सिंहावलोकन राजनीतिमा एक शिक्षा हो
- असार १४, २०८३
भक्तपुर, ४ माघ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङमा स्नातकमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले नेपालजत्तिकै भूगोल र जनसङ्ख्या भएको प्रजग कोरियामा पच्चीस वर्षअगाडि नै लाखाँै इन्जिनियर रहेको, त्यसबेला नेपालमा ५–७ हजार इन्जिनियर नभएको र सन् २०१७ को अभिलेखअनुसार नेपालमा १७ हजार इन्जिनियर रहेकोमा त्यसमध्ये २,६४५ जना महिला इन्जिनियर रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एउटा देशको विकास गर्न राजनीतिको नेतृत्व, अर्थशास्त्रको बजेट, प्राविधिकहरूको निर्माण जरूरी हुन्छ । नेपाल मजदुर किसान पार्टीको घोषणापत्र – २०५४ अनुसार २०५६ सालमा ख्वप मावि र २०५८ सालमा ख्वप इन्जिनियरिङ कलेज सुरू भएको हो । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप कलेजहरूले देशका विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गर्दै आएको छ ।”
सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिपछि नेता लेनिनले क्रान्तिको अर्थ बिजुली उत्पादन बताउनुभएको स्मरण गर्दै उहाँले भन्नुभयो, “अहिले संसारमा बिजुलीबिना जीवनको कल्पना गर्न सकिँदैन । नेपालमा सरकारमा गएका पार्टीहरूले नदीनाला र बिजुली भारतलाई दिँदै छन् । सरकारहरूले कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरूण तेस्रो, तल्लो अरूण, अरूण तेस्रो, अरूण चौथो, मुगु–कर्णाली, तिला १, तिला २, पश्चिम सेती, सेती १, पञ्चेश्वर, कर्णाली चिसापानी, फुकोट कर्णाली भारतलाई दिइसके ।”
सांसद सुवालले भन्नुभयो, “तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीलाई तल्लो अरूण दिएका थिए । गएको जेठमा भारत गएका प्रधानमन्त्री पुष्पकमल दाहालले फुकोट कर्णाली भारतलाई दिए । पुस १६ गते नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशङ्करले प्रधानमन्त्री दाहाललाई १० वर्षमा १० हजार मेगावाट बिजुली भारत लैजाने र भारतीय दूतावासबाट सोझै २० करोड रूपैयाँ खर्च गर्न पाउने सम्झौतामा सही गराए ।”
भारतीय दूतहरू नेपाल आउँदा यहाँका राष्ट्रपति, प्रधानमन्त्री र शासक दलका नेताहरू भेटघाट गर्छन् तर नेपाली भूमि कालापानीमा भारतीय सेना बसेको, नेपाली भूमि भारतमा पर्ने गरी सीमा नक्सा बनाइएको, खुला सीमानामा नेपालीमाथि भारतीय ज्यादतीबारे बोल्न सक्दैनन् । नेपाली भूमिमा भारतीय अतिक्रमणको विरोध गरेका कञ्चनपुरका गोविन्द गौतमको भारतीय एसबीबीबाट हत्या गरियो । भारतीय सुरक्षाकर्मीले हतियारसहित काठमाडौँको बानेश्वर पुगेर खानतलासी गरेका थिए” उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपालीलाई बाल्न, खाना पकाउन, कृषि, शिक्षा, उद्योग, यातायात, रेलवे चलाउन पर्याप्त बिजुली नहुँदै भारतलाई बिजुली दिनु हुँदैन । नेपालका प्रधानमन्त्री आफ्नै नदीनालाबाट बिजुली निकाल्नसमेत भारतदेखि डराउँछन् ।”
उहाँले भन्नुभयो, “६ महिनाको कुल आयात ७ खर्ब ९२ अर्ब ९६ करोड भयो भने निर्यात ८० अर्ब ८१ करोड मात्र भयो । व्यापारघाटा ६ खर्ब ९३ अर्ब २० करोड भयो ।”
आयात भएका १० थरी वस्तुहरूमध्ये डिजेल ६६ अर्ब ४९ करोडको, पेट्रोल ३३ अर्ब ९२ करोडको, एलपी ग्यास २५ अर्ब ४६ करोडको, एचआरसिट (जस्तापाता) २२ अर्ब ३६ करोडको, शुद्ध फलाम १९ अर्ब ३६ करोडको, मोबाइल फोन १५ अर्ब ६७ करोडको, तयारी कपडा १८ अर्ब ७४ करोडको, एलोपेथिक औषधी (आधुनिक औषधी) १३ अर्ब ७२ करोडको, विद्युतीय गाडी १३ अर्ब १२ करोडको र सुन ११ अर्ब ८९ करोडको रहेको उहाँले जानकारी दिनुभयो ।
सांसद सुवालले भन्नुभयो, “सरकारहरूले नदीनाला भारतलाई नदिई आफैँले बिजुली उत्पादन गरेको भए ६ महिनामा खर्बौँ रुपैयाँको डिजेल, पेट्रोल, एलपी ग्यास आयात गर्नुपर्ने थिएन । नेपालको कपास खेतीलाई विकास गरेको भए २५ अर्बको कपडा आयात गर्नुपर्ने थिएन । नयाँ पुस्ताका विद्यार्थीहरूले नेपालको यो परनिर्भर तस्बिरलाई बदल्ने र आत्मनिर्भर बनाउने जिम्मेवारी लिनु जरूरी छ ।”
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्राविधिक क्षेत्रमा अगाडि बढेको देश नै संसारमा आर्थिक र भौतिक विकासमा पनि अगाडि बढिरहेको प्रस्ट पार्दै राम्रा राम्रा प्राविधिकहरू देश विकासको एक महत्वपूर्ण आधार भएको बताउनुभयो ।
देशमा उत्पादित बौद्धिक जनशक्ति बिदेशिने क्रम बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा समेत बारम्बार बन्द, हडताल र तोडफोड, आगजनीजस्ता अराजनैतिक गतिविधि हुँदा राम्रो अध्ययन गर्ने विद्यार्थीहरू घर खेत बेचेरै भए पनि विदेश पढ्न जान बाध्य पारिरहेको बताउनुभयो ।
सरकारले नीतिगतरूपमा युवा विद्यार्थीहरूलाई विदेश पठाइरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले देशमा उत्पादित जनशक्तिले देशकै लागि समर्पित भावले काम गरे देशको विकास छिटो र दिगो हुने बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नयाँ पुस्ता राजनैतिकरूपमा प्रशिक्षित भए देशलाई सही नेतृत्व प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।
सांसद गोसाईले नेपालबाट तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलाबाट ख्याति कमाएका नेपाली वास्तुकार अरनिकोबाट पनि इन्जिनियरिङ अध्ययन गर्ने नयाँ पुस्ताले सिक्न जरूरी रहेको बताउनुभयो ।
शासक दलले राजनीतिलाई सेवा कर्मको रूपमा नभई कमाइ खाने भाँडोको रूपमा विकास गरेकै कारण नयाँ पुस्ताको राजनीतिप्रति आकर्षण कम हुँदै गइरहेको उहाँले बताउनुभयो ।
नेपालमा दैनिक ७ जनाको हाराहारीमा सडक दुर्घटनाबाट ज्यान गुमाइरहेको तथ्याङ्क रहेको उल्लेख गर्दै उहाँले कमजोर इन्जिनियरिङ अध्ययनकै कारण नागरिकहरूले अकालमा सडक दुर्घटनाबाट ज्यान गुमाइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, सभ्य र सुसंस्कृत नगरको रूपमा विकास गर्ने उद्देश्यअनुसार काम गर्दै आइरहेको बताउनुभयो ।
नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूबाट योग्य र दक्ष जनशक्ति उत्पादन भई देशकै सबै क्षेत्रहरूमा उल्लेखनीय योगदान पु¥याइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नवआगन्तुक विद्यार्थीहरूलाई ख्वप परिवारमा स्वागत गर्दै अध्ययन सफलताको शुभकामनाका साथ मार्गनिर्देश गर्नुभयो ।
Leave a Reply