सिंहावलोकन राजनीतिमा एक शिक्षा हो
- असार १४, २०८३
सरकारले संरचना निर्माणमा भूकम्पीय क्षति कम हुने मापदण्ड पालना गर्नु गराउनु जरुरी छ र देशभरि नै नयाँ पुस्ताका डकर्मी सिकर्मीहरूलाई भूकम्पीय जोखिम कम गर्ने प्रविधिबारे तालिम दिनु आवश्यक छ ।
सरकारले ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ भन्नुभन्दा ‘भूकम्पीय जोखिम कम गर्ने प्रविधिसम्बन्धी शिक्षा दिने दिवस’ भन्नु उपयुक्त होला । भूकम्प विषय भूगर्भशास्त्रसँग पनि सम्बन्धित हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आवास क्षेत्र विकास गराउनुअघि भूगर्भ के कस्तो छ सबै अध्ययन गर्ने गराउने काम गर्नुपर्नेमा त्यसो नगरी जताततै निजी प्लटिङ गर्न दिएको गलत छ । यसकारण, काठमाडौँ उपत्यका विकास प्राधिकरणको नाम ‘निजी प्लटिङ विकास प्राधिकरण’ राख्नु पर्ने त होइन भन्ने प्रश्न उठिरहेको छ ।
भूकम्पीय जोखिम कम गर्ने हाम्रो पुर्खाको प्रविधिको नमुना यहाँको पाँच तलाको मन्दिर हो । यो मन्दिर निर्माण भएको ३०० वर्ष नाघ्यो, वि.सं. १९९०, २०४५ र २०७२ को भूकम्पमा समेत यो मन्दिरमा आंशिकमात्र क्षति भयो । परम्परागत निर्माण सामग्री काठलाई भूकम्पीय जोखिम कम हुने गरी प्रयोग गर्न मिल्ने यहाँको पाँच तलाको मन्दिरले पुष्टि ग¥यो ।
पहिला हरियो वन नेपालको धन थियो । घर भवन निर्माणको लागि पर्याप्त काठ उपलब्ध हुन्थ्यो । अहिले हरियो वन तस्करको धन बनाई काठ सखाप पारिएको हुँदा नेपालमा संरचना निर्माणको लागि काठको अभाव भयो ।
आधुनिक निर्माण सामग्री डन्डी, सिमेन्ट, गिट्टी, बालुवा हुन् । डन्डी र सिमेन्टको लागि आवश्यक सबै कच्चा पदार्थ नेपालमा उपलब्ध छैन ।
२०७२ सालको भूकम्पबाट क्षति भएको भक्तपुर लाय्कूको चित्रकला सङ्ग्रहालय सरकारी कार्यालय रहेको सिंहध्वाका भवन मल्लकालीन हो । यो भवनको पूर्वतर्फको आधा भाग वि.सं. १९९० सालको भूकम्पबाट क्षति भएपछि राणाकालीन शैलीमा निर्माण गरिएको हो । २०७२ सालको विनाशकारी भूकम्प राणाकालीन शैलीको आधा भागमा क्षति भयो ।
अर्को विनाशकारी भूकम्प आएमा टेको अड्याइएको यो सङ्ग्रहालय भत्किने र यहाँ आउने आन्तरिक एवम् बाह्य पर्यटकलगायत स्थानीय जनताको धेरै ज्यान गुम्ने सम्भावना छ । यसकारण, चित्रकला सङ्ग्रहालय भएको सिंहध्वाका दरबार मल्लकालीन शैलीमा अविलम्ब जिर्णोद्धार गर्ने गराउने काम सरकारले गर्नु जरुरी छ ।
अहिले काठमाडौँ उपत्यकामा जनसङ्ख्या केन्द्रित गरिएको हुँदा एकातिर देशको सन्तुलित विकास हुन सकेन भने अर्कोतिर जमिनमुनिको पानी तान्ने बढ्यो । पानीको पुनःभरण नहुँदा जमिनमुनि खोक्रो हुने र भूकम्प जाने जोखिम बढ्दो छ । काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी खुवाउने भनी प्रधानमन्त्रीहरू आठपटक धारा खोलेर उद्घाटनमा लागे । माघ १ गते पनि प्रम पुष्पकमल दाहालले मेलम्चीबाट आएको पानीको धारा खोलेर उद्घाटन गरेको समाचार छ । मेलम्ची खानेपानीको स्रोत हेलम्बुको भूगर्भ कमजोर छ । पानी काठमाडौँ ल्याउन एसियाली विकास बैङ्कको ऋण ६० अर्ब रुपियाँ खर्च गरियो, मेलम्चीको पानी अभैm वर्षभरि काठमाडौँमा आउने अवस्था छैन ।
काठमाडौँ उपत्यकामा जनघनत्व बढाइएको हुँदा अर्को विनाशकारी भूकम्प आए धेरै जनधनको क्षति हुने सम्भावना छ । यसबारे सरकारहरू अहिले नै सचेत हुनु जरुरी छ । प्रधानमन्त्री र मन्त्री हुने भनेको झन्डावाल गाडीमा सिंहदरबार भित्र बाहिर गर्ने होइन, युवालाई राहदानी भिराएर वैदेशिक रोजगारीमा पठाउने होइन । सरकारले गत वर्षमात्रै २,३१८ जना चिकित्सकलाई ‘असल चरित्र प्रमाणपत्र’ दिएर वैदेशिक रोजगारीमा पठायो । के अब नेपाली विनाउपचार मर्ने दिन आउँदै छ ?
एक सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भएको बताएको समाचार प्रकाशित भएको थियो । प्रम कार्यालय भएको सिंहदरबार भ्रष्टाचारको अखडा भए बाँकी प्रशासनिक निकायमा सुशासन कसरी कायम हुन्छ ? परराष्ट्र मन्त्रीले अर्थ कूटनीतिमार्फत विदेशीको प्रविधि ल्याउनुपर्नेमा नेपालीलाई दैनिक ७ हजार राहदानी दिएर वैदेशिक रोजगारीमा पठाउनु गलत हो ।
नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नै भएन । एमसीसी सम्झौता संसद्बाट पारित हुनुअघि शासक दलका कतिपय नेताहरूले विरोध गरेका थिए । तर, संसद्मा पेस हुँदा थप्पडी बजाएर पारित गरे । यसरी शासक दलहरूबाट जनतालाई धोका भइरहेको छ । अमेरिकी कानुन र नीति पालना गर्नु एमसीसी सम्झौता र एसपीपी साझेदारीअनुसार अमेरिकी सैन्य कमान्डरको पछि पछि नेपाली सेना र प्रहरी लाग्नुपर्ने हुन्छ । यसकारण, एमसीसी र एसपीपी साझेदारी खारेज गर्नु आवश्यक छ । सित्तैमा आउने विष खान नहुने भनेजस्तै एमसीसीको वार्षिक १० अर्ब रूपैयाँ अनुदान लिनुहुँदैन । नेपालकै कर प्रशासनलाई मजबुत बनाइए खर्बौँ खर्ब रूपैयाँ राजस्व उठ्नेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले माघीको अवसरमा संसद्मा भएका राजनीतिक दलका प्रतिनिधिहरूलाई आफ्नो निवासमा निम्ता दिए र आफूसँग भेटेका विदेशी पाहुना र राजदूतहरूले नेपालको संविधानमा तल्लोवर्गलाई सम्बोधन गरिएको एसियाकै बेजोड भएको भनी प्रशंसा गरेको उल्लेख गर्नुभयो ।
हामीले तल्लोवर्ग अध्ययन गर्ने देशभरिका अधिकांश सामुदायिक विद्यालयहरूको गुणस्तर खस्किएको, युवालाई देशभित्र काम नदिई सरकारले वैदेशिक रोजगारीमा पठाएको देश हितमा नभएको उल्लेख गर्दै चिकित्सकसमेत हजारौँलाई वैदेशिक रोजगारीमा पठाएको र नेपाल विद्युत् प्राधिकरणको शेयर ६० अर्ब रूपैयाँ बराबरको बिक्री गर्ने निर्णय पनि प्राधिकरणलाई निजीकरण गर्ने तयारी भएको विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गरायौँ ।
वर्तमान संसद्बाट निर्वाचित राष्ट्रपति पौडेलले यो संसद्को अनुमति नभएको नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा हाम्रो विरोध यथावत छ । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकमा जन्मको आधारमा विदेशीले नेपाली नागरिकता पाएकोलाई समर्थन गरी तिनका छोराछोरीलाई जन्मको आधारमा नेपाली नागरिकता दिने उल्लेख गरिएको देशघाती नै हो । यो व्यवस्थालाई नेमकिपाले सुरुदेखि विरोध गर्दै आएको हो ।
भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गरी चिकित्सा शिक्षा (एमबीबीएस) समेत १०–१५ लाखमा पढाउने तयारी गरे पनि सरकारहरू ख्वप विश्वविद्यालयको विधेयक पारित गर्न तयार भएनन् । यसले संविधान तल्लोवर्गको पक्षमा कार्यान्वयन नभएको पुष्टि हुन्छ ।
भूकम्पीय जोखिम न्यूनीकरण प्रविधिसम्बन्धी जानकारी दिने प्रदर्शनीसहितको कार्यक्रम गर्ने भक्तपुर नगरपालिकाअन्तर्गतका ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेज परिवारलाई धन्यवाद दिन चाहन्छु ।
(भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मङ्गलबार भक्तपुरको दत्तात्रयमा भएको जनचेतनामूलक शैक्षिक प्रदर्शनी कार्यक्रममा व्यक्त नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालको मन्तव्य –सं.)
Leave a Reply