भर्खरै :

पेचिङतिर – ४

पेचिङतिर – ४

पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)

स्वास्थ्य निवासमा रोगीहरूलाई साधारणतया ५ भागमा विभाजित गरिएको छ । पहिलो प्रकारका रोगीहरू हिँड्डुल गर्न नहुने हुन्छन् । दोस्रो ग्रेडका रोगीहरू पहिलो ग्रेडको भन्दा बसउठ गर्नसक्ने हुन्छन् । पहिलो ग्रेडकाहरू नर्स र डाक्टरहरूको विशेष रेखदेखमा हुन्छन् । तेस्रो ग्रेडका रोगीहरूले हलुका कसरत र हिंडडुल गर्नसम्म सक्छन् । चौथा ग्रेडका रोगीले बिहान र बेलुकाको कसरत, खेलमा पिङपङ र ‘साँपु’ (पैदल डुल्न जाने) सम्मका कार्यकलापमा भाग लिन सक्छन् । पाँचौँ ग्रेडका लागि बास्केटबल र भलिबलजस्ता खेलहरू पनि खेल्न दिइन्छ । पाँचौँ ग्रेड भन्नुको अर्थ हो निको भएको । हरेक ग्रेडलाई उपचार र आराम भिन्नाभिन्नै हुन्छ । जति कम ग्रेडको हुन्छ उति बढी आराम गराउँछ र डाक्टर नर्सको रेखदेख हुन्छ । साधारणतया रोगीहरू बिहान ६ बजे उठ्छन् र बेलुका ९ बजे सुत्छन् । दिउँसो १ देखि ३ बजेसम्म पनि सुत्छन् । बिहान ८ र १२ र बेलुकी ४ र ६ बजे गरेर चार चोटि खाना खान्छन् । बिहान चिया र दूध, रोटी, फुल, १२ बजे भात, धेरै प्रकारका माछा, मासु, फलफुल, दही, ४ बजे दूध, फुल र फलफुल, राति ६ बजे भात, माछा, मासु, दही, फलफुल आदि हुन्छ । फलफुलमा खास गरेर स्याउ, सुन्तला, नासपाती, अङ्गुर इत्यादि र मासुमा खास गरेर चरा, बनेल, माछा आदि । तेस्रो, चौथो र पाँचौँ ग्रेडका रोगीहरू आफूलाई मन लागे जति माछा, मासु, फुल र फलफुल खान्छन् । यदि उनीहरूले आफ्नो खाना रुचाएनन् भने अरु किसिमको खाना पनि खान सक्छन् । पहिलो र दोस्रो ग्रेडका बिरामीहरूलाई विशेष खाना बनाएको हुन्छ र राति सुत्ने बेलामा पनि फलफुल र दूध दिइन्छ ।
रोगीहरूको हरेक हप्ता इस्क्रीनिङ हुन्छ र एक महिना, १५ दिनको एकचोटि एक्सरे लिन्छ । रगत, दिशा, पिसाब र कफ जाँचिन्छ । हरेक हप्तामा तौलिन्छ र सास फुक्ने यन्त्रले स्वास नाप्ने र अरु स्प्रिङ आदिले शक्ति अथवा बल जाँचिन्छ । हरेक रोगीको हप्ता या पन्ध्र दिनमा केही न केही तौल बढेकै हुन्छ । फर्कने बेलामा १० देखि २० किलोग्रामसम्म बढेको हुन्छ ।
स्वास्थ्य निवासमा उपचारबाहेक विभिन्न एसियाली अफ्रिकी देशका साथीहरूसँग मित्रता जोड्छन्, एक देशको छात्रछात्राले अर्को देशको नाच, गान र भाषा सिक्छन् र त्यस देशको बारेमा ज्ञान बढाउँछन् । आपसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरूमा कुराकानी गर्छन् तथा मित्रता र आपसी समझदारीलाई बढाउँछन् ।
स्वास्थ्य निवास एउटा ठुलो परिवारजस्तै छ । यहाँबाट निको भएर आ–आफ्नो देश फर्कने बेलामा सबै विद्यार्थी, डाक्टर, नर्स र अरु त्यहाँ काम गर्नेहरूको आँखा भिजेको हुन्छ । त्यहाँबाट फर्कने विद्यार्थीहरूले डाक्टर र नर्सलाई धन्यवाद र उपहार दिन्छन्, हात मिलाएर, अँगालोमा हालेर भिजेको आँखाले बिदा माग्छन् । त्यहाँ बस्ने साथीहरूले आफ्नो देश फर्कने साथीहरूलाई शुभकामना व्यक्त गर्छन् आदि । मेरो विचारमा बिदाको दिन नै सबभन्दा खुसी र सबभन्दा दुःखको दिन हो । निको हुनु र आफ्नो देश फर्कन पाउनु सुखको कुरो हो, त्यस्तै देशविदेशका साथीहरू छोड्नु र आफ्नै घरका दिदीबहिनीले गरेजस्तै हेरचाह गर्ने डाक्टर र नर्सहरूसँग बिदा लिनु पर्दा दुःखी पनि हुन्छन् । म के अनुभव गर्छु भने स्वास्थ्य निवासबाट फर्कने कुनै व्यक्तिले पनि जीवनभर यस ठाउँलाई बिर्सन सक्नेछैन । कस्तो माया लाग्ने ठाउँ ! कस्तो मुटु छुने बिदाइ !! आफ्नो घरजस्तै प्यारो ठाउँ !!!
बिदाइको दिनमा मैले साथीहरूको डायरीमा लेखेँ, “यस सुन्दर, शान्त र मित्रताको प्रतीक स्वास्थ्य निवास छोड्ने बेलामा म तपाईँको सुस्वास्थ्यको र जीवनको हरेक क्षेत्रमा सफलताको कामना गर्छु ।
साम्राज्यवाद र उपनिवेशवादको विरोधमा एक होऔँ !
विश्वशान्ति अमर होस् !
हाम्रो मित्रता जिन्दावाद !”
विभिन्न देशका साथीहरूले मेरो डायरीमा मेरो व्यक्तिगत प्रशंसा लेखे र कसैले लेखे, “तपाईँ मातृभूमि फर्केर आफ्नो देश र जनताको लागि काम गर्न सक्नोस् ।”

लेखक स्वास्थ्य निवासका आफ्नो चिकित्सकसँग

पेचिङतर्फ
१९६० जुलाई ६ का दिन ८ बजे बिहानको खानापछि नेपाल, भारत, मङ्गोलिया, भियतनाम र कोरियाका स्वास्थ्यलाभ गरिसकेका विद्यार्थीहरू आफ्नो देशको लागि प्रस्थान गरे । स्वास्थ्य निवासको केही परसम्म साथीहरू बसको पछि पछि, दायाँ बायाँ हात मिलाउँदै र हल्लाउँदै बिदाइ दिन आए । सबैको आँखामा आँसु र हृदयमा माया र प्रेमको भावना उनीहरूको अनुहारमा देखिएका ‘चाइचेन’ (बिदा) का रेखाहरूबाट प्रस्ट हुन्थ्यो ।
एकाएक ड्रात्रले मोटरको रफ्तारलाई बढाउन लाग्यो । बस नजिकै नहरको पुलमा पुगिसकेको रहेछ । झ्यालबाट हेरेँ – साथीहरू हात हल्लाएर बिदा दिँदै थिए । फोटोग्राफर र संवाददाताहरू पछि छोड्दै बस झन्झन् रफ्तारले बढ्यो । स्वास्थ्य निवास आँखाले देखिन छोड्यो, तर सबैको आँखामा आँसु बगिरहेको थियो र मुखमा सुस्केरा । नयाँ र पुरानो सडक हँुदै बस पेचिङको सिङच्याङ होटलमा अडियो । साँच्चै त्यस्तो सुख र दुःखको दिन मैले कहिले पनि अनुभव गरेको थिइनँ ।
पेचिङ विश्वविद्यालय
१२ बजे बिहानको खाना खायौँ र १–२ घण्टा आराम ग¥यौँ । आरामपछि होटलबाट बस पेचिङ विश्वविद्यालयको लागि दौड्यो । बस पेचिङ विश्वविद्यालयको गेट (मुख्यद्वार) मा पुगेर रोकियो । मूल ढोका हेर्दा हाम्रो देशको कुनै मन्दिरजस्तो देखिन्थ्यो । प्राचीन चिनियाँ कलाले पूर्ण ढोकाको दायाँ बायाँ रहेका ठुलठुला दुई सिंह र ढोका कलात्मक थियो । विश्वविद्यालयका मुख्य मुख्य कार्यालयहरू चिनियाँ किसिमकै घरहरू थिए । हामी एक पुरानो प्रकारको रिसेप्सन हल (सत्कार गर्ने कोठा) मा लगियौँ । उपसचिवले नेपाल, भारत, भियतनाम, मङ्गोलिया र कोरियाका साथीहरूलाई स्वागत गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो । नेपाल र चीनको मैत्रीको उत्तरोत्तर प्रगतिको कामना गर्दै विश्वविद्यालयको छोटो परिचय दिनुभयो ।
विश्वविद्यालय पुग्नुभन्दा पहिले मैले सोचेको थिएँ कि विश्वविद्यालयका प्रशासकहरू धेरै पाको उमेरका होलान् । तर, उपसचिवसँग परिचय गराउँदा आश्चर्य लाग्यो, उहाँ भर्खर २७–२८ वर्षको हुनुहुन्थ्यो । सत्कार बैठकको लाम्चो टेबुलको चारैतिर आ–आफ्ना द्वेभाषीसँग बस्यौँ । खाली चिया खाँदै गयौँ र उपसचिवले विश्वविद्यालयको परिचय दिँदै जानुभयो ।
यो पेचिङ विश्वविद्यालय १८९८ मा स्थापना भएको थियो । यसको ६२ वर्षको लामो इतिहास छ । क्रान्तिभन्दा पहिले यस विश्वविद्यालयका विद्यार्थीहरूले प्रजातान्त्रिक अधिकारको लागि सदा शासकवर्ग र साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै रहे । यस विश्वविद्यालयको इतिहासमा १९१९ को मे महिना एक प्रमुख (महत्वपूर्ण) ऐतिहासिक घटना हो । त्यसबेला यस विश्वविद्यालयका विद्यार्थीहरू जनतासँग मिलेर प्रजातान्त्रिक अधिकारको लागि जीवनमरणको सङ्घर्षमा भाग लिए । च्याङ काइशेकको प्रतिक्रियावादी शासन र शोषणको विरोधमा जनतासँग मिलेर विद्यार्थीहरूले सङ्घर्ष गरे । त्यसबेला विश्वविद्यालय प्रतिक्रियावादी किसिमकै थियो । क्रान्तिपछि मात्रै यो विश्वविद्यालय जनताको हुन सक्यो । यस विश्वविद्यालयको महत्व यस अर्थमा झन् बढी छ, किनभने यसले जनताको प्रजातान्त्रिक अधिकारको निमित्त काम गरेको छ र यसले क्रान्तिकारी परम्परालाई कायम गर्दै आएको छ ।
युद्धको समयमा विश्वविद्यालय एक ठाउँबाट अर्को ठाउँमा सारियो र ४ अक्टोबर १९५२ मा अरु विश्वविद्यालयहरू पनि यसमा सम्मिलित भए । अनि सबभन्दा पहिले शिक्षामा प्रतिक्रियावादीहरूको जगलाई उखेलेर फ्याँके र समाजवादी शिक्षा प्रणाली लागू गर्ने व्यवस्था गरे ।
सन् १९५७ मा देशका सबै विश्वविद्यालयहरूसँग मिलेर राजनैतिक र सैद्धान्तिक आधारमा साम्यवादी शिक्षा प्रणाली लागु गरे । साम्यवादी शिक्षा प्रणालीमा शिक्षा श्रमसँग मिलाउने र शिक्षा जनताको सेवाको लागि भन्ने सिद्धान्तमा आधारित छ । यस नयाँ शिक्षा प्रणालीअनुसार विद्यार्थीहरूले सैद्धान्तिक शिक्षाको साथसाथै खेत र कारखानामा पनि गएर व्यावहारिक शिक्षा प्राप्त गर्छन् र श्रम गर्छन् । १९५७ मा उनीहरूले वर्षमा ८ हप्ता व्यावहारिक शिक्षा हासिल गरे । उदाहरणको लागि रासायनिक शास्त्रको कक्षामा विद्यार्थीहरूले सैद्धान्तिक ज्ञान प्राप्त गर्छन् र त्यहीअनुसार कारखानामा मल पनि तयार गर्छन् । अरु सामाजिक शास्त्रका विद्यार्थीहरूले जस्तै दर्शनशास्त्रका विद्यार्थीहरू पनि गाउँगाउँमा गई व्यावहारिक शिक्षा प्राप्त गर्छन् । १९५८ देखि शिक्षा उत्पादन श्रमसँग मिलाउने नयाँ शिक्षा नीतिपछि शिक्षामा धेरै राम्रो सफलता प्राप्त भएको छ ।
हिसाब (गणित), डाइनामिक्स, फिजिक्स (अणुशक्ति), जियोफिजिक्स, रेडियो इलेक्ट्रोनिक, केमेस्ट्री, बायोलोजी, ज्योग्राफी, जियोलजी, चिनियाँ भाषा, साहित्य र दर्शन, इतिहास, अर्थशास्त्र, पुस्तकालय विज्ञान, राजनीति विज्ञान, कानुन, पश्चिमी भाषा र रुसी आदि १८ भन्दा बढी विभागहरू छन् ।
विश्वविद्यालयमा दस हजारभन्दा बढी विद्यार्थीहरू पढ्छन्, जसमध्ये ३३ देशका ३०० भन्दा बढी विदेशी विद्यार्थीहरू शिक्षा प्राप्त गर्दै छन् । १०० भन्दा बढी विद्यार्थीहरू अनुसन्धान कार्यहरूमा लाग्दै छन् । १६ सत्न्दा बढी शिक्षकहरू अथवा प्राध्यापकहरू यस विश्वविद्यालयमा काम गर्छन् । ती प्राध्यापकहरूमा विदेशी प्राध्यापकहरू पनि सामेल छन् ।
विश्वविद्यालयका भवनहरू क्रान्तिपछि दोब्बरभन्दा बढी बढाइसकेको छ र विश्वविद्यालयको एउटा ठुलो पुस्तकालय पनि छ । विद्यार्थीहरू पुस्तकालयमा आ–आफ्नो विषयहरूको किताबहरूद्वारा ज्ञान प्राप्त गर्छन् ।
उपसचिवले विश्वविद्यालयको छोटो परिचय दिइसकेपछि हाम्रो एक दुईवटा प्रश्नहरूको उत्तर दिनुभयो । विश्वविद्यालयमा पढ्ने धेरैजसो विद्यार्थीहरू सरकारबाटै छात्रवृत्ति पाएका हुन्छन् । विश्वविद्यालयमा हिन्दी, जापानी, बर्मेली, कोरियाली, मङ्गोली, अरबी, उर्दू, पाली, अङ्ग्रेजी, फ्रान्सेली, जर्मन, स्पेनी आदि भाषाहरूको पनि पढाइ हुन्छ । प्रश्न उत्तरपछि हामी विश्वविद्यालय घुम्न गयौँ । यसबेला साँझको ५–६ बजिसकेको थियो । सबैजसो विद्यार्थीहरू खेलकुदमा लागेका थिए । विद्यार्थीहरू फूटबल, भलिबल, बास्केट बल, कुस्ती, बक्सिङ, तलवार, व्याडमिन्टन आदि धेरै प्रकारका पूर्वी र पश्चिमी खेल र कसरतहरू गर्दै थिए । हामीले विद्यार्थीहरूको छात्रावास (होस्टेल), बायोलोजी विभाग, विश्वविद्यालयका कारखानाहरू आदि हेर्यौँ ।
विश्वविद्यालय साँच्चै एक सानो संसारजस्तै थियो । विद्यार्थीहरूको खाने, बस्ने, खेल्ने, काम गर्ने, नुहाउने, घुम्ने, पढ्ने, किन्ने पसल, केश काट्ने यावत कुराहरूको लागि राम्रो बन्दोबस्त भित्रै थियो । महिला विद्यार्थीहरू पनि पुरुषहरू सरह नै अनेक प्रकारका खेलकुदमा भाग लिइरहेका थिए । विभागहरू सरसरती हेर्दै गयौँ । तर, पूर्वको एक मुख्य विश्वविद्यालय केही घण्टा हेरेर के सक्दो हो । अँध्यारो हुन लागेको थियो । विद्यार्थीहरू विश्वविद्यालयका झीलहरूतिर डुल्दै थिए । साँच्चै कस्तो राम्रो दृश्य ! झीलमा हाँस पौडी खेल्दै थिए, हरियो रुखका लहर, अलि परको एक प्राचीन पागोडाको छायाँ, झीलको प्रतिबिम्ब साना लहरसँग खेल्दै थियो । चराहरूको सुमधुर कलरव ! साँच्चै विश्वविद्यालयभित्र के छैन ! झील, नदी, पहाड, बन जङ्गल ।
साँझ झमक्क प¥यो । चराचुरुङ्गीको गीत झन् गहिरो हुँदै गयो । उपसचिवलाई धन्यवाद दियौँ । चिया पियौँ र बिदा लियौँ । बस अब होटलतिर दगुर्न लाग्यो ।

लेखक चिनियाँ साथी कुमारी मे ह्वे सुङसँग चिनियाँ भाषा सिक्नुहुँदै

विविध दर्शनीय स्थानहरू
७, ८ र ९ तारिखसम्म हामीले पेचिङका धेरै दर्शनीय स्थानहरू हेर्यौँ र घुम्यौँ । २–३ महिनादेखि नै हामीले बिचबिचमा पेचिङका दर्शनीय स्थानहरू हेर्दै आएका थियौँ । पहिले हेरिसकेका ठाउँहरू पनि हेर्न पाइयो सबै साथीहरूसँगै । पिपुल्स काङ्ग्रेस हल, ग्रीष्म दरबार, पेहाई पार्क, स्वर्गको दरबार, बायोलोजिकल म्युजियम, बोटानिकल म्युजियम, चिडिया घर, चिनियाँ इतिहास र क्रान्तिको म्युजियम र अरु धेरै ठाउँहरू हे¥यौँ । ती ठाउँहरूको विषयमा अनेकौँ राम्रा राम्रा र लामा लामा चाखलाग्दो कुरा लेख्न सकिन्छ । तर, साँच्चै भनौँ भने धेरै लामो कथा भएको पेचिङको इतिहास आँसु र हाँसो, रगत र रणले, कला र संस्कृति, नृत्य र सङ्गीत, अपेरा र अप्सराले भरिएको छ, जसको जति बयान गरे पनि कमै हुन्छ । हामी जहाँ जहाँ गयाँै, युवक कलाकारहरूका दलका दल रङ्ग र बुस लिएर चित्रहरू उतारिरहेको पायौँ । पेचिङ चिडिया घर सा¥है ठुलो थियो । त्यहाँ बालोद्यानका हजारौँ बालकहरू हेर्न आएका थिए । हाम्रो देशबाट उपहार स्वरूप दिएका गँैडाको लागि विशेष प्रबन्ध गरिएको थियो । यस्तै प्रकारले ७, ८ र ९ तारिख विभिन्न दर्शनीय स्थानहरू हेरेर बितायौँ ।
१० जुलाईको बिहान हामी पेचिङको एक सहरी कम्युन हेर्न गयौँ । कम्युनका एक महिला उपसचिवले हाम्रो स्वागत गर्नुभयो । कम्युनको स्थापना, विकास र समस्याको विषयमा छलफल ग¥यौँ र उपसचिवले कम्युनको परिचय खुब राम्रो ढङ्गले दिनुभयो । छलफल र परिचयपछि हामी कम्युनद्वारा सञ्चालित मध्यम आकारको एक जुत्ता कारखाना र इलेक्ट्रोनिक कारखाना हेर्न गयौँ । ती कारखानाहरूमा धेरैजसो महिलाहरू काम गरिरहेका पायौँ र कम्युनकै नर्सरी (शिशुशाला), किनरगार्डेन (बालोद्यान) हेयौँ । नर्सरी र किनर गार्डेनमा बालकहरूको खुब राम्रो व्यवस्था गरिराखेको पायौँ ।
अखिल चिनियाँ विद्यार्थी फेडरेसन
१० जुलाई दिउँसो निषिद्ध दरबार (फर्विडेन प्यालेस) जसको बयान माथि गइसकेको छ, हेर्न गयौँ र दिउँसो अखिल चिनियाँ विद्यार्थी सङ्घ (अल चाइना विद्यार्थी फेडरेसन) को हेडक्वार्टरमा गयौँ । त्यहाँ हामीले फेडरेसनका अध्यक्ष हु चुलीसँग चीनका विद्यार्थीहरूको जीवन र फेडरेसनको सङ्गठनको विषयमा छलफल ग¥यौँ । उहाँसँगको वार्ताले हामीले चीनका युवक विद्यार्थीहरूको अवस्था र फेडरेसनको सङ्गठन आदि विषयमा धेरै राम्रो जानकारी प्राप्त ग¥यौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *