भर्खरै :

बल्ल पालो आयो अरनिको सभाभवनको

बल्ल पालो आयो अरनिको सभाभवनको

वैशाख २१ गतेको दिन भक्तपुरको अति नै प्रतिक्षित अरनिको सभा भवनको शिलान्यास गरी भवन निर्माण कार्यको थालनी भयो । योभन्दा अगाडि कुनै किसिमको सभा सम्मेलन तथा नाटक आदि मञ्चन गर्नुप¥यो भने हामीलाई ठुलो सभाहलको लागि भक्तपुर बाहिर जानुपर्ने बाध्यता थियो । भएको एउटा सानो त्रिपुरसुन्दरी (जगन्नाथ एरिया) को सभा हल भूकम्पको कारण क्षतिग्रस्त छ । २०५६ सालतिर उक्त सभा भवनमा नगरसभा उद्घाटन गरेका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नयाँ सभा भवन निर्माण गर्नको लागि रु. एक करोडको बजेट दिने घोषणा गर्नुभएको थियो । तर उहाँको छोटो कार्यकालका कारण अरू सरकारले सो घोषणाको वास्ता गरेन । यसरी अलपत्र रहेको सभा भवन निर्माण कार्यले अब मूर्त रूप लिने भएको छ । सभा भवनको प्रारूप भक्तपुर नगरपालिकाकै इन्जिनियरिङ कलेजको टेक्निकल टीमले तयार पारेको थियो । प्रारूप निकै नै आकर्षक थियो र भक्तपुरलाई सुहाउने परम्परागत शैलीकै थियो ।
सभा भवनमा ११०० क्षमताको ठुलो हलका साथै १२८ र ९६ जना अटाउने बहुउद्देश्यीय र श्रव्यदृश्य कक्ष गरी तीन हलहरू हुनेछ । त्यसको अलावा १०६३ वर्गमिटर क्षमताको प्रदर्शनी कक्ष र ६०० जना अटाउने खुला नाट्यशाला पनि हुनेछन् । योबाहेक यसै परिसरभित्र छुट्टै आफ्नै प्रशासकीय भवन चमेना गृह, मनोरम बगैँचाको साथै भूमिगत पार्किङ स्थल (४६ गाडी र २३१ मोटरसाइकलको लागि) मुख्य भवनमा नै व्यवस्था गरिएको छ । यो मुख्य भवनले ३२०१ वर्गमिटर क्षेत्रफलको हुनेछ । भवन निर्माण सम्पन्न भइसकेपछि भक्तपुरको ठुलो आवश्यकता पूरा हुनेछ ।
परियोजनाको प्रकृति हेर्दा यो योजना बहुवर्षीय योजनाजस्तो लाग्छ । तर, परियोजना पूरा हुन ठ्याक्कै कति वर्ष लाग्ने हो उल्लेख गरिएको छैन । लामो समयपछि बन्न लागेको सभा भवन अब कति वर्षपछि बन्ने हो ? उपभोक्ता समितिमार्फत निर्माण हुने भए पनि परियोजनाको सुरु र अन्त्यको जानकारी दिन नगरपालिकाको ध्यानाकर्षण गराउँदछु । उक्त सूचना पाटीमा यो परियोजनाको लागत इस्टिमेट कति लाग्ने हो कुनै जानकारी दिएको छैन । सुन्नमा आएअनुसार परियोजना सम्पन्न गर्न करिब १ अर्ब खर्च लाग्नेछ । यो सत्य पनि हुनसक्छ तर यी सबै कुराको निश्चित नभई निर्माण सुरु हुनुले अरुलाई शङ्का गर्ने ठाउँ हुन्छ । आशा छ, यस्ता कुराहरूमा नगरपालिकाले ध्यान दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *