भर्खरै :

के विदेश पलायनले नेपाल समृद्धि होला ?

के विदेश पलायनले नेपाल समृद्धि होला ?

नेपाल सरकारले जनताको विश्वास जित्ने काम गर्न सकेको छैन । त्यसैले सरकारप्रति नेपाली जनताको विश्वास छैन । सरकारले नेपालमै स्वरोजगारको व्यवस्था गर्न सकेको छैन; हातमा सीप, कला र अनुभव भएका योग्य नागरिकलाई काम दिन सकेको छैन । स्वदेशमै योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गरिएको भए कुनै पनि नेपाली विदेश जान चाहँदैनन् या विदेश जान बाध्य हुँदैन । अहिले त युवा, विद्यार्थी मात्र होइन नर्स, डाक्टर, इन्जिनियर पनि विदेशमा जान तम्सिन्छन् । सरकारको कमजोरीले गर्दा नेपालीमा गलत सन्देश प्रवाह भइरहेको छ । हरेक जसोको मुखमा खालि विदेश जाने र कमाउने कुरा छ ।
देशको लागि जनशक्तिको ठुलो आवश्यकता हुन्छ । आवश्यक जनशक्ति नपुग्दै विदेश गयो या पठाइयो भने देशको लागि नोक्सान हुन्छ । देशमै आवश्यकताभन्दा बढी चिकित्सक, नर्स, वकिल, इन्जिनियर या अन्य प्राविधिकहरू भयो भने अन्य देशमा गएर सेवा गर्नु अर्को पाटो हो । तर, यहाँ नर्स र डाक्टरको अभाव छ; इन्जिनियर र अन्य दक्ष प्राविधिकहरूको अभाव छ भने उनीहरूलाई विदेश पठाउनु र विदेश जाने बाध्यता बनाउनु उचित होइन । स्वास्थ्य क्षेत्रमा देशमा जनशक्तिको अभाव छ । तर, नर्सहरू बेलायत पसे । पुस २७ गते प्रकाशित ‘कान्तिपुर’ दैनिकमा ‘बाहिरिँदै चिकित्सक : जति उत्पादन उति नै विदेशतिर’ शीर्षकको समाचार छापिया । समाचारमा नेपाल मेडिकल कान्उन्सिलबाट २०२३ मा २ हजार ३१८ जनाले विभिन्न देशमा जान प्रमाणपत्र लिएका छन्, जबकि सोही वर्ष एमबीबीएसको लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने सङ्ख्या २ हजार २ सय २२ मात्रै भएको उल्लेख छ । एक वर्षमा जति चिकित्सक उत्पादन हुन्छ, त्यतिकै हाराहारीमा विदेश जाने गरेको कुरा सत्य हो भने त्यो राम्रो कुरा होइन । समाचार स्रोतअनुसार सन् २०२३ मा ५०५ जनाले बेलायत जान र ८४३ जनाले अमेरिका जान प्रमाणपत्र लिए ।
यसरी नेपालका योग्य प्राविधिक या विज्ञहरू विदेश जान किन हतारिन्छन् या हौसिन्छन् ? के यो नेपालको राजनीतिक क्षेत्रमा देखिएको अस्थिरता, सरकारको अदूरदर्शिता र प्रशासनिक क्षेत्रमा भइरहेको पक्षपात, भेदभावको कारण होइन ? देशमा तयार भएका प्राविधिक जनशक्तिलाई आवश्यकताको आधारमा स्थानीय, प्रदेश र सङ्घमा खटाइएको भए विदेशमा जाने आशा कसरी पलाउँछ ? देश जाने लहर कसरी सिर्जना हुन्छ ? यहाँ तयार भएका चिकित्सक, नर्स र इन्जिनियरहरू धमाधम बाहिरिएपछि यहाँका स्वास्थ्य केन्द्र र अस्पताल व्यवस्थित ढङ्गले सञ्चालन होला ? विकास निर्माण कार्य समयमा होला ? स्वास्थ्य केन्द्र र अस्पतालमा आवश्यक जनशक्ति पुग्ला ? नयाँ नयाँ अस्पताल र जनस्वास्थ्य केन्द्र निर्माण गर्न आवश्यक जनशक्ति पुग्ला ? विद्यार्थी, युवा, नर्स, चिकित्सक, ठुलठुला उद्योगी, व्यापारी, व्यवसायी, इन्जिनियरलगायत अन्य योग्य र सक्षम प्राविधिहरू विदेश गए भोलि नेपालको हालत के होला ? नेपालले कसरी प्रगति गर्ला ? नेपाल कसरी आत्मनिर्भर होला ? यस विषयमा नेपाल सरकारको चासो र पहल खोइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *