भर्खरै :

प्यालेस्टिनी नागरिकको सुरक्षाका लागि राष्ट्रसङ्घको आह्वान

प्यालेस्टिनी नागरिकको सुरक्षाका लागि राष्ट्रसङ्घको आह्वान

न्युयोर्क, २ भदौ (क्युएनए) । संयुक्त राष्ट्रसङ्घले इजरायल–प्यालेस्टिन द्वन्द्वका क्रममा प्यालेस्टिनी नागरिकको सुरक्षा, घर तथा सम्पत्तिको संरक्षण र अत्यावश्यक सेवामा उनीहरूको पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ । वेस्ट बैङ्कमा बढ्दो तनाव तथा आक्रमण र गाजापट्टीमा जारी इजरायली हवाई आक्रमण, गोलाबारी र गोली हानाहानबिच राष्ट्रसङ्घले नागरिकको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले मानवीय सहयोगमा संलग्न टोलीले उत्तरी वेस्ट बैङ्कको कुसरा गाउँमा पुगेर प्रभावित परिवारलाई सहयोग उपलब्ध गराएको बताउनुभयो । इजरायली बस्तीको चौकी स्थापना भएपछि तथा कडा आवागमन प्रतिबन्ध लगाइएपछि केही प्यालेस्टिनी परिवार आफ्नै घर वरपर फसेको उहाँले बताउनुभएको हो ।
संयुक्त राष्ट्रसङ्घीय बाल कोष
(युनिसेफ) को टोलीले प्रभावित परिवारलाई पानी, खाद्यान्न, औषधि र सरसफाइका सामग्री उपलब्ध गराउनुका साथै बालबालिकाका लागि मनोरञ्जनात्मक सामग्रीसमेत वितरण गरेको डुजारिकले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएइचए) का अनुसार कुसरा गाउँमा तीन प्यालेस्टिनी परिवार इजरायली सेना तथा बस्तीका बासिन्दाको ठुलो उपस्थितिबाट घेरिएको अवस्थामा रहेको डुजारिकले जानकारी दिनुभयो ।
गाजापट्टीमा पनि नागरिकको अवस्था गम्भीर बन्दै गएको राष्ट्रसङ्घले जनाएको छ । त्यहाँ निरन्तर भइरहेको हवाई आक्रमण, गोलाबारी तथा गोली हानाहानका कारण नागरिक हताहत भएको विवरणप्रति राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ ।
वर्षायाम नजिकिँदै गर्दा गाजामा आश्रय सामग्रीको अभाव थप गम्भीर बन्न सक्ने चेतावनीसमेत दिइएको छ । राष्ट्रसङ्घ र उसका साझेदारहरूले करिब ३० हजारभन्दा कम पालको व्यवस्था गर्न सकेका छन् । यद्यपि, आवश्यक पालको सङ्ख्या ८० हजारदेखि एक लाख ३० हजारसम्म अनुमान गरिएको छ ।
गाजा र वेस्ट बैङ्कमा मानवीय सहायता उपलब्ध गराउन यस वर्ष आवश्यक पर्ने अनुमानित चार अर्ब अमेरिकी डलरमध्ये ४० प्रतिशतभन्दा कम रकम मात्र हालसम्म जुटेको डुजारिकले पुष्टि गर्नुभयो । आवश्यक रकमको अभावले द्वन्द्वबाट प्रभावित नागरिकलाई खाद्यान्न, स्वास्थ्य, आश्रय र अन्य अत्यावश्यक सेवा उपलब्ध गराउने प्रयासमा थप चुनौती उत्पन्न भएको राष्ट्रसङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *