भर्खरै :

विपक्षीलाई बाहिर राखेर हुने निर्वाचन अर्थहीन भएको बङ्गलादेशका निर्वासित विपक्षी नेता रहमानको भनाइ

विपक्षीलाई बाहिर राखेर हुने निर्वाचन अर्थहीन भएको बङ्गलादेशका निर्वासित विपक्षी नेता रहमानको भनाइ

लण्डन, १९ पुस (एएफपी) । बङ्गलादेशका निर्वासित विपक्षी नेता तारिक रहमानले आफ्नो पार्टीको बहिष्कारको बचाउ गर्दै एएफपीलाई दिएको विशेष अन्तर्वार्तामा बङ्गलादेशमा आइतबार हुने निर्वाचन प्रधानमन्त्री शेख हसिनाको शासनलाई बलियो बनाउन गरिएको ‘ढोङ’ मात्र भएको बताउनुभएको छ ।
रहमान देशको दुई प्रमुख राजनीतिक वंशमध्ये एकका उत्तराधिकारी हुनुहुन्छ र उहाँले सन् २०१८ मा आफ्नी आमा खालिदा जियालाई जेलमा हालेपछि सबैभन्दा ठूलो विपक्षी दलको नेतृत्व गर्दै आउनुभएको छ ।
६ वर्षअघि हसिनाका लागि आयोजित चुनावी ¥यालीमा भएको घातक ग्रेनेड आक्रमणको मुख्य योजनाकारको अनुपस्थितिमा उहाँलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको थियो ।
उहाँको पार्टीले गत वर्ष प्रधानमन्त्रीको राजीनामाको माग गर्दै एक महिना लामो विरोध प्रदर्शन गरेको थियो जसमा कम्तिमा ११ जनाको मृत्यु भएको थियो र हजारौँ समर्थकलाई गिरफ्तार गरिएको थियो ।
केही वर्षयता एक प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई दिएको पहिलो अन्तर्वार्तामा ५६ वर्षीय रहमानले आफ्नो पार्टीले पूर्वनिर्धारित नतिजाका साथ मतदानमा भाग लिनु अनुपयुक्त हुने बताउनुभएको थियो ।
सन् २००८ देखि लण्डन बस्दै आउनुभएका लण्डनबाट रहमानले इमेलमार्फत एएफपीलाई पठाएको विज्ञप्तिमा भन्नुभएको छ, “बङ्गलादेश अर्को छद्म चुनावको नजिक पुगेको छ ।”
“बङ्गलादेशी जनताको आकाङ्क्षाविपरीत हसिनाको नेतृत्वमा चुनावमा भाग लिनुले लोकतन्त्रका लागि लडेका, रगत बगाउने र आफ्नो जीवन उत्सर्ग गर्नेहरूको बलिदानलाई कमजोर पार्नेछ,” विज्ञप्तिमा भनिएको छ ।
रहमानले आफ्नो बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र बहिष्कारमा सामेल भएका दर्जनौँ अन्य दलविरुद्ध सत्तारुढ अवामी लिगले ठूलो सङ्ख्यामा चुनौती खडा गरेको बताउनुभएको छ ।
निर्वाचनलाई वैधानिकता प्रदान गर्न सत्तारुढ दलसँग आबद्ध ‘डमी’ विपक्षी उम्मेदवारलाई चुनावी मैदानमा उतारेको आरोप उहाँले लगाउनुभयो ।
सबै नतिजा पूर्वनिर्धारित भए पनि प्रतिस्पर्धाको छाप सिर्जना गर्ने हसिनाको प्रयास रहेको रहमानले बताउनुभयो ।
उहाँले अवामी लिगका उम्मेदवारलाई भोट नहाल्नेहरूबाट सरकारी सुविधा रोक्ने धम्की दिएर पार्टीले मतदान बढाउन खोजेको पनि दाबी गर्नुभयो ।
सन् २०२१ मा बङ्गलादेशी सुरक्षा बलमाथि मानवअधिकार उल्लङ्घनको आरोपमा प्रतिबन्ध लगाएको संयुक्त राज्य अमेरिका र अन्य देशहरूले पनि यस हप्ताको मतदानको सञ्चालनबारे चासो व्यक्त गरेका छन् ।
सन् २००९ देखि सत्तामा रहेकी हसिनाले सन् २०१४ र २०१८ मा उहाँको पार्टीले जितेको चुनावमा अनियमितता भएको पर्यवेक्षकहरूले बताएपछि निर्वाचन विश्वसनीय हुने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ ।
“मतदान केन्द्रमा जानुहोस् र बिहान मतदान गर्नुहोस् र हामी स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन कसरी गर्न सक्छौँ भनेर विश्वलाई देखाउनुहोस्,” प्रधानमन्त्री हसिनाले शनिबार एक चुनावी ¥यालीमा भन्नुभयो ।

विपक्षी नेता तारिक रहमान

दुई परिवारको सहकार्य
रहमान र हसिनाको परिवारले सन् १९७१ देखि १२ वर्षबाहेक विश्वको आठौँ ठूलो जनसङ्ख्या भएको देशमा शासन गर्दै आएका छन् ।
सन् १९८१ मा हसिनाका पिताको हत्यापछि रहमानका पिताले देशको बागडोर सम्हाल्नुभएको थियो ।
सन् १९९० को दशकदेखि राजनीतिक सत्ताका लागि प्रतिस्पर्धा गर्नुअघि उहाँकी आमा जियाले एकपटक हसिनासँग मिलेर सैन्य शासनको अवधिपछि प्रजातन्त्र पुनःस्थापना गर्नुभएको थियो ।
हसिनाले सत्ता सम्हाल्नुभन्दा केही समयअघि नै रहमानले आफ्नो देश छोडेपछि लण्डनमा रहँदै आउनुभएको छ ।
उहाँ बङ्गलादेशी मुलका बेलायती र बेलायतमा पढाइ र कामको सिलसिलामा रहँदै आएका बङ्गलादेशी समर्थक तथा शुभचिन्तकहरूको विवाह वा राष्ट्रिय बिदाको अवसरमा हुने कार्यक्रमहरूमा सार्वजनिकरूपमा विरलै देखिनुहुन्छ ।
तर, सन् २०१८ मा जियालाई भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएको र अहिले बिग्रँदो स्वास्थ्यका कारण ढाकाको एक अस्पतालमा राखिएको अवस्थामा रहमानले उहाँको ठाउँमा बङ्गलादेशको सबैभन्दा ठूलो विपक्षी दल, बीएनपीको नेतृत्व गर्दै भिडियो र फोन कन्फरेन्समार्फत आफ्ना कार्यकर्तासँग दिनहुँ कुरा गरिरहनुभएको छ ।
गत वर्ष बीएनपीको विशाल ¥याली, औद्योगिक हडताल र सडक अवरोधका कारण राजधानी ठप्प भएको थियो ।
अभियानले हसिनाको राजिनामा र निर्वाचनको पर्यवेक्षणका लागि तटस्थ कामचलाउ सरकार नियुक्त गर्न माग गरेको थियो ।
अक्टोबरमा भएको एउटा ¥याली रक्तपातमा परिणत भएको थियो, जसमा बीएनपीले करिब २५ हजार विपक्षी कार्यकर्ताहरूलाई पक्राउ गरिएको बताएको थियो । सरकारले यो सङ्ख्या ११ हजार रहेको जनाएको छ ।
हसिनाले रहमानले विरोध अभियानसँगै हिंसाको योजना बनाएको आरोप लगाउनुभएको थियो र मतदानपछि बीएनपीमाथि प्रतिबन्ध लगाउने सम्भावनालाई बढावा दिनुभएको छ ।
उहाँले शनिबारको चुनावी सभामा भन्नुभयो, “हामी उहाँलाई लण्डनबाट मानिसहरूलाई हानि पु¥याउन र मार्न आदेश दिन अनुमति दिनेछैनौँ ।”
दमनको बहाना
रहमानले प्रदर्शनका क्रममा भएको आगजनीका घटनाका लागि आफ्नो पार्टी जिम्मेवार रहेको भन्ने आरोपको खण्डन गर्दै यसलाई सरकारको दमनको बहानाका रूपमा व्याख्या गर्नुभएको छ । उहाँको आफ्नै राजनीतिक जीवन लामो समयदेखि ओझेलमा परेको छ ।
सन् २००८ मा अमेरिकी दूतावासमा लिक भएको केबलमा उहाँलाई ‘कुख्यात र व्यापकरूपमा भत्ीत क्लेप्टोक्रेटिक सरकारको प्रतीक’ का रूपमा व्याख्या गरिएको थियो । जसले खरीद निर्णयहरू र राजनीतिक नियुक्तिहरूको बदलामा ‘खुल्लारूपमा’ घूस मागेको दाबी गरिँदै आएको छ ।
आफ्नी आमाको अन्तिम प्रधानमन्त्रीत्वकालमा उहाँविरूद्ध बारम्बार भ्रष्टाचारको आरोप लगाइएको थियो र निर्वासनमा रहँदा उहाँ भ्रष्टाचारको दोषी ठहरिनुभएको थियो । यद्यपि, रहमानले आरोपको खण्डन गर्दै आफूमाथि राजनीतिक प्रतिशोधका कारण षड्यन्त्र भएको बताउँदै आउनुभएको छ ।
हसिना घाइते हुनुभएको र अन्य २० जनाको मृत्यु भएको सन् २००४ मा राजनीतिक ¥यालीमा भएको ग्रेनेड आक्रमणको अभियोगमा पनि दोषी ठहर गरिएको थियो ।
उहाँले यो फैसला राजनीतिबाट प्रेरित भएको दाबी गर्दै हसिनाले आफूविरुद्ध अनुसन्धानको नेतृत्व गर्ने प्रहरी अधिकारीलाई यसै साता हुने निर्वाचनका लागि संसदीय मनोनयनसहित पुरस्कृत गरेको आरोप लगाउनुभएको छ ।
उहाँले भन्नुभयो, “मलाई निर्मम र निर्लज्ज तरिकाले निशाना बनाइँदैछ । सत्ताको १५ वर्ष बितिसक्दा पनि यो सरकारले कुनै पनि वास्तविक प्रमाण पेश गर्न सकेको छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *