भर्खरै :

पितृभूमि मुक्ति युद्धको ४० औँ विजय दिवस – २

पितृभूमि मुक्ति युद्धको ४० औँ विजय दिवस – २

तेस्रो भ्रमण
साउन ९ – १६, २०५० (July 24 – 31, 1993)

विजय परेड (१२ साउन, ०५०/27 July, 1993)
२७ जुलाई १९९३ को दिन बिहानैदेखि आकाश पातलो बादलले ढाकेको थियो । पितृभूमि मुक्तिको ४० औँ विजय दिवसको सुअवसरमा प्योङयाङको आकाशमा सूर्य उदाएको देखिएन । तर, तयारी र श्रृङ्गारले प्योङयाङ धपक्क बलेको, चम्केको र झिलिमिली थियो । मानौँ, नयाँ दुलहीजस्तै स्निग्ध र कञ्चन प्योङयाङको सिँगारिएको मुहारलाई बादलको घुम्टो कसैले हालिदिएको थियो ।
७५,००० वर्ग मिटर फराकिलो किम इल सङ लायकु प्योङयाङको मुटु हो । ठुलठुला राजनैतिक र सांस्कृतिक गतिविधिको यो केन्द्र आज साँच्चै ४० वर्षको आफ्नो विजयगाथा सगौरव प्रदर्शन गर्न उत्सुक थियो, प्रतीक्षामा थियो र आतुर थियो । नेपालको विक्रम संवत्अनुसार त्यो दिन १२ साउन २०५० थियो ।
घडीमा बिहानको ९ बज्नै लागेको थियो, त्यस परेड ग्राउन्डको उँचो दबुलीको पहिलो पङ्क्तिको बायाँतिर मेरो स्थान थियो एक अफ्रिकी नेतासँगै । त्यस पङ्क्तिको ठीक बिचमा पितृभूमि मुक्ति युद्धका नेता, नायक र रणवीर, कोरियाली जनताका महान् नेता का. किम इल सङको स्थान थियो भने उहाँको दायाँ कम्बोडियाली राष्ट्राध्यक्ष (अहिले राजा) नरोदम र बायाँ प्यालेस्टिनी सङ्गठनका नेता र कमान्डर यासेर अराफातको स्थान थियो ।
९ बज्यो, दबुलीमा का. किम इल सङ र अन्य कोरियाली नेताहरू, देश विदेशका अतिथि पार्टी र सरकारका प्रतिनिधिमण्डलका नेता र सदस्यहरू उत्साहपूर्वक देखापरे । हजारौँ हजार कोरियाली नरनारी र केटाकेटीहरू रातो, सेतो र विभिन्न रङ्गका फूलका गुच्छा लिएर किम इल सङ लाय्कुमा खचाखच भरिए, ताली र खुसी, आवाज र अभिवादनले आकाश गुञ्जयमान भयो, जनताले उडाएका रङ्गीचङ्गी बेलुनले आकाश ढाकियो र विजय र हर्षको बढाइ भयो । स–साना केटाकेटीहरूले राष्ट्रपति किम इल सङलाई फूलका गुच्छाहरू प्रदान गरे र स–साना हातहरूले मायालाग्दो सलामी चढाए ।
कोरियाली जनसेनाका जनरल स्टाफका प्रमुख चोई क्याङले शुभकामना भाषण सुरु गर्नुभयो । उहाँले भन्नुभयो, “पितृभूमि मुक्ति युद्धमा हाम्रा जनताको विजय महान् नेता कामरेड किम इल सङको चमत्कारपूर्ण सैनिक विचार, रणनीति र कार्यनीतिको विजय थियो, जुछेमा आधारित युद्ध कौशल र अद्वितीय कमान्डिङ कलाको विजय थियो, आफ्नो नेताको चारैतिर घनिष्ठतापूर्वक एक भएर आफ्नो भाग्यको निर्णय गर्न बहादुरीपूर्वक लड्ने जनताले कुनै पनि साम्राज्यवादी आक्रमणलाई हराउन सक्छ र राष्ट्रको प्रतिष्ठा र सार्वभौमिकतालाई रक्षा गर्न सक्छ भन्ने कुरा यस ऐतिहासिक घटनाले देखाइरहेछ ।”
“हाम्रा जनता र जनसेनाले पहिले जस्तै जुछे विचारमा आधारित व्यापक जनसमुदायहरूमा केन्द्रित कोरियाली शैलीको समाजवादलाई रक्षा गर्नेछन् र सम्मान गर्नेछन् सारा राष्ट्रको संयुक्त शक्तिबाट राष्ट्रिय पुनःएकीकरणको उद्देश्यका कार्यहरूलाई अगाडि बढाउने छन् ।”
परेड सुरु हुन्छ, एक एक गरेर हरेक पल्टनहरू आ–आफ्नो झन्डा बोकी पोशाक र मान–पदवी, तक्माहरूले सुसज्जित भएर प्रदर्शनमा अगाडि बढे । किम इल सङ सैनिक विश्वविद्यालय, किम इल सङ राजनैतिक विश्वविद्यालय, किम चाक हवाई सेना, जलसेनाका विश्वविद्यालय, अन्य सैनिक एकेडेमी र सैनिक स्कूलहरूका दलहरू सलामी प्रदर्शन गर्दै गए । त्यस्तै, विभिन्न प्रकारका कारखाना मजदुर, किसान, युवकविद्यार्थी, महिला, वैज्ञानिक, प्राविधिक, शिक्षक, नव–युवाहरू, लालरक्षक आदि जीवनका हरेक क्षेत्रका जनसमुदायले त्यस सलामीमा भाग लिए ।
त्यहाँ मैले पितृभूमि मुक्ति युद्धमा कोरियाली जनसेनाको भूतपूर्व युद्ध संवाददाता रि इन मो र सायद उहाँको जहानलाई देखेँ । भीडको कारण र म आफ्नो स्थानमा जानु परेकोले रि इन मोलाई भेटेर आदर जाहेर गर्ने र सुस्वास्थ्यको कामना गर्ने अवसर पाउन सकिन ।
प्रदर्शनकारीहरू समाजवाद, स्वतन्त्रता, देशको शान्तिपूर्ण पुनःएकीकरण, देशको सम्पन्नता र राष्ट्रपति किम इल सङको सुस्वास्थ्यको कामना गर्दै अगाडि बढे । राष्ट्रपति किम इल सङ हात हल्लाउँदै जनताका अभिवादनलाई हँसिलो मुहारले जवाफ दिँदै हुनुहुन्थ्यो । प्योङयाङका जनता रङ्गीचङ्गी फूलका गुच्छाहरू, कोरियाको राष्ट्रिय झन्डा र अन्य चित्रहरूले विभिन्न नाराका अक्षरहरू बनाउँदै प्रदर्शन गरे ।
दसौँ लाख जनताको त्यस भव्य विजय दिवसमा प्रदर्शित कोरियाली जनताको आधुनिक हात–हतियार, उत्साह र एकताले एक नयाँ मनोवैज्ञानिक युद्धमा पनि प्रजग कोरियाले जितेको सहजै अनुमान गर्न सकिन्थ्यो ।
त्यो शानदार विजय परेड १ः४५ बजे समाप्त भयो । उत्साहको कुनै सीमा थिएन ।
उपत्यका अतिथि सदनमा पुगेर एकछिन आराम ग¥यौँ । हाम्रो खानामा चाडपर्वकै पश्चिमेली परिकारहरू थपिएका थिए ।
राजकीय भोजमा
४० औँ विजय दिवसको उपलक्ष्यमा राष्ट्रपति किम इल सङले सबै पार्टी, सरकार र सङ्घ–संस्थाका देशी र विदेशी प्रतिनिधिमण्डल वा अतिथिहरूलाई एक राजकीय भोजको आयोजना गर्नुभएको थियो ।
४ः३० बजे हामी राष्ट्रपति भवन पुग्यौँ । त्यहाँ म र जीवनजी अलगियौँ । प्रतिनिधिमण्डलका नेताहरू एक विशाल बैठकमा थिए । त्यहाँ मैले तान्जानिया, घाना, लाओस, थाइल्यान्ड, पाकिस्तान, भियतनाम र अन्य देशका नेताहरूसँग चिनजान गरे ।
बैठकमा राष्ट्रपति किम इल सङ, राष्ट्रिय रक्षा कमिसनका अध्यक्ष र कोरियाली जनसेनाका सुप्रिम कमान्डर का. किम जोङ इल र अन्य नेताहरू प्रवेश गर्नुभयो । सबै पाहुनाहरू आ–आफ्ना स्थानबाट उठेर उहाँहरूसँग हात मिलाउँदै परिचय दिए र अभिवादनको आदानप्रदान गरे । का. किम इल सङसँग यो मेरो तेस्रो भेट थियो र समाजवादको थप योगदानको निम्ति उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेँ । का. किम इल सङले गम्भीर भएर ‘धन्यवाद’ दिनुभयो ।
परिचयपछि सबै प्रतिनिधिमण्डलका नेताहरू फोटो खिच्ने ठाउँमा उभिए र राष्ट्रपति किम इल सङसित फोटो खिचाए । युरोप र अफ्रिकाका अग्ला र ठुला जीउका पाहुनाहरूको अगाडि हामी केही देशका प्रतिनिधिहरू हराएझैँ लाग्थ्यो ।
त्यसपछि हामी राजकीय भोजको कक्षमा प्रवेश गर्यौँ । प्रवेश गर्दा राष्ट्रपति किम इल सङ, अन्य कोरियाली नेताहरू र विजय परेडमा भाग लिएका सबैजसो विदेशी प्रतिनिधिमण्डलका नेताहरू थिए । स्वागत धुनका साथै हर्ष र खुसीले वातावरण गुञ्जियो ।
प्रजग कोरियाको राष्ट्रिय रक्षा कमिसन र जनताका सशस्त्र सेनाका मन्त्री ओ जिन युले आफ्नो भाषण सुरु गर्नुभयो, “पितृभूमि युद्धमा कोरियाली जनताको विजय प्रतिभाशाली आदरणीय नेता का. किम इल सङको महान् राजनैतिक र सैनिक नेतृत्वको विजय हो र साम्राज्यवादको आक्रमणको विरोधमा पार्टी र नेताको चारैतिर घनिष्ठरूपले एक भएर लडेका कोरियाली जनताको वीरतापूर्ण सङ्घर्षको मूल्यवान परिणामको विजय हो ।”
“यद्यपि, अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरूबाट लगातार आक्रमण र हस्तक्षेपका गतिविधिहरू हुँदै आएका छन्, हाम्रा जनताले समाजवादी निर्माण र स्वतन्त्रता तथा देशको शान्तिपूर्ण एकीकरणको निम्ति जुछे विचारधाराको झन्डा तल कष्टकर युद्धमा देखाइएको अदम्य उत्साह र जोशका साथ दृढ सङ्घर्ष गर्दै आएका छन् ।”
“पार्टी र नेताको विद्वतापूर्ण निर्देशनमा न्यायोचित उद्देश्यको निम्ति गरिएको हाम्रो जनता र जनताको सेनाको सङ्घर्ष पहिले जस्तै विजयी हुनेछ ।”
राष्ट्रपति किम इल सङकै ठुलै टेबुलमै मेरो पनि स्थान थियो । मेरो दायाँतिर एक युरोपेली नेता थिए भने बायाँतिर एक चिनियाँ सैनिक नेता थिए । राष्ट्रपतिको दायाँबायाँ नरोदम सिंहानुक र यासेर अराफात हुनुहुन्थ्यो ।
भोज सुरु भयो, राष्ट्रपति किम इल सङले टोस्ट प्रस्ताव राख्नुभयो, सबै उठेर उहाँको सुस्वास्थ्य र कोरियाली जनताको सफलताको कामना गरे । वास्तवमा राष्ट्रपति किम इल सङ अहिले पनि स्वस्थ र हँसमुख देखिनुहुन्थ्यो । झाड–पानसको झिलिमिली र प्रकाशको चमत्कारले शोभायमान त्यस विशाल कक्षमा १२० भन्दा बढी देशका पाहुनाहरू सामेल थिए । कोरियाली राजकीय भोजमा अन्य देशको राजकीय भोजमा नपाएको एक परिकार हो दुर्लभ चरा–कोइलीको फूल ! टोस्ट प्रस्ताव राखिने बेलाको इन्साम त साँच्चै पारखीहरूको पारखकै विषय बन्यो । झन्डै ८ बजे भोज समाप्त भयो ।
मईको रङ्गशालामा रमाइलो साँझ
रातको ८ बजिसकेको थियो, आकाशको रङ्ग र रूपमा कुनै हेरफेर आएको थिएन । ८ः३० मा हामी १ लाख ५० हजार स्थान भएको मई दिवस रङ्गशालामा पुग्यौँ । राष्ट्रपति किम इल सङ र अन्य विदेशी नेताहरू मञ्चमा प्रवेश हुनासाथ रङ्गशालामा झन्डा र फूलका गुच्छाहरूको लहर देखापर्यो र खुसीले रङ्गशाला गुञ्जियो ।
२००० मानिसहरूले समूह गान गाउन हुने चलायमान मञ्चको ठीक अगाडिको माथिल्लो भागमा किमिल्सुनिया र किमजोगिलियाका फूलका टोकरीहरूको छायाँ देखियो । त्यसका साथसाथै ‘गौरव’, ‘अभिनन्दन’, ‘महान् नेता किम इल सङ– जिन्दावाद !’ र ‘पितृभूमि मुक्ति युद्धको ४० औँ दिवस जिन्दावाद’ का अक्षरहरू पनि देखिए– सँगसँगै पटाकाहरू पड्के र भुइँचम्पा, आतसबाजी सुरु भयो ।
बैन्ड बाजाको धुनमा ‘जनताले नेताको गीत गाउँछन्’ भन्ने समूह गान सुरु भयो, अनि हजारौँ महिलाहरूको नाच सुरु भयो । अनेक प्रकारका स्लाइडहरू र आँखै छकाउने खालका बिजुलीको प्रविधिले प्रदर्शनहरूलाई आकर्षक र प्रभावशाली बनाएको थियो ।
मुक्ति युद्धमा महिलाहरूको भूमिका, युद्धमा तोपलाई आफ्नो जीउले छेकेर शत्रुको चौकी कब्जा गर्ने वीरतापूर्ण घटना, शत्रुको हवाई हमला र प्रतिकार, लडाइँका अनेक दृश्यहरूले दर्शकहरूलाई रोमाञ्चित पार्थे । मलाई त हाम्रै अगाडि लडाइँ भइरहेको जस्तो अनुभव भयो । प्रकाश र ध्वनिको संयोजन, पात्रहरूको सञ्चालन, नाचगान, सर्कस, खेलकुद आदिको प्रदर्शनले त्यस विजय साँझलाई साँच्चै सार्थक तुल्याएको थियो । त्यस प्रदर्शनमा ८०,००० छात्र–छात्रा, युवा, जनसेनाका जवान, कलाकार र खेलकुदका खेलाडीहरूले भाग लिएको बताइयो ।
नाच्ने र गाउनेहरूको पोशाक, तमासा देखाउनेहरूको समायोजन र सक्रियता, एकरूपता र मिलनको सफलताले सबै विदेशी पाहुनाहरू आश्चर्य मिश्रित भावले सुस्केरा हालेर ताली बजाउँथे, दर्शकहरू सास रोकेर रोमाञ्चित हुन्थे । विष्मयकारी त्यस विजयको नाचगानले, गीत र काव्यले, अङ्गप्रत्यङ्गको सञ्चालन र प्रदर्शनले पाहुनाहरूलाई आफूहरू बिर्सनुबाहेक अरु उपाय थिएन । रोमाञ्चकारी प्रदर्शनहरूसँगै आतसबाजी, भुइँचम्पा र पटाकाहरूको बढाइँले मनलाई टोलाउँथ्यो, आँखालाई तिर्मिराउँथ्यो र उत्सवको भव्य परिवेशमा दर्शकहरू आफूलाई समाहित भएको पाउँथे ।
विदेशी पाहुनाहरू खुसी र आश्चर्य मिश्रित भाव लिएर भन्दै पनि थिए, “गजब ¤ गजब ¤ कोरियाली जनता सा¥है मेहनती, अनुशासित र सिद्धहस्त छन् – हरेक क्षेत्रमा ।”
४० औँ विजय दिवसलाई बधाई !
उपत्यका अतिथि सदन पुग्दा साँझ होइन, रात छिप्न लागिसकेको थियो । रङ्गशालाका जग्मगाउँदा दृश्यहरू मन र मस्तिष्कमा खेलिरहेकै थियो ।
कोरियाली मुक्ति युद्धको स्मृति स्मारक (१३ साउन, ०५०/28 July, 1993)
२८ जुलाई, १९९३ को बिहान झ्यालबाट बाहिर हेरेँ । मौसममा कुनै हेरफेर थिएन । आकाश धमिलो थियो, सूर्य देखिन्नथ्यो, काठमाडौँको जाडोको हुस्सुजस्तो पनि थिएन, जाडो पटक्कै होइन, पानी पनि परेको होइन अनौठो मौसम ।
९ बजिसकेको थियो । उपत्यका अतिथि सदनबाट हाम्रा कारहरू पितृभूमि मुक्त युद्धको विजय स्मारकतिर दौडिरहेका थिए । कार्यक्रमअनुसार हामी ९.३० बजे स्मारकको ढोकामा ओल्र्यौँ ।
प्योङयाङको पोडोङ नदीको किनारमा १ लाख ५० हजार वर्गमिटर क्षेत्रफल फैलिएको त्यस स्मारक अस्ति २६ जुलाईको दिनमात्रै राष्ट्रपति किम इल सङले रातो फित्ता काटेर उद्घाटन गर्नुभएको रहेछ ।
दर्शकहरूको ठुलो घुइँचो थियो । आमा–बाबुसँग केटाकेटी र बुढाबुढी, युवकयुवती सबै बडो उत्सुक र उत्साहका साथ हेर्न आएका थिए । दलका दल स्कूले छात्रछात्राहरू ड्रम र बैन्ड बजाएर आ–आफ्नो पूर्वाभ्यास गर्दै थिए । अस्थायी पसलहरूबाट केटाकेटीहरू खानेकुरा किनेर रमिता गर्दै थिए । पशुपतिको मेला वा काठमाडौँमा दसैँ, तिहार र बिस्केटमा जस्तै मानिसहरू राम्रा राम्रा लुगा लगाएर विजय स्मारक (Victory Monument) हेर्न आएका थिए, मानौँ त्यो कुनै मन्दिर हो ।
११ वटा ठुलठुला लडाइँका वीरगाथाहरू चित्रित तामाका र अन्य धातुका सालिकहरूले पितृभूमि मुक्ति युद्धमा कोरियाली जनसेना र जनताको वीरतालाई स्पष्ट प्रतिबिम्बित गर्थे । शत्रुहरूमाथि हमला गर्दाको साहस र आक्रोश, वीराङ्गनाहरू बन्दुक र चिकित्सा दलका बाकस बोकेर सङ्घर्षमा समर्पित गम्भीर मुद्राहरू, शत्रुमाथि बम फाल्दै र पहाडमाथि तोपहरूलाई गुडाउँदै, धकेल्दै गरेका दुरुह तथा कष्टसाध्य कार्यहरू एवं घाइते र घाउको वास्तै नगरी अन्तिम साससम्म साहसको चरमोत्कर्षमा शत्रुमाथि गरेको धावाका स्मारकहरूले अमेरिकी साम्राज्यवादी आक्रमणप्रति घोर घृणा दर्शक र आगन्तुकहरूमाथि उब्जाउँथ्यो भने योद्धाहरूको आफ्नो पितृभूमिप्रतिको उत्सर्ग गर्ने मुद्रालाई हेरेर अनगिन्ती योद्धा र वीर सहिदहरूप्रति असीम श्रद्धाका भावहरू दर्शकहरूको मुखमण्डलमा छाएको देखिन्थ्यो ।
आफ्नो पितृभूमिको रक्षार्थ आ–आफ्नो ज्यानलाई हत्केलामा राखेर मुक्ति युद्धमा हामफाल्ने शुरवीरहरूको ‘विजय’ को मुख्य स्मारक देखेपछि बल्ल साँच्चै पितृभूमिको मुक्ति युद्ध विजयमा टुङ्गिसकेको सम्झना हुन्छ– युद्धको सपनाबाट झल्याँस बिउँझे जस्तो ! तारा भएको रातो झन्डालाई अझ माथि उचालेर बन्दुक भिरेका कोरियाली जनसेनाले हात फैलाएर ठुलो स्वरले ‘विजय’ को आह्वान गरेको यथार्थता स्मारकबाट प्रतिबिम्बित हुन्थ्यो ।
हो, त ! कोरियाली युद्ध (१९५०–५३) चानचुने युद्ध थिएन । संसारका वीरतापूर्ण युद्धहरूमा एक नमुना दिन लायक बलिदानीपूर्ण युद्ध थियो । कोरियाली जनताको असीम साहस र वीरतापूर्ण चरित्रहरूबाटै भरिएको महाकाव्य र महाभारत हो– कोरियाली पितृभूमिको मुक्ति युद्ध । यसकै एक जिउँदो जाग्दो झाँकी कलाकारहरूले २४० टन तामा र अन्य धातुमा मूर्तिमान गरेका हुन् ।
पितृभूमि मुक्ति युद्धको विजयको स्मारक हेरेर हामी प्योङयाङको चौबाटोलाई पार गर्ने भूमिभित्रको बाटो अर्थात् सब–वे हेर्न गयौँ । काठमाडौँको रत्नपार्क–भोटाहिटीको भूमिमार्गभन्दा प्योङयाङको सब–वे सा¥है सुविस्ताको, फराकिलो र व्यवस्थित देखेँ । चारैतिर जान सकिने प्योङयाङको भुइँ मार्ग हामीले काठमाडौँको निम्ति अनुकरण गर्नलायकको सम्झँै । जीवनजीलाई सा¥है राम्रो लाग्यो र रमाइलो माने, मलाई खुसी लाग्यो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *