भर्खरै :

राजनीतिमा जातीय वा वर्गीय दृष्टिकोण

नेका, एमाले, माओवादी, समाजवादी र राष्ट्रिय पार्टी भनिने शासक दलहरूको नेतृत्व, कार्यकर्ताहरूको सक्रियता र ती पार्टीहरूले प्राप्त गरेका पदहरूको अध्ययन गर्दा ती पार्टीहरू खस आर्य समूहका देखिन्छन् । नेपाल, भारत र दक्षिण एसियाका शासक दलहरूमा २५०० वर्षदेखि यही स्थिति देखिन्छ । महावीर वर्धमान, गौतम बुद्ध र अन्य भौतिकवादी दर्शनका महर्षिहरू चारबाक, बृहस्पति आदि सबै ब्राह्मणवादकै विरोधमा आ–आफ्ना दर्शनका आधारमा अगाडि बढेको देखिन्छ । ईश्वर, स्वर्ग–नर्क, बलिप्रथा, होम, यज्ञ–यज्ञादि, अश्वमेघ यज्ञ आदि कर्मकाण्डको २५०० वर्ष अघिदेखि वैचारिकरूपमा विरोध हुँदाहुँदै शासन र शासकहरू बलकै आधारमा टिकेका छन्; यो कसरी सम्भव भयो ?
गुरु र कर्मचारीतन्त्र ब्राह्मणहरूकै हातमा थियो । रामायण र महाभारत कालमा समेत गुरुहरू ब्राह्मण नै थिए । विदुर र चाणक्यहरू पनि ब्राह्मण भाषा बोल्थे । दार्शनिक र वैचारिकरूपले ब्राह्मणहरू पराजित भए पनि उनीहरूले गुरु र कर्मचारीतन्त्रको कारण क्षेत्रीय राजाहरूलाई आपसमा काटमार चलाउन दिएर भए पनि गुरु–पुरोहित वा कर्मचारीतन्त्रमाथि नेतृत्व कायमै राखेको देखिन्छ । यसलाई बौद्धिक क्षमताभन्दा पनि चातुर्य र कुटिलता मान्नुपर्छ । तिनीहरू आफ्नो उद्देश्य प्राप्तिको निम्ति जुनसुकै अपराध, छल र हत्या–हिंसालाई समेत निरङ्कुश र अमानवीय ढङ्गले प्रयोग गरी सत्तामा आफ्नो कब्जा जमाउँदै आएको देखिन्छ ।
आर्यहरूको गलत दार्शनिक र वैचारिक क्षमता सँगसँगै कुटिलता, छल र हिंसाको प्रयोगले अन्य जातजाति र भाषाभाषीहरूको क्रोध, द्वेष र सङ्कीर्णता सदा पराजित भएको देखिन्छ । पञ्चायतको अन्ततिर विदेशी गैरसरकारी संस्थाहरूको जातजाति, भाषाभाषी, दलित र धर्मको सङ्गठित विरोध देखिए पनि आज ती सबै पराजित भए तर त्यसको गहन अध्ययन आवश्यक छ ।
एकै जातका सबै व्यक्ति कसरी शिक्षक, प्रहरी, वकिल, राजनीतिक कार्यकर्ता, नेता र न्यायाधीश बन्न सक्छन् ? यसको कारण सरकारमा हैकम चलाउनेहरूको हो वा व्यक्तिको अस्थिरता वा स्वार्थ हो ? यो छलफलको विषय हो ।
हिजो इटालीमा मुसोलिनीले ‘रोमको गौरव पुनःस्थापना गर्न’ र ‘जहाँजहाँ क्याथोलिक धर्म हुन्छ, त्यहाँत्यहाँ इटालीको शासन हुन्छ’ भन्ने धर्मको नाममा कट्टर राष्ट्रियता र जातीय नारा दिएर प्रजातन्त्रको ठाउँमा फाँसीवादी लागु ग¥यो† अफ्रिका अवेसिनिया (इथियोपिया) मा समेत इटालीको झन्डा फहरायो ।
त्यस्तै जर्मनीमा हिटलरले जर्मन जाति शुद्ध आर्य रगत भएको भनी सारा संसारमा शासन गर्ने नैतिक अधिकारको वकालत गरे र अन्तर्राष्ट्रिय समाजवाद होइन ‘राष्ट्रिय समाजवाद’ को नारा दिएर जर्मन जातिका जनता बसोबास गरेका छिमेकी देशहरूमा जर्मनीले कब्जा ग¥यो र रुसमाथि आक्रमण गर्यो ।
नेपालका प्रजातान्त्रिक समाजवादी नेका, कम्युनिस्ट एमाले, एमाओवादी, समाजवादी र शासनमा भाग लिने अनेक क्षेत्रीय र साम्प्रदायिक दलहरूले आ–आफ्नो पार्टीको नामअनुसार सरकारमा रहँदा काम गरेनन्; न त निर्वाचन घोषणापत्रअनुसार नै काम गरे । ती सबैले नेपाली राष्ट्रिय पुँजीपतिवर्गको पक्षमा नभई विदेशी दलाल पुँजीको सेवा गरिरहे; कम्युनिस्ट भन्नेहरूले न गरिब किसानको हितमा भूमिसुधार गरे न त ज्यामी र मजदुरहरूको हितमा योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको सिद्धान्त लागु गरे । काङ्ग्रेस, एमाले, माओवादी, समाजवादी र अन्य दलहरूले भए भरको सार्वजनिक कलकारखाना र उद्योगहरू निजीकरण गरेर समाजवादी अर्थव्यस्थाको उल्टो काम गरे ।
छाला तथा जुत्ता कारखाना, भृकुटी कागज कारखानाजस्तै अन्य धेरै उद्योगहरू, ट्रली बस र अन्य सबै सेवाहरू निजी बनाउनु के समाजवादी अर्थव्यवस्थाको उल्टो काम भएन ?
३० वर्षका प्रजातन्त्रवादी र गणतन्त्रवादी भन्नेहरूले राणा शासन र ३० वर्षीय पञ्चायत कालमा जस्तै प्रधानमन्त्री र मन्त्रीहरूले के आ–आफ्ना छोराछोरी, भात्तिजा, छोरी र बुहारीहरूलाई पदमा राखेनन् ? पूर्वराजाले गर्ने काम नै प्रधानमन्त्री र शासकहरूले गरेपछि के यी बहुदलवादी नेताहरू राजावादी भएनन् ? जनताको गुनासो यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *