भर्खरै :

कोरिया मुक्तिको ५० औँ दिवस तथा राष्ट्रिय पुनःएकीकरणको भव्य महोत्सव–३

कोरिया मुक्तिको ५० औँ दिवस तथा राष्ट्रिय पुनःएकीकरणको भव्य महोत्सव–३

चौथो भ्रमण
२३ साउन – २ भदौ, २०५२ (Aug 8 – 18, 1995)

भव्य राष्ट्रिय पुनःएकीकरण अभियान
५ः३० बजे अतिथि सदनबाट विजयद्वार पुग्यौँ । दक्षिण कोरिया, जापान, क्यानाडा, संरा अमेरिका, चीन, रुस आदि समुद्रपार वा प्रवासमा रहेका कोरियाली सङ्गठनहरूका प्रतिनिधिहरू एवं भारत, श्रीलङ्का, लावस, मङ्गोलिया, माल्टा, फ्रान्स, स्पेन, इटाली, हल्यान्ड, बुरुन्डी, स्वीट्जरल्यान्ड र अस्ट्रेलिया आदि देशका कोरियामैत्री सङ्घ एवं कोरिया पुनः एकीकरण सहयोग समितिका प्रतिनिधिहरू उपस्थित थिए । दक्षिण कोरियाका युवा लीग, जापान र अन्य देशका कोरियाली टोलीहरूले आ–आफ्नो बाजागाजासमेत लिएर आएका थिए । उत्तर कोरियाका पुनः एकीकरण समितिका पदाधिकारीहरू र अन्य युवा, विद्यार्थी तथा कारखानाका टोलीहरू आ–आफ्नो ध्वजापताकासहित उपस्थित थिए ।
बैन्ड बाजा बजाएका युवा टोलीहरू, जापान र दक्षिणमा रहेका कोरियाली युवा र नाचगान टोलीहरू, विभिन्न देशका प्रतिनिधिहरू र अन्य सबै टोलीहरूको मार्च (यात्रा) ६ बजे सुरु भयो । सडकको दायाँ बायाँ हजारौँ हजार सङ्ख्यामा उपस्थित भई फूलको गुच्छा र पुनःएकीकरण सम्बन्धी नारा लेखिएका झन्डाहरू हल्लाउँदै ‘कोरिया एक हो’, ‘पितृभूमिलाई एक गरौँ’ भन्ने नारा लगाइरहेका थिए । पुरै एक घण्टाको मार्च (यात्रा) मा सडकका बिचमा स्कूलका बैन्ड बाजा बजाउँदै गरेका छात्रछात्राहरूको टोलीहरू कोरिया एकीकरणको उत्सव मनाइरहेका थिए । केटाकेटीदेखि बुढाबुढीसम्मको मुख पुनःएकीकरणको आशाले उज्यालो थियो । युवाहरूमा ठुलो उत्साह र जोश थियो । एक डेढ घण्टाको यात्रामा सडकका दुबैतिर लाखौँ लाख कोरियाली जनताले अभिवादन गर्दै थिए ।
कोरियाली राष्ट्रपिता किम इल सङको ठुलो सालिक भएको मानसुडे पहाडमा गएर मार्च एक जनसभामा परिणत भयो । का. किम इल सङको सालिकमा विभिन्न देशका प्रतिनिधिमण्डलका सदस्य र टोलीहरूले फूलको टोकरी र फूलको गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरे ।
कोरियाको राष्ट्रिय धुनबाट सभा सुरु भयो । भव्य राष्ट्रिय पुनःएकीकरण महोत्सव तयारीका अध्यक्ष, दक्षिण कोरियाली प्रतिनिधि, जापानमा बस्ने कोरियाली टोली तथा अन्तर्राष्ट्रिय पुनःएकीकरणको तर्फबाट फ्रान्सका का. गुए दुप्रेले क्रमशः बोल्नुभयो । अन्तमा एक प्रस्ताव प्रस्तुत भयो र सभाले ताली बजाएर त्यसलाई पारित पनि गर्यो ।
मार्च (यात्रा) को बिचमा सिमसिमे पानी पर्दै थियो – फूल बर्सेजस्तै सगुनको ! अन्तमा, एकछिन राम्रै पानी प¥यो – निथ्रुक्क भिज्ने गरी । सभा भइरहँदा पनि बिचबिचमा पानी पर्दै थियो । कागज भिज्ने डरले वक्ता र पत्रकार तथा तस्बिर खिच्नेहरूले मात्रै छाता प्रयोग गरेका थिए । कोरियाको पुनः एकीकरणप्रतिको दृढता, जोश, जागरण र उत्साह उल्लेखनीय थियो ।
‘क्रान्तिको पवित्र स्थल : पेक्डू’ (२८ साउन, ०५२/13 Aug, 1995)
यो भावनालाई १९९२ फेब्रुअरी १६ को दिन कोरियाका महान् नेता का. किम इल सङले भन्नुभएको थियो ।
कार्यक्रमअनुसार बिहान ६ बजे नै हामी अतिथि सदनको आँगनमा भेला भयौँ र बसबाट सबै विदेशी प्रतिनिधिमण्डलका साथीहरू प्योङयाङ विमानस्थल पुग्यौँ । ७ः४५ बजे विमान पेक्डूको निम्ति उड्यो ।
चोसोमिनहान कोरियाली हवाई सेवाको विमान अस्ति पेचिङबाट आएकै जति ठुलो थियो – उडान नं. ५५२ र स्थान नं. ५ ख (5B) मा बसेँ । विमान परिचारिकाले सबैलाई स्वागत गर्दै भनिन्, “उडान समय ५० मिनेटको हुनेछ, दूरी ५०० कि.मि. र ७५०० मिटर उचाइमा विमान उड्नेछ ।”
पेक्डू हवाई मैदान हेर्दा म छक्क परेँ । जाडोमा हिउँ पर्ने पहाडी भागको रूपमा मात्रै सम्झेको पेक्डू वास्तवमा हाम्रो नेपालको दाङ उपत्यका भन्दा ठुलो रहेछ । विमानबाट हेर्दा कोणधारी रुखहरूको जङ्गलको विशाल फाँट देखिन्थ्यो ।
पेक्डू पहाड कोरियाको उत्तरी सीमानिर अवस्थित छ । कोरियाका ५ प्रख्यात पहाडमध्येको पेक्डू पहाड समुद्री सतहबाट २७५० मिटर उचाइमा अवस्थित छ ।
यस क्षेत्रमा ज्वालामुखी विस्फोटका चिह्न अहिले पनि भेटिन्छ । मानव इतिहासको सुरुमा भएको ज्वालामुखी विस्फोटबाट बनेको खाल्डोमा पानी भरिएर आजको चोन ताल बनेको छ । यहाँको वार्षिक सरदर तापक्रम ८.३ डि.से. छ ।
हवाई मैदानदेखि पेक्डू ताल जाने सडकसम्म स्वागत गर्न जनता र युवाहरू लाममा खडा थिए । स्वागत गर्ने शैली झन्डै प्योङयोङकै जस्तो थियो । सबैको मुखमा ‘कोरिया एक हो’ र ‘पितृभूमिलाई पुनः एकीकरण गरौँ’ भन्ने नारा थियो । अन्य विदेशी मित्रहरूभन्दा म अलि होचो थिएँ र म विमानबाट अलि पछि नै निस्केँ । मलाई धेरैले देखेनन् । मैले सेतो घाम छेक्ने निधारे टोपी लगाएको थिएँ, ‘भव्य राष्ट्रिय पुनःएकीकरण महोत्सव’ भन्ने लेखिएको टीसर्ट (गञ्जी) र खेलाडीहरूको कपडाको जुत्ता लगाएको थिएँ । अचानक तीन चार जना युवाहरू मेरो अगाडि आए । एकजना युवाले ‘कोरिया एक हो’ भन्दै फूलको गुच्छा हातमा ठम्यायो र अरु तीन जनाले मलाई हात र काँधमा बोकी हाले ‘पालँमालुँ द्यो’ गर्दै । नारा लगाउँदै मलाई भव्य राष्ट्रिय पुनःएकीकरण पदयात्राको सबभन्दा अगाडि लगे । मलाई के गरौँ के गरौँ भयो, मनमा खुसी र लाज दुवै थियो । पेक्डूका कोरियाली जनतासँगै मिलेर मैले पनि ‘कोरिया एक हो’ भन्ने नारा लगाउँदै हात हल्लाउँदै मैत्रीपूर्ण कोरियाली भाइबहिनीहरूलाई अभिवादन गर्दै अगाडि बढेँ ।
लहरी (ट्रक), बस र कारहरू तयार थिए । झन्डै एक घण्टाको बसको यात्रापछि प्रसिद्ध पेक्डू तालको पहाडमा पुग्यौँ । पेक्डू तालको दर्शन गर्यौँ – अस्ट्रेलियाली समाजवादी पार्टीको भूतपूर्व सभापति ज्याक मिल फिलिपसँग । उहाँ अहिले ८५ वर्षको हुनुहुन्छ । उहाँ अहिले अस्ट्रेलियाको कोरियाली मैत्री तथा सांस्कृतिक सङ्घको सचिव हुनुहुन्छ ।
९ः३० बजेतिर एक सभा सुरु भयो । सभामा विभिन्न देशबाट आएका कोरियाली प्रतिनिधिहरू र विदेशी प्रतिनिधिहरूमध्ये भारतको मैत्री सङ्घको अध्यक्ष र सिक्किम राज्यको गभर्नर शिव शङ्करले एकीकरणबारे बोल्नुभयो । उहाँ भारतको काङ्ग्रेस (आई) का एक केन्द्रीय नेता र भूतपूर्व केन्द्रीय मन्त्री हुनुहुन्छ । सभापछि मार्च सुरु भयो । विस्तारै बाजागाजाका साथ झन्डै १ घण्टापछि पहाडको फेदीमा पुग्याँै । नागबेली बाटोमा यात्रा अति राम्रो देखिन्थ्यो – ध्वजापताका साथ ।
एकछिन कोरियाली परम्परागत नाचगान सुरु भयो । त्यो हेर्दा मलाई भक्तपुरको नाचगानको सम्झना भयो ।
मोटरबाट आधा घण्टा आइसकेपछि स–साना पहेँलो, हरियो र विभिन्न किसिमका फूलहरूको मैदानमा सबै जम्मा भए । १२ बज्यो । वनभोज र नाचगान भयो । ३ बजिसकेपछि हामी जापानविरोधी सङ्घर्षको बेला का. किम इल सङले गुप्त प्रधान कार्यालय बनाउनुभएको ठाउँ र का. किम जोङ इलको जन्म भएको ठाउँ हेर्न गयौँ । अहिले ती क्याम्पहरूलाई ऐतिहासिक स्मारक (मोनुमेन्ट) को रूपमा राखिएको छ । बैठक कोठा, अध्ययन र हातहतियार राख्ने, भान्छा, पानी राख्ने ठाउँ आदि राम्रोसँग राखिएको छ । त्यसबेलाको सम्झना हुने ठुलठुला तस्बिरहरू र शिलापत्रजस्ता लेखोटहरू लेखिएका छन् । त्यहाँ काम गर्ने महिला सिपाहीले भनिन्, प्रिय नेता का. किम जोङ इलको जन्म हुँदा जीवन सा¥है कठोर थियो, खानेकुराको कमी थियो, लुगाको नाउँमा सेनाको कम्बल (ब्लैकेट) जस्तो मात्रै लुगा थियो । तर, उहाँको आमा (काङ वान सोक) ले मायाको न्यानोमा हुर्काउनुभयो ।
त्यहाँबाट हामी पेक्डूको ऐतिहासिक स्मारककै रूपमा राखिएको ठुलो चोकमा पुग्यौँ । क्रान्तिको बेला (जापानविरोधी युद्धताका) का. किम इल सङले सेनालाई दिनुभएको निर्देशन, जनसेना, जनता उत्तेजित भएर उहाँहरूलाई स्वागत गर्न आएको तथा मञ्चुरीयाबाट आएका कोरियाली क्रान्तिकारीहरूले आफ्नो मातृभूमि पहिलोचोटि टेक्दा त्यहाँको माटोलाई हातमा लिएर माया गरेका आदि मार्मिक दृश्यको ठुलठुला चित्र–मूर्तिहरू कुँडिएका छन् । जिउँदाजाग्दा चित्रले त्यसबेलाको स्थिति कस्तो थियो भनी अनुमान गर्न सकिने परिस्थिति प्रस्तुत गर्छ ।
६ः३० बजे हामी पेक्डू हवाई अड्डा पुग्यौँ । बाटामा हरेक बस्ती, कोरियाली नरनारी र स्कूलका स–साना नानीहरूले फूलको गुच्छा र स–साना पताका हातमा लिँदै ‘कोरिया एक हो’ को नारा लगाउँदै थिए र अभिवादन गर्दै थिए । ७ बजे हवाई अड्डामा पनि त्यस्तै बिदाइ गर्न नर–नारीहरू उपस्थित थिए । उडान नं. ५५२ को विमान उड्यो । विमान ८ बजे प्योङयोङ हवाई अड्डामा ओल्र्यो ।

पेक्डू पर्वतको बिचमा अवस्थित चोन ताल

मित्रता पदक, दोस्रो दर्जा
सोही दिन पेक्डूको पदयात्राबाट बेलुकी ८ः४५ मा अतिथि सदन पुग्यौँ । अतिथि सदनमा एकछिन आराम गरिसकेपछि हामी केही विदेशी मित्रहरू कोरियाको संसद् भवनमा लगियौँ । ९ बजेको थियो । त्यस भवनको दोस्रो तलाको एक बैठकमा भित्रियौँ । पदक प्रदानको साधारण समारोह सुरु भयो । प्रजग कोरियाका उपराष्ट्रपति लि जङ ओक (Li Jong Ok) ले सुप्रिम कमान्डर जेनेरल किम जोङ इलको तर्फबाट मलाई दोस्रो दर्जाको मित्रता पदक प्रदान गर्नुभयो । उपराष्ट्रपति लि जङ ओकले २–३ पटक नेपालको भ्रमण गर्नुभएको थियो । मेरो पहिलेको कोरिया भ्रमणमा पनि उहाँसँग भेटघाट भएको थियो । पदक पाउनेहरूमा माल्टा, अस्ट्रेलिया, श्रीलङ्का, रुसको भूतपूर्व आई.जी.पी. रासेनको (का. किम इल सङसँग पहिले युद्धमा काम गर्नुभएको) आदि देशका साथीहरू हुनुहुन्थ्यो । उपराष्ट्रपति लि जङ ओक र अन्य कोरियाली मित्रहरूलाई धन्यवाद दिँदै हामी अतिथि सदन फक्र्यौँ ।
कोरियाको पुनःएकीकरणको समर्थनमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता (२९ साउन, ०५२/14 Aug, 1995)
बिहान ८.३० बजे जनसांस्कृतिक भवनमा कोरियाको पुनःएकीकरणको समर्थनमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता समिति CILRECO अर्थात् International Liaison Committee for Korea’s Reunification ले बैठक बोलाएको थियो । त्यसमा बेल्जियम, स्वीडेन, बुरुन्डी, जापान, इटाली, रुस, स्वीजरलायन्ड, माल्टा, अस्ट्रेलिया, डेनमार्क, भारत, श्रीलङ्का, मङ्गोलिया, लावसबाहेक नेपाल र कोरियाका प्रतिनिधिहरूले भाग लिएका थिए ।
अध्यक्षमण्डलका अध्यक्ष पुर्तगालका भूतपूर्व राष्ट्रपति फ्रान्सिस्को दा कास्टो कोमेस हुनुहुन्थ्यो । अध्यक्षमण्डलमा कोरियाली मजदुर पार्टीका सचिव का. ह्वाङ र अन्य कामरेडहरू हुनुहुन्थ्यो । बैठक का. किम इल सङको सम्झना र श्रद्धाञ्जलीको निम्ति एक मिनेट मौनधारण गरेर सुरु गरिएको थियो । का. ह्वाङले बैठकको उद्घाटन गर्नुभयो । CILRECO का सचिव का. गुए दुप्रेले पुनः एकीकरणको स्थितिको एक रिपोर्ट पेस गर्नुभयो । का. रि शे हो (कोरिया) ले त्यसबारे थप रिपोर्ट पेस गर्नुभयो ।
दोस्रो चरणको बैठकमा जापान–कोरिया मैत्री सङ्घका उपाध्यक्ष वाका वायोसि हिरोसिले एक सारगर्भित भाषण दिनुभयो । इटालीको समाजवादी आन्दोलनका रोबर्टो गालरियाल, डेनमार्कका क्रिसेन्टीन, भारतका मन्त्री, बुरुण्डीका उजीबीना, रुसका भ्लादिमर कोन्हिन्को, अस्ट्रेलियाका ज्याक मिल्मिब आदिले बोल्नुभयो । माल्टाका प्रतिनिधिले धन्यवाद ज्ञापन गर्नुभयो र CILRECO का उपाध्यक्ष पोलियोपीनले संसारका शान्तिप्रिय जनताको निम्ति एक अपिल पढेर सुनाउनुभयो ।
पुनःएकीकरणको समर्थन, कोरियाको परिस्थितिको नयाँ विकास, नयाँ कार्यक्रमहरू, कोरियाको महासङ्घ, संरा अमेरिकामाथि दबाब बढाउनुपर्ने आदि निर्णय गरी बैठक समापनको घोषणा गरियो । बैठक सिधिँदा १ः३० बजेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *