भर्खरै :

वैदेशिक रोजगारीको नकारात्मक पाटो उत्तिकै ठूलो

– माहिली तामाङ, काभ्रे
पछिल्लो समय वैदेशिक रोजगारीका सकारात्मक र नकारात्मक पाटाहरूका बारेमा दिनहुँजसो समाचार आइरहेका छन् । समाचारअनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म २८ प्रतिशतभन्दा बढीले बढेको रेमिट्यान्स चैत महिनामा पनि २३.४ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अर्थात् चैत मसान्तसम्म विभिन्न देशहरूबाट ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैड्ढले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ अर्ब १९ करोड पुगेको हो ।
वैदेशिक रोजगारीको कमाइस्वरूप रेमिट्यान्स (विप्रेषण) आप्रवाह बढेको समाचारलाई सरकार र सञ्चारमाध्यमहरूले प्रचार गरेका छन् । तर, वैदेशिक रोजगारका कारण सिर्जित ठगी, मानव बेचबिखन, पारिवारिक र सामाजिक विग्रह, सम्बन्ध विच्छेद आदिजस्ता नकारात्मक पाटोका बारेमा भने कहिलेकाहीँ कथाहरू छापिने गरेका छन् । सरकारहरूले स्वदेशमै रोजगारी सिर्जनामा ध्यान नदिंदा वैदेशिक रोजगार युवाहरूका लागि बाध्यता नै बन्न गएको छ । जति नै कृषि क्रान्ति र स्वरोजगारको कुरा गरे पनि कृषि व्यवसाय गरेर सफल भएकाहरूको सङ्ख्या कमैमात्र छ । स्वदेशका निजी क्षेत्रमा गरेको नोकरीको तलबले भइपरि आउने सङ्कट समाधान गर्न बचत गर्न त के बाँच्नका लागि दैनिक गर्नैपर्ने खर्चका लागि समेत पुग्दो छैन । आफन्त र पारिवारिक दबाबले युवालाई पनि उमेरमै घरजग्गा जोड्न वैदेशिक रोजगारतिरै धकेल्छ । तर, त्यसरी करकापमा परेर वा रहरले पनि वैदेशिक रोजगारमा गएका सबै युवाको दिन सुध्रिएको छैन । दुर्घटना र विभिन्न कारणले बर्सेनि सयौँले विदेशमै ज्यान गुमाउँछन्, सयौँ जना अङ्गभङ्ग भई फर्केका छन् । विदेशका कानुन र नियम नजानेर पनि हजारौँ जना विदेशका जेलमा सडिरहेका छन् । त्यस्तोमा नपरी काममै लागिरहेकाहरूमध्ये धेरैको पारिवारिक विग्रह भएको छ । कसैका श्रीमान्ले कमाएर पठाएको पैसा सोहोरेर श्रीमती अर्कैसित हिँडेका छन् भने कसैका श्रीमतीले कमाएर पठाएको पैसाले श्रीमानले सिध्याएका र उल्टो सौता हाल्ने कामसमेत भएका छन् । दिनहुँजस्तै यस्ता विश्वासको कमी वा विश्वासघातका खबर सुन्नमा आइरहेका छन् । यसरी वैदेशिक रोजगारीको नकारात्मक पाटो निकै ठूलो छ । ती नकारात्मक पाटाहरूले समाज र परिवारहरूलाई पु¥याएको क्षतिलाई रेमिट्यान्सको जत्रै ठूलो रकमको चाङले पनि पूर्ति गर्नसक्दैन । तसर्थ सरकार र सरोकारवाला सबैले वैदेशिक रोजगारको विकल्पमा स्वदेशमै रोजगारी सिर्जना गर्ने, वैदेशिक रोजगारलाई सुरक्षित बनाउने र रोजगारका नाममा हुने ठगीलाई अन्त्य गर्नेतर्फ ध्यान जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *