भर्खरै :

नागरिकतामा खोइ प्रतिपक्ष बोलेको ?

–कृष्ण बेलबासे, काठमाडाँै
सरकारको परिपत्रलाई सर्वोच्च अदालतले अनुमोदन गरेपश्चात् जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गर्न प्रारम्भ गरिएपछि तराईका जिल्लाहरूमा नागरिकता लिनका लागि भारतीय सवारीसाधनहरूसहित ठूलो सङ्ख्याका व्यक्तिहरू जिल्ला प्रशासन कार्यालयमा आउने गरेको समाचार प्रसारण भइरहेको छ । वंशजको आधारमा नागरिकता वितरणको निर्देशन दिने र त्यस्तो निर्देशनलाई वैधता प्रदान गर्ने कार्यले नेपाल र नेपाली जनताको सड्ढटपूर्ण भविष्यतर्फ सड्ढेत गरेको छ ।
नागरिकता ऐन संसदमा विचाराधीन रहेकै बखत त्यस्तो नागरिकता वितरण गर्ने कार्य अवैधानिक र दुराशयपूर्ण छ । त्यस्तो नागरिकता प्राप्त गर्ने व्यक्तिका बाबुआमा दुवै जन्मको आधारमा नेपाली नागरिक हुनुपर्दछ । तिनीहरू नेपालमा स्थायीरूपमा बसोबास गरेको हुनुपर्दछ । यदि यसरी नागरिकता प्राप्त गर्ने व्यक्तिका बाबुआमा जन्मको आधारमा नेपालका नागरिक हुन्थे भने तिनीहरूको बसोबास नेपालमा हुन्थ्यो । तिनलाई नागरिकता लिन भारतबाट आउनु पर्दैनथ्यो । यतिबेला नेपाली नागरिकता लिन भारतबाट नेपाल आउनेहरू बिनाआधार जन्मसिद्ध नेपाली नागरिकता प्राप्त गर्ने भारतीयहरूका सन्तान हुन् । यस किसिमले भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता वितरण गर्ने सरकारको निर्देशन र त्यसलाई समर्थन गर्ने सर्वोच्च अदालतको निर्णय विचारणीय छ ।
असल खराब नछुट्याई एकोहोरो विरोध गर्ने प्रतिपक्षी नेपाली काङ्ग्रेस जथाभावी नागरिकता वितरणको कुरा थाहै नपाए जस्तो गरी चुपचाप बसिरहेको छ । अनि एकथरी डलरवादी महिला अधिकारवादीहरू कथित समानताको नाउँमा यसै निर्णयको पक्षमा उभिएका छन् । यसको सशक्त विरोध एवं प्रतिवाद गर्नुपर्ने सरकार बाहिरका केही वाम पार्टीहरूले पनि औपचारिकता पूरा गर्नमात्र विरोध गरेजस्तो देखिएको छ । राष्ट्रियताको तुलनामा कम महत्वका सवालमा नेपाल बन्द गर्ने र हतियार उठाउँछौँ भनी धम्की दिन पछि नपर्नेहरूले नाङ्गोरुपमा राष्ट्रियतामाथि आँच आउने कार्यहरू भइरहँदा पनि उल्लेखनीय सक्रियता देखाएका छैनन् । त्यसैगरी नेपालभित्रका अन्य राष्ट्रवादी व्यक्ति, शक्ति एवं आम जनसमुदायको तर्फबाट यस विषयमा आवश्यक सक्रियता देखाएको पाइँदैन । यो सकारात्मक सड्ढेत अवश्य होइन । यस किसिमको राष्ट्रविरोधी कर्तुतलाई समयमै रोक्न सकिएन भने यसले मुलुकलाई केही वर्षभित्रै फिजी बनाउनेछ । त्यसैले पुर्खाको रगत पसिनाले आर्जेको मुलुकको स्वाधीनतालाई सत्तालोलुपता र अन्य झिनामसिना स्वार्थको परिपूर्तिका निम्ति समाप्त पार्न तम्सने राष्ट्रघातीहरूविरुद्ध समस्त देशभक्त नेपालीहरू एकजुट भएर लाग्नु आवश्यक छ । इतिहासले सुम्पेको यो दायित्वलाई पूरा गर्न पछि नपरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *