सतही निर्णयले परिवर्तनको अनुभूति नहुने
- बैशाख ८, २०८३
कुनै पनि दललाई चिन्ने आधार दलको सिद्धान्त, विचार र दर्शन नै हो । सिद्धान्त र विचारको आधारमा त्यो दलको दृष्टिकोण थाहा हुन्छ र त्यो दलले कुन वर्गका जनताको सेवा गर्छ भन्ने स्पष्ट हुन्छ । दललाई चिन्ने आधार दलको नाम होइन । दलको नाममा कम्युनिस्ट उल्लेख भए पनि त्यो दल सच्चा कम्युनिस्ट हुन्छ या आचरणअनुसार अघि बढेको छ भन्ने कुरा होइन । कुन दल सही र गलत छुट्याउने आधार पुँजीवादी निर्वाचनमा त्यो दलले प्राप्त गरेको मतलाई आधार मान्नु उचित हुँदैन । निर्वाचनमा दलले कहिले बहुमत प्राप्त गरेको हुन्छ भने कहिले अल्पमत । बहुमत प्राप्त हुँदा त्यो दल सही र अल्पमत पाउँदा गलत भन्न मिल्दैन । पुँजीवादी व्यवस्थाको निर्वाचनमा पैसाको खोलो बग्ने हुँदा, धाक धम्की र लहैलहैमा मत राख्ने हुँदा दलले पाउने मतमा हेरफेर हुन्छ । अतः निर्वाचनमा दलले प्राप्त गरेको मतको आधारमा त्यो दललाई सही र गलत भनी मूल्याङ्कन गर्नु सान्दर्भिक हुने छैन ।
कुनै पनि दल सिद्धान्त र विचारको आधारमा चल्नुपर्छ । दलको सिद्धान्त र विचारअनुसार चलेको छैन या गतिविधि भएको छैन भने त्यो सही दल होइन भन्ने कुरा बुझ्नुपर्छ । देशमा रहेका कम्युनिस्ट भनिने दलहरूको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहेको छ । तर, कति दलहरू माक्र्सवाद–लेनिनवादको सिद्धान्तअनुसार चलेका छैनन् । माक्र्सवाद–लेनिनवादलाई नेपालको माटो सुहाउँदो उपयोग नगर्दा या आफ्नै अनुकूल पार्टी सञ्चालन गर्दा कम्युनिस्ट पार्टीको आन्दोलन र कम्युनिस्ट पार्टीको स्थिति कमजोर भएको देखिन्छ । देशका सबै कम्युनिस्ट पार्टी माक्र्सवाद–लेनिनवादको अवधारणाअनुसार लागेका भए, कुर्सी र भागबन्डाको राजनीतिमा नफसेका भए कम्युनिस्ट पार्टी अघि बढेको हुन्छ । कम्युनिस्ट पार्टीको मर्म उल्लङ्घन गरेर, वर्गसङ्घर्षको भावना छोडेर पुँजीवादी सरकारमा नफसेको भए नेपालको कम्युनिस्ट पार्टी अघि बढ्थ्यो र आमूल परिवर्तनको निम्ति पूर्वाधार बन्थ्यो ।
कम्युनिस्ट पार्टीको उद्देश्य देशका शोषित पीडित जनताको सेवा गर्नु हो; कम्युनिस्ट पार्टी गरिखाने वर्गको लागि हो । तर, पहिले सरकारमा पुगेका कम्युनिस्टहरू श्रमजीवीवर्गको पक्षमा गएनन्; न्याय, समानता र सुरक्षाको निम्ति अघि बढेनन् । पुँजीपतिवर्गको पक्षपोषण गर्ने, सरकारको नेतृत्व गर्न या सरकारमा जानको निम्ति सामन्त, पुँजीपति वर्गसँग साँठगाँठ गर्ने दल कसरी कम्युनिस्ट पार्टी हुन्छ ? कम्युनिस्ट पार्टीले पार्टीको उद्देश्यअनुसार कार्य गर्न नसक्दा, अघि नबढ्दा कम्युनिस्ट पार्टी पछि पर्नु स्वाभाविक हो । माक्र्सवाद–लेनिनवाद पार्टीको पथ प्रदर्शक हो भने तद्नुसार राजनीति गर्नुपर्ने हो । सरकारमा गएको कम्युनिस्ट पार्टीले एकातिर दलको उद्देश्यअनुसार काम गर्न सकेन भने अर्कोतिर जनताको भावनाअनुसार पनि काम गर्न सकेन । यो कम्युनिस्ट पार्टीको कमजोरी हो
हो, विभिन्न संसदीय निर्वाचनमा कम्युनिस्ट पार्टीले पाएको मतमा एकरूपता छैन । कम्युनिस्ट पार्टीले फरक फरकको निर्वाचनमा फरक फरक मत पाएको थियो । त्यही फरक मतको आधारमा कुनै दललाई ठीक र बेठीक छुट्याउँदा मूल्याङ्कन सही हुने छैन । गलत बाटो लिएका अवसरवादी र वामपन्थी कम्युनिस्ट पार्टीले समाज परिवर्तनको बाटो खोज्दैन, परिवर्तनको निम्ति आधारभूमि तयार गर्दैन । देशका सबै कम्युनिस्ट पार्टीहरू माक्र्सवादी र लेनिनवादीको अवधारणाअनुसार अघि बढ्नुपर्छ† अघि बढ्न आफ्नो बाटो खोज्नुपर्छ । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको गन्थन छोडेर पुँजीवादी पार्टीको दृष्टिकोण समालेर कम्युनिस्ट पार्टीको लक्ष्य पूरा गर्न सकिँदैन । यो समयमा कम्युनिस्ट पार्टीहरू अझ सचेत र चनाखो भएर लाग्नुपर्छ ।
नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा बहस गर्नु आवश्यक छ । माक्र्सवाद–लेनिनवादलाई नेपालको माटो सुहाउँदो कसरी उपयोग गर्ने, नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढाउने भन्नेबारे चिन्तनमनन गर्नु आवश्यक छ । सबै कम्युनिस्ट पार्टीको मार्ग निर्देशक माक्र्सवाद–लेनिनवाद हो भने त्यसलाई बुझ्ने र हेर्ने दृष्टिकोणमा कसरी फरक आयो ? सरकारमा पुगेका कम्युनिस्ट पार्टीले वर्गसङ्घर्षको बाटो किन लिएन ? कम्युनिस्ट पार्टीको मूल सिद्धान्त र विचारलाई ढाल बनाएर सिद्धान्त र विचार नै छोडी पुँजीवादी राजनीति गरेर देशमा कसरी आमूल परिवर्तन हुन्छ ? अतः देशका सबै कम्युनिस्ट पार्टीहरू आमूल परिवर्तनको निम्ति लागेमा कम्युनिस्ट पार्टीको छाप जनतामा पर्नेछ† जनताले पनि कम्युनिस्ट पार्टीलाई विश्वास गर्नेछन् ।
Leave a Reply