भर्खरै :

राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना

राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना

सान जोस, ८ वैशाख (एएफपी) । मध्यपूर्वमा चर्किंदै गएको युद्धको पृष्ठभूमिमा निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा व्यक्तिगत आक्षेप लगाउँदै उहाँलाई ‘मानसिक रूपमा अस्थिर’ रहेको टिप्पणी गर्नुभएको छ । इरानविरुद्धको सैन्य आक्रमणलाई लक्षित गर्दै गरिएको यस्तो अभिव्यक्तिले वासिङ्टन–मानागुआ सम्बन्धमा थप तिक्तता ल्याउने सङ्केत दिएको छ ।
राज्यद्वारा सञ्चालित सञ्चारमाध्यममार्फत प्रसारित मानागुआस्थित एक कार्यक्रममा बोल्दै ओर्टेगाले वर्तमान अमेरिकी नेतृत्वको युद्ध सञ्चालन शैलीलाई असामान्य र खतरनाक भएको बताउनुभयो । उहाँका अनुसार यस्तो आक्रामक नीति ‘आफ्नो नियन्त्रण गुमाइसकेको व्यक्तिको व्यवहार’ जस्तो देखिन्छ, जसले आफूले चाहेको कुनै पनि क्रूर कदम चाल्न सक्छ भन्ने मानसिकता झल्काउँछ । उहाँले यसलाई ‘मानसिक अस्थिरताको समस्या’ भन्दै थप कडा टिप्पणी गर्नुभएको थियो ।
फेब्रुअरी २८ मा इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा सुरु गरेको आक्रमणपछि ओर्टेगाले लगातार ट्रम्पको आलोचना गर्दै आउनुभएको छ । उहाँको भनाइमा उक्त युद्धले क्षेत्रीय मात्र नभई, विश्वव्यापी अस्थिरता बढाएको छ ।
ओर्टेगाले ट्रम्पको सामाजिक सञ्जाल गतिविधिलाई समेत विवादास्पद भन्दै आलोचना गर्नुभयो । विशेषगरी ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा कृत्रिम बौद्धिकताबाट बनाइएको एउटा तस्बिर पोस्ट गरेको प्रसङ्ग उठाउँदै उहाँले त्यसलाई अस्वीकार्य व्यवहारको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो । उक्त तस्बिरमा ट्रम्पलाई येशू ख्रीष्टको रूपमा चित्रण गरिएको देखाइएको थियो, जहाँ उहाँ बिरामी व्यक्तिलाई निको पार्दै गरेको दृश्य देखिन्छ ।
यसप्रति प्रतिक्रिया जनाउँदै ओर्टेगाले ट्रम्पले कति जनालाई निको पारेका छन् भन्ने प्रश्न गर्दै, उल्टै युद्धमार्फत कति जनाको ज्यान गएको छ भन्ने विषयमा विश्व समुदायले जवाफ खोज्ने बताउनुभयो ।
यसैबिच, ओर्टेगाले आफ्ना परिवारमाथि लक्षित अमेरिकी प्रतिबन्धको पनि आलोचना गर्नुभएको छ । सन् २००७ देखि सत्तामा रहँदै आउनुभएका उहाँमाथि यसअघि पनि संवैधानिक संशोधन र असन्तुष्टिलाई दमन गरेर शक्ति केन्द्रित गरेको आरोप लाग्दै आएको छ, जसलाई संयुक्त राज्य अमेरिकाले बारम्बार उठाउँदै आएको छ । पछिल्लो समयमा उहाँका दुई सन्तान सुन उद्योगसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको छ । यस कदमप्रति आक्रोश व्यक्त गर्दै ओर्टेगाले आफूलाई लक्षित गर्न नसकेपछि आफ्ना परिवारमाथि दबाब सिर्जना गरिएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार यस्तो प्रतिबन्ध राजनीतिक उद्देश्यले प्रेरित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *