कुनै सुधारिएन । डोजर चलाएर काम कहाँ पु¥याउने हो ? कहिले सकाउने हो ? कुनै पत्तो नलगाई कामको थालनीलाई नै सुन्दर सिंहदरबार निर्माण अभियान सुरु भएको खबर गोरखापत्रमा छाप्यो ।
सिंहदरबारभित्रका अन्य दृश्य र स्थिति लाजमर्दो छ । सिंहदरबारभित्र फोहर हुनु, काम नलाग्ने वस्तु मन्त्रालय जाने सडक र अग्रभागमा बाहेक जहाँतहीँ देखिनु, पुराना गाडी र गाडीका सामानहरू थन्काउनु र मन्त्रालयका अन्य कार्यालयमा जो कोही बस्नु आदि अशोभनीय दृश्य र दृष्टान्तहरू हुन् । त्यही भएर त्यसबेलै सिंहदरबार सफा र व्यवस्थित गर्न ध्यानाकर्षण गरिएको थियो । त्यसो त सिंहदरबार सफा गर्न, सुन्दर बनाउन या व्यवस्थित गर्न कसैले घच्घच्याउनुपर्ने होइन, दबाब दिनुपर्ने होइन । राज्य या सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरू आफैले सोचेर काम गर्नुपर्ने हो । सिंहदरबार फोहोर भयो या फोहोर फाल्ने कन्टिनर भयो भने अरु केको विकास र सुधारको आशा गर्ने ? देशको राजधानी काठमाडौं बरोबर दुर्गन्धको थलो बन्नुको कारण पनि सरोकारवाला निकायको ध्यान नजानु हो । प्रजातान्त्रिक, जनवादी, क्रान्तिकारी भन्ने दलको नेतृत्वमा बनेको सरकार धेरै वर्ष भयो । अहिलेमात्रै सिंहदरबारमा सफाइ अभियान ! सबभन्दा पहिले सिंहदरबार हाँक्ने नेता, मन्त्रीहरूको बुद्धि नै सफाइ अभियान गर्नुपर्ने देखिन्छ ।
– गोपाल नगरकोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *