भर्खरै :

सरकार चलाउनु झण्डा हल्लाउने जागिर होइन

– सुरज सिंह
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुले सरकारले धेरै नै काम गरिरहेको र ठूलो उपलब्धि भइरहेको दाबी गरिरहँदा सर्वसाधारण नेपाली जनताले सरकारको काम देख्न सकेका छैनन् । जनताका दिनदिनको समस्या समाधानमा सरकारको ध्यानै गएको छैन । सरकारले ठूल्ठूला विकासका गफ दिइरहेको तर जनताले देख्ने र अनुभूति गर्ने काममा ध्यानै नदिएको आरोप सरकारको प्रतिरक्षामा ढाल बनेर उभिएका बुद्धिजीवीहरुबाटै आउन थालेका छन् । हुन पनि वर्षदिनमा सडक कालोपत्रे गर्ने ठेक्का लिएर राज्यकोषको पैसा पोको पारेका ठेकेदारहरुले जनतालाई वर्षौं वर्ष धूलो खान र हिलोमा लड्न बाध्य पारेका छन्, सरकार ती ठेकेदारलाई काम गरसम्म भन्न सक्दैन । निजी अस्पताल र क्लिनिकहरुमा बिरामीलाई बेडमा सुताउने बित्तिकै हजारौं रुपैयाँको बिल ठमाउने र अनावश्यक शल्यक्रिया गरेर बिरामीलाई ठग्ने र लुट्ने काम भइरहेको छ ।
सरकार त्यस्ता विसङ्गति रोक भन्नसम्म सकिरहेको छैन । अनियमितता, ढिलासुस्ती र भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही भइरहेको छैन । सरकारकै एउटा अङ्क राष्ट्रिय सतर्कता केन्द्रले अध्ययन र अनुसन्धान गरी विभिन्न विभाग निर्देशनालय र कार्यालयमा भ्रष्टाचार र फलाना फलाना अधिकारी भ्रष्टाचारमा लिप्त छन् भनी प्रतिवेदन दिन्छ । सरकार ती अधिकारीहरुमाथि अनुसन्धान गर्नु त कता हो कता उल्टो त्यस्तालाई नै बढुवा गर्दैछ । उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणमा सरकारको चासो नै देखिंदैन । सरकारको कामबारे प्रश्न गरेमा प्रधानमन्त्री र मन्त्रीहरु सरकारले अहिले नदेखिने काम गरिरहेको र पाँच वर्षपछि कुन काम गरेन भन्ने वातावरण नै नहुने जवाफ दिन्छन् । सरकार ठूलठूला कार्यक्रम र योजना घोषणा गर्छ तर त्यसको कार्यान्वयन कहाँ पुग्यो वास्ता छैन । सरकार चलाउनु भनेको झण्डावाल गाडीमा बसी सयर गर्नु अनि खादा र फूलमाला लगाएर हिंड्नु होइन, जनतालाई अनुभूति हुने गरी काम गर्नु र गराउनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *