भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयान – ७

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयान – ७

प्रहरी वृत्त बौद्धका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल :
भदौ २३ गते माइतिघरबाट निस्केको भिडको अग्रपङ्क्तिमा रहेका केही व्यक्तिहरू प्रारम्भमै उत्तेजित देखिएका थिए । व्यारिकेड हल्लाउने, तोडफोड प्रयास, ढुङ्गा—इँटा प्रहार तथा अमर्यादित नाराबाजी बढ्दै गएको थियो । भिड नेतृत्वविहीन थियो । उत्तरतर्फको लेनमा व्यारिकेड तोडियो र भिड निषेधित क्षेत्रमा प्रवेश गर्न सफल भयो । सशस्त्र प्रहरीको टोली त्यसबेला पछाडितर्फ सरेको देखिनु समन्वय कमजोर रहनु र ब्यानर पछाडिबाट पनि भिड घुमी आउनु प्रमुख चुनौती थियो ।
बीआईसीसीको दक्षिणतर्फ रहेको १ नं. गेट नजिक पुग्दा भिडले गेट बाहिरको रेलिङ भाँचिसकेको थियो । गेट अगाडि रहेका प्रहरीलाई ढुङ्गा, इँटा, रड तथा फलामका टुक्राहरूले आक्रमण गरिरहेको हुँदा हामी त्यसतर्फ जान सकेनौँ । भिडले कफ्र्यु आदेश पालना गर्न अस्वीकार गरेर “आज एकदिन संसद् भवनभित्र जान दिनु” जस्ता चेतावनीसहितका प्रतिक्रिया दिएको थियो । भिडले प्रहरीमाथि सिसा, लाठी, रड, इँटा तथा पानीका बोतलले आक्रमण गर्न थाल्यो । आफ्नो टोलीबाट एक जना पनि प्रदर्शनकारी घाइते भएका थिएनन् । तर, आन्दोलनकारीको ढुङ्गा, गुलेली, रड प्रहारबाट टोलीको ४ वटा हेल्मेट फुटेको, आन्दोलनकारीको घम्साघम्सीमा ६ वटा लाठी भाँच्चिएको र ३ वटा शिल्ड फुटेको छ ।
भदौ २४ गते मलाई बिहान ८ः३० बजेबाट पुनः नयाँ बानेश्वर—बेकरी क्याफे क्षेत्रमा खटाइएको थियो । कतैकतै प्रहरी चौकी, मन्त्री तथा राजनीतिक नेताहरूका घर, निजी सम्पत्ति र सरकारी भवनहरूमा तोडफोड र आगजनी सुरु भएको सूचना निरन्तर सञ्चार सेटबाट आएको थियो । मेरो टोली करिब साढे दस बजेतिर प्रहरी वृत्त बौद्धमा पुग्दा ६०० भन्दा धेरै प्रदर्शनकारीहरूले थली प्रभाग तोडफोड गरेका, १ हजारभन्दा धेरैले जोरपाटी चौकी घेरेको, १ हजारभन्दा धेरैले साँखु प्रभागमा ढुङ्गामुढा गरेको भनी जानकारी आएको थियो । बिहानको करिब १०ः४५ बजेको समयतिर प्रहरी वृत्त बौद्धमा ढुङ्गामुढा हान्न सुरु गरेको, केही समय स्थानीयवासीले एकछिन हातेमालो गरी भिडलाई टुसालतर्फ पठाउन सहयोग गरेको तर पछि उनीहरूसमेत आन्दोलनमा मिसिए । ढुङ्गामुढा, आगजनी प्रयास, पेट्रोल बम तयारी र प्रहरीमाथि प्रत्यक्ष लाठी—रड प्रहार भइरहेको हुँदा परिस्थिति नियन्त्रणबाहिर गएको थियो । थुनुवा लिस्ट तयार गरी छाड्ने भिक्टर कन्ट्रोलबाट आएकोले परिस्थितिगत मूल्याङ्कनपछि हिरासतमा रहेका सम्पूर्ण थुनुवाहरूलाई छाडिएको थियो ।
कार्यालयमा रहेका धेरै गोला—बारुद भने हामी निस्केपछि भिडले आगजनी गर्दा कार्यालयलगायत उक्त जिन्सी सामानहरू जली नष्ट भएको हो । भिडबाट पेट्रोल बम, आगजनी प्रयास, हजारौँको सङ्ख्या घेराबन्दी, भिडको मनोविज्ञान र सशस्त्र प्रहरीले सहयोग नगर्नु प्रमुख चुनौती भयो ।
भदौ २३ र २४ गतेका घटनामा भिडको नेतृत्वविहीनता, उत्तेजक व्यक्तिहरूको सक्रियता, विद्यालय पोशाक प्रयोग, मो.सा. चलाउने अपरिचित समूहहरूको गतिविधि र भिडका नारा एवम् उद्देश्यमा एकरूपता नदेखिनु घुसपैठको मुख्य सङ्केत थियो ।
प्रहरी वृत्त कीर्तिपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजबाबु महर्जन :
भदौ २३ गते माइतिघरबाट आएको ठुलो सङ्ख्याको भिड संसद् भवनतर्फ अघि बढ्दै करिब १५ हजार हाराहारीमा पुगेको देखिन्थ्यो । भिडले ब्यारेकेड तोडेर अघि बढ्न खोज्दा सशस्त्र प्रहरीसँग धकेलाधकेल भयो र अवस्था क्रमशः असामान्य बन्दै गयो ।
भिड अत्यधिक आक्रमक भई ढुङ्गा हान्ने, तोडफोड तथा आगजनीमा उत्रिएपछि प्रदर्शनकारीहरूले संसद् भवनको दक्षिण गेट नजिक रहेका सवारीसाधनमा तोडफोड तथा आगजनी गरी पर्खाल भत्काउँदै भवनभित्र प्रवेश गरेको मैले देखेँ । प्रहरीले रोक्न खोज्दा हातमा ढुङ्गा र औजार बोकेका भिडका कारण पनि अवस्था नियन्त्रण बाहिर गयो । भिडको आक्रामकता, कफ्र्यु उल्लङ्घन र व्यापक क्षति रोक्न अन्तिम बल प्रयोगको अवस्था सिर्जना भएको हो । पहिलो गोली कहाँबाट चल्यो भन्ने कुरा मलाई थाहा भएन ।
भदौ २४ गते करिब १३ हजारको भिडले प्रहरी वृत्त कीर्तिपुर घेराउ गरी तोडफोड गर्न थाले । हामीले नेवारी भाषासमेत प्रयोग गरी सम्झाइबुझाइ गर्दा केही फर्किए । पुनः ठूलो सङ्ख्यामा आएको भिडले प्रहरी कार्यालयमा आगजनी गर्दा कागजात नष्ट हुनुका साथै १० नाल हतियार लुटिए ।
घटनाक्रममा मास्क, हेल्मेट लगाएका, मोटरसाइकलको ठूलो आवाज निकालेर भिड उक्साउने तथा घरेलु हतियार प्रयोग गर्ने व्यक्तिहरू देखिएकाले आन्दोलनमा घुसपैठ भएको शङ्का लागेको छ ।
प्रहरी वृत्त स्वयम्भूका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाट :
भदौ २३ गते न्भल(श् आन्दोलनको ड्युटीमा म प्रत्यक्ष रूपमा खटिएको थिइनँ । भदौ २४ गते दिउँसो करिब १४ देखि १५ बजेको बिचतिर संसद् भवन (मिनभवनपट्टि) तर्फबाट भिडले वाल तोडफोड गरी आगजनी सुरु गरेको मैले जानकारी पाएको थिएँ । संसद् भवनभित्र नेपाली सेना र सशस्त्र प्रहरी दुवै तैनाथ भए पनि नेपाल प्रहरीले मात्र आगजनी रोक्ने प्रयास गरेको थियो ।
त्यसदिन भिक्टर कन्ट्रोलबाट थुनुवा छोड्ने, हतियार र सञ्चार उपकरण जोगाउने, अश्रुग्याँसबाहेक बल प्रयोग नगर्ने आदेश आएको थियो । उक्त प्रदर्शनको क्रममा कार्यालय र सवारी साधनहरू आगजनीबाट जोगाउन नसकिएको, १२ जना प्रहरी घाइते भएको र सञ्चार उपकरण तथा हतियारहरू नष्ट भएको थियो ।
संसद् भवनमा आगजनी भएपछि भिडमा अन्य स्थानको प्रहरीबाट लुटेको एसएलआर बोकेको व्यक्ति पनि थियो । उसको हातबाट हाम्रो टोलीले हतियार खोसेको थियो । उक्त भिडबाट रड प्रहार हुँदा मेरो घुँडामा र काँधमा चोट लागेको थियो ।
२४ गते कार्यालयमा आगजनी भएपछि आफ्नो टोलीसहित कालिकास्थानस्थित नेपाली सेनाको बन्दोबस्ती गणमा बसेको हुँ । भदौ २३ र २४ का घटनामा Gen-Z आन्दोलनमा अन्य समूहहरूको घूसपैठ भइ भिड्ने नेतृत्वविहीन भएको थियो । जसले लुटपाट, आगजनी र तोडफोडलाई प्रोत्साहन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *