भर्खरै :

पेचिङतिर – ५

पेचिङतिर – ५

पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)

पेचिङ पुस्तकालय
११ जुलाई बिहानको कार्यक्रमअनुसार बस पेचिङ पुस्तकालयको अगाडि गएर रोकियो । पेचिङ पुस्तकालयका डेपुटी डाइरेक्टर च्वां छां सीले हाम्रो स्वागत गर्नुभयो । पुस्तकालय पेचिङको केन्द्रमै, पेहाई पार्कको पछाडि नै अवस्थित छ । पुस्तकालय भवन चिनियाँ कलाले परिपूर्ण छ । भवनको चारैतिर ठुलठुला र राम्रा राम्रा रुख एवं बगैँचाहरू छन् । पेचिङ पुस्तकालयलाई उद्यान पुस्तकालय भन्न सुहाउँछ । सत्कार गृहमा पुगेपछि च्वां छां सीद्वारा पुस्तकालयको छोटो परिचय प्राप्त ग¥यौँ । साँच्चै भनौँ भने पुस्तकालय राम्रा राम्रा फूलले धपक्क ढाकेको थियो ।
पेचिङ पुस्तकालयको स्थापना सन् १९०९ मा भएको थियो । यो चीनको सबभन्दा ठुलो र लामो इतिहास भएको पुस्तकालय हो । अहिले यो राष्ट्रिय पुस्तकालयको रूपमा छ । १९०९ मा स्थापना भए पनि १९१२ सम्म त यो एक किताबको सङ्ग्रहालयको रूपमा मात्रै थियो । यसमा पहिले सुङ, याङ, मिङ, चिङ वंशका राजकीय पुरोहितहरूको पुस्तकालयका किताबहरू छन् । १९१२ देखि पुस्तकालय विधिवतरूपमा चले पनि पुस्तकालयको एक निश्चित स्थान या भवन थिएन । बरोबर स्थानहरू फेर्दै १९३१ मा मात्रै अहिले रहेको ठाउँमा निश्चित या स्थायीरूपले पुस्तकालय चल्न सक्यो ।
यस पुस्तकालयमा १ करोड ५० लाख किताबहरू छन् । त्यसमध्ये ६० लाख पुस्तकहरू प्राचीन दुर्लभ चिनियाँ किताबहरू छन् । २० लाख किताबहरू १२ देखि १८ शताब्दीका छन् । ब्लकप्रिन्टका १० लाख विदेशी किताबहरू छन् । पुस्तकालयको सबभन्दा पुरानो किताब पाँचौँ शताब्दीको छ । पुरानो किताब सन् ४१६ को बौद्ध सूत्रको हस्तलिपिको छ । पुराना चिनियाँ किताबहरूबाहेक माक्र्स र एङ्गेल्सका आफ्नै हस्तलेखहरू, १८६७ मा प्रकाशित पहिलो जर्मन संस्करणको दास क्यापिटल (पुँजी), १८७५ मा प्रकाशित पहिलो फ्रान्सेली संस्करण र १८९८ मा जेनेभामा प्रकाशित लेनिनको रुसी सामाजिक प्रजातन्त्रवादीको कार्यहरूको रुसी संस्करण, १८९९ को ‘रुसी पुँजीवादको विकास’ को रुसी संस्करण, १९४२ मा काठको छापेको अध्यक्ष माओको ‘नयाँ प्रजातन्त्रमा’ चिनियाँ कम्युनिस्ट दलको फ्रान्समा चाउ एनलाईले सम्पादन गर्नुभएको ‘युवक’ पत्रिका आदि दुर्लभ किताबहरू पनि छन् । पुस्तकालयमा भएका कुल पुस्तकको १/६ भाग विदेशी किताबहरू छन् । धेरैजसो विदेशी भाषाका किताबहरूमध्ये अङ्ग्रेजी भाषाको बेलायतबाट प्रकाशित छन् र केही हजारमात्रै अरु युरोपेली र एसियाली भाषाका छन् । यहाँ ८० भन्दा बढी देशहरूको ६५ भाषाका किताबहरू छन् । चीनको राष्ट्रिय अल्पसङ्ख्यक जातिहरूका ४० भन्दा बढी भाषाका किताबहरू छन् । १,४०० चीनका सचित्र पत्रिकाहरू र ८ हजारभन्दा बढी विदेशी पत्रपत्रिकाहरू पुस्तकालयमा आउँछन् । त्यसमा विज्ञान र प्रविधि जस्ता गहन विषयहरूका पत्रिका पनि समावेश छन् ।
यस पुस्तकालयमा खास गरेर किताब पसलबाट किन्ने र अरु देश विदेशका सङ्गठन र व्यक्तिहरूसँग पुस्तकको आदानप्रदान गरेर पुस्तकको सङ्ग्रह बढाइन्छ । यस पुस्तकालयको ९८ मुलुकका २,००० संस्थाहरूसँग सम्बन्ध छ ।
यस पुस्तकालयले पत्रपत्रिका, किताब दिने र लिनेबाहेक अरु धेरै प्रकारका गोष्ठीहरू, प्रदर्शनीहरू, विज्ञान, साहित्य र अरु कला सम्बन्धी व्याख्यानहरू, लेखक र पाठकहरूको परिचय र सभा, साहित्य गोष्ठीहरूको पनि आयोजना गर्छ । साथै पुस्तकालयसँग सम्बन्धित सङ्गठन, संस्थान र सदस्यहरूले गरेका मौखिक र लिखित प्रश्नहरूको पनि उत्तर दिनेछ । २०,००० भन्दा बढी पुस्तकहरू अरु पुस्तकालयहरूमा पठाएर पाठक र जिज्ञासुहरूको ज्ञानपिपासा शान्त गर्ने व्यवस्था छ । पाठकहरूको लागि पुस्तकालयले पुस्तिकाहरूको प्रकाशन गर्ने र साधनहरू उपलब्ध गराइदिन सक्दो प्रयास गर्छ । पुस्तकालयमा नविनतम सामानले युक्त फोटोग्राफी विभाग पनि छ, जसले पाठकहरूको लागि चाहिने मद्दत दिन्छ ।
यस पुस्तकालयमा युवक, विद्यार्थी, मजदुर, प्रोफेसर, रिसर्च विद्यार्थीहरू र अरु नागरिकहरू धेरै सङ्ख्यामा सदस्य छन् । विभिन्न अफिस, स्कूल र कारखानाजस्ता ६०० सङ्गठन यस पुस्तकालयसँग सदस्यजस्तै सम्बन्धित छन् । दिनको १–२ हजार पाठकहरू आउँछन् । १०,००० रिसर्च प्रोफेसरहरू यस पुस्तकालयमा अनुसन्धानका कार्य गर्छन् । अरु ८,००० भन्दा बढी स्कूल र नागरिकहरू सदस्य छन् । खास गरेर यो सम्बन्ध १९५८ देखि सुरु भएको थियो । १९५८ मै २० वटा कारखानाहरूसँग अटुट सम्बन्ध रह्यो । दिनको ६ देखि ८ सयसम्म मजदुरहरू पुस्तकालयमा आएर अध्ययन गर्छन् । यस पुस्तकालयका १/३ सदस्यहरू कलेज र विश्वविद्यालयका विद्यार्थीहरू छन् ।
पुस्तकालयमा १० वटा साधारण पढ्ने बैठक र अरु धेरै विशेष अध्ययन कोठाहरू छन् । साधारण अध्ययन कोठाबाहेक सचित्र अध्ययन, दुर्लभ संस्करणहरूको अध्ययन, विशेष सामग्रीहरूको अध्ययन, अन्वेषण (रिसर्च) को लागि भिन्नाभिन्नै कोठाहरू छन् । यसबाहेक माक्र्सवाद, लेनिनवाद, अध्यक्ष माओका ग्रन्थहरू, माइक्रो फिलिम र अरु वैज्ञानिक साहित्य पढ्न या अध्ययन गर्न भिन्ना भिन्नै कोठाको व्यवस्था गरिएको छ । कोठामा आवश्यक सबै प्रकारको साधनहरू जुटाइएका हुन्छन् ।
पुस्तकालयले पुस्तकालयका किताबहरू निःशुल्क अध्ययन गर्न दिन्छ; वितरण गर्छ । हरेक सदस्यहरूलाई पुस्तकालयको सदस्य बन्न आ–आफ्नो सङ्गठन, कारखाना, कलेज, स्कूल र विश्वविद्यालयहरूको सिफारिस चाहिन्छ । किताब ३ प्रकारको वितरण हुन्छ । पहिलो, रिसर्च विद्यार्थीहरूलाई एक महिनाको लागि दिइन्छ । दोस्रो, विज्ञानका किताबहरू २ हप्ताको लागि दिइन्छ र तेस्रो, ३ दिनको लागि मात्रै दिइन्छ । यस हिसाबले पुस्तकालयले विषय छुट्याएर सदस्यले किताब राख्न सक्ने दिनको आवश्यकताअनुसार निश्चित गरेको छ ।
यस पुस्तकालयका सदस्यहरू र अरु जिज्ञासुहरूले पुस्तकालयसँग राजनैतिक, सामाजिक, आर्थिक, वैज्ञानिक आदि विषयका प्रश्नहरू गरेर पत्रद्वारा आ–आफ्नो गाउँ र सहर, देश अथवा विदेशमा बसेर प्रश्नहरूको उत्तर प्राप्त गर्छन् र जिज्ञासालाई शान्त गर्छन् ।
यस पुस्तकालयमा ४०० ठुला साना स्टाफहरू काम गर्छन् । बिहान ८ बजेदेखि बेलुकी ९ः३० बजेसम्म पुस्तकालय खुल्छ । राष्ट्रिय दिवसको दिन पुस्तकालयमा आधा दिन बिदा हुन्छ । यसबाहेक कुनै पनि दिन पुस्तकालय बन्द हुँदैन या पुस्तकालय बिदा बस्दैन । पुस्तकालयमा खास गरेर साहित्यिक र राजनैतिक किताबहरू सदस्यहरूले हेर्न लैजान्छन् ।
पुस्तकालयका डेपुटी डाइरेक्टर च्वां छां सीबाट पुस्तकालयको ५० वर्षको इतिहास सुनिसकेपछि हामी पुस्तकालयको विभिन्न विभागहरू हेर्न गयौँ । इतिहास, विज्ञानजस्ता विषयहरूको भिन्ना भिन्नै विभागका भिन्ना भिन्नै कोठाहरूमा अध्ययन र अनुसन्धानका लागि चाहिने सबै साधनहरू पूर्ण थिए । ती विभागहरू हेर्दा पुस्तकालयमा डुलिरहेको जस्तो लागेन बरु कुनै रिसर्चमा लागेका विद्यार्थीका अध्ययन कक्षमा डुलिरहेको जस्तो लाग्यो । एक दुई कोठाहरूमा क्लास चलिरहेको थियो । प्रोफेसर लेक्चर दिँदै थिए, विद्यार्थीहरू नोट गर्दै थिए । एउटा कक्षामा हुनुपर्ने सबै किसिमका साधनहरू त्यहाँ थिए । बाहिर लान नहुने र दुर्लभ किताबहरूको अध्ययन कक्षा पनि हे¥यौँ । त्यहाँ बत्तीको प्रवन्ध र अरु आँखाले देख्न नसक्ने वस्तुहरू हेर्न वैज्ञानिक साधनहरूको पनि प्रबन्ध थियो । सायद मैले हेरेका कोठाहरू इतिहास र विज्ञान विषयका रिसर्च विभागका होलान् । स्कूल, कलेज र विश्वविद्यालयमा प्राप्त नभएका विषय पुस्तकालयमै आएर पनि कक्षा सञ्चालन गर्ने व्यवस्था रहेछ । किताब पत्ता लगाउन देश, भाषा, विषय र लेखकको वर्णानुक्रमद्वारा पत्ता लगाउन चारै प्रकारको कार्ड अथवा इन्डेक्स प्रथाको व्यवस्था सा¥है वैज्ञानिक र राम्रो लाग्यो । तिनीहरूको पनि भिन्ना भिन्नै कोठाहरू रहेछन् । मैले राहुल सांकृत्यायनको किताब खोजेँ । देश, भाषा, विषय र लेखकको नामले अथवा चारै किसिमले पत्ता लाग्यो । कार्ड या किताबको नाम, नम्बर र कोठा लेखिएको रहेछ । त्यसअनुसार किताब तुरुन्तै पत्ता लाग्यो ।
हामीले पत्रपत्रिका, विज्ञान, इतिहास, पुरातात्विक आदि विषयका विभागहरू हेरिसकेपछि डेपुटी डाइरेक्टर मि. च्वां छां सीसँग एक दुई प्रश्न पनि गर्यौँ । त्यसपछि बिदा लियौँ । बस अर्को कार्यक्रमको लागि दौड्यो ।
बादशाही दरबार– १२ जुलाई दिउँसो बादशाही दरबार हेर्न गयौँ । चीनको प्राचीन कलाको पारखी हामीमध्ये कोही पनि थिएनौँ । यसो हेर्दा साँच्चै चीनको प्राचीन कलाले आश्चर्यजनक प्रगति गरेको देखिन्छ । यदि पूर्वी कलाको अध्ययन गर्ने विद्यार्थी यस दरबारमा आएन भने सायद उनको अध्ययनको एक मुख्य भाग छुटेकै मान्नुपर्नेछ । एक दुई घण्टाभित्रै बितायौँ । त्यति समय त साँच्चै भनौँ भने भित्रका सबै कोठाहरू खुरुखुरु सरासर डुल्नलाई पनि नपुग्ने रहेछ । तापनि, हे¥यौँ र कम बुझ्यौँ, किनभने मलाई चीन र त्यहाँको कला र इतिहासको ज्ञान त्यति थिएन जतिको त्यस विषयमा राम्रोसँग बुझ्न र विवेचना गर्न आवश्यक हुन्छ । सरसरती हेरिसकेपछि बस अर्काे कार्यक्रमको निम्ति कुद्यो ।
प्यालेस म्युजियम
१३ जुलाईका दिन प्यालेस म्युजियम हेर्न गयौँ । यो म्युजियमको स्थापना १९१४ मा भएको थियो । यो चीनको कला र संस्कृतिको सबभन्दा ठुलो सङ्ग्रहालय हो । यो सङ्ग्रहालय मिङ र चिङ वंशको दरबारमा रहेको छ । यो दरबारको भव्यता र यहाँ देखाइएका सुनका हजारौँ प्रकारका ऐसआरामका चीजहरू देख्दा अनुमान गर्नै गा¥हो लाग्छ कि यत्रो थुप्रो सुन थुपार्न ती सामन्त सम्राटहरूले चिनियाँ जनतालाई कतिको शोषण गरेका होलान् । तर, आज ती सबै वस्तुहरू जनताकै हातमा परेको छ र हजारौँ जनता ती चीजहरू हेरेर अतीतको कुराको कल्पना गर्दा होलान् । यस दरबारको अर्को मुख्य विशेषता हो बडो कुशल र विशेष शैलीको निर्माण । यसको बनावटले चिनियाँ कामदारहरूको उच्चत्तम शिल्पको परिचय दिन्छ । यो दरबारको विभिन्न भागमा प्राचीन कला र शिल्पका विभिन्न विषयहरू प्रदर्शित छन् । त्यसमा पनि आदिम दास र सामन्त समाजका वस्तुहरू छुट्याएर देखाइएका छन् । यसैभित्र अन्तर्राष्ट्रिय मैत्री म्युजियम पनि पर्छ जसमा रुस र अरु बन्धु देशका उपहारहरू छन् । यस्तै प्रकारले यसभित्र अरु पनि धेरै हेर्न लायक विभागहरू छन् । ती सबै एक दिनमा हेर्ने कल्पनासम्म पनि गर्न सकिन्न ।
जातीय प्रदर्शनी भवन
प्यालेस म्युजियम हेरिसकेपछि मोटर जातीय प्रदर्शनी भवनतर्फ दौड्यो, जसको उल्लेख पहिले नै गई पनि सकेको छ । त्यस दिन हामीले जातीय प्रदर्शनी भवनमा खास गरेर तिब्बतको कक्षमा विशेष चाख दिएर हे¥यौँ ।
तिब्बतको कक्षमा तिब्बतसम्बन्धी भौगोलिक नक्सा, चार्ट र खनिज वस्तुहरू आदि प्रदर्शित थिए । अर्को कोठामा तिब्बतको कला र सांस्कृतिक वस्तुहरू प्रदर्शित थिए । तेस्रो कोठामा तिब्बतको शान्तिपूर्ण मुक्तिपछि घटेका मुख्य मुख्य घटनाहरूको विषयमा अनेक दस्ताबेज र तस्बिरहरू देखाइएका थिए । ती सबै कुराहरू हेर्दा त मूक्तिपूर्व तिब्बत साँच्चिकै नर्क अथवा कालकोठरी थियो । मुक्तिभन्दा पहिले दलाई लामा र अरु मठाधिकारीहरूको अत्याचार चरम सीमामा पुगेको देखिन्थ्यो । जनताले कुनै किसिमको राजनैतिक अथवा मौलिक अधिकारको उपभोग गर्न पाएका थिएनन् । जनता सा¥है शोषित थिए । राजनैतिक अधिकार खोज्नेहरूलाई हात काट्ने, मृत्युदण्ड दिने र अनेक प्रकारका अमानुषिक दण्ड दिइन्थ्यो । त्यसका प्रमाणहरू प्रदर्शित थिए । हतकडी र नेलसहित काटिएका हात र खुट्टा प्रदर्शित थिए । मुक्तिपछि साम्राज्यवादीहरू, भारतीय प्रतिक्रियावादीहरू र तिब्बतकै प्रतिक्रियावादीहरूले तिब्बतमा प्रतिक्रान्ति गराउन प्रयोग गरेका हातहतियार, जिम्मेवार नेताहरूका पत्रहरू आदि सबैका तस्बिर खिचेर देखाइएका थिए । धेरैजसो हतियारहरू अमेरिका र भारतमा बनाइएका थिए । ती हतियारहरू तिब्बतमा भएको प्रतिक्रियावादी असफल विद्रोहको बेलामा खोसिएका थिए ।
यस प्रदर्शनी हेरेर नेपालसँग जोडिएको चीनको एक अभिन्न अङ्ग तिब्बतको विषयमा धेरै कुरा थाहा पायौँ । जातीय प्रदर्शनी भवन हेरिसकेपछि बस होटलतिर दौड्यो ।

BEIJING, ?HINA – JUNE 01, 2019: Traditional Chinese library with shelves of old and modern books

कपडा कारखाना
१४ जुलाई बिहानको खानापछि मोटर पेचिङको एक कपडा कारखानामा गएर अड्यो । कारखानाको ढोकाबाटै थाहा हुन्थ्यो कि यो कारखाना नयाँ र ठुलो हुनुपर्छ । यस कारखानाको निर्माण १९५४ मा सुरु भयो र १९५५ मा नै उत्पादन गर्न थाल्यो । यसले महिनाको १ करोड ३० लाख युआनको कपडा उत्पादन गर्छ । गजको हिसाबले ५५ लाख गजभन्दा बढी उत्पादन गर्छ । यसमा २५०० कामदारहरू काम गर्छन्, जसमध्ये ७० प्रतिशत मजदुरहरू आईमाई छन् । आईमाईमध्ये पनि ८० प्रतिशत तरुणीहरू छन् । यी कामदारहरूमा ८–८ घण्टा काम गर्ने गरेर ३ टोली मिलाएको छ । लामो कुदाइपछि यस कारखानाको उत्पादनमा धेरै वृद्धि भएको रहेछ । लामो कुदाइ १९५८ मा लागु भएको चिनियाँ जनताको उत्पादन र काम गर्ने नीति हो । त्यसअनुसार असलभन्दा असल, चाँडो र सबभन्दा कम मूल्यमा बढी उत्पादन गर्ने काम गर्छन् । त्यो एक देशव्यापी आन्दोलन थियो ।
कारखानाका सञ्चालकहरूसँगको कुराकानीपछि हामीले सत्कारगृहबाट कारखानाका विभिन्न विभाग, मजदुरहरू बस्ने घर, कारखानामा काम गर्ने मजदुरका छोराछोरीहरूलाई कामको समयमा राख्ने शिशुशाला र बालोद्यान, सांस्कृतिक विभाग आदि हेर्यौँ ।
कारखाना नयाँ किसिमको छ । मतलब यो कारखाना स्वयंचालित (आफैँ काम गर्ने) कारखाना हो । कारखानामा काम गर्ने कामदारहरूको शरीरलाई कुनै प्रकारको हानि नहोस् भनेर काम गर्ने ठाउँहरू, भवनहरू वैज्ञानिक ढङ्गले बनाइएका छन् । काम गर्ने त धेरैजसो महिलाहरू नै देखिए । सबभन्दा पहिले हामी काँचो कपास सफा गर्ने विभाग हेर्न गयौँ । त्यहाँ काँचो कपास निस्किरहेको थियो । फेरि अर्को प्वालबाट फोहर कपासहरू फालिँदै थियो । सफा कपास फेरि अर्को मेसिनभित्र गएर अर्कै कोठामा क्वपी (प्युरी) भएर निस्किरहेको थियो । अर्को भागमा पुग्दा प्युरीबाट लुमहरूमा धागो भएर निस्किरहेको थियो । अनि ती असङ्ख्य धागाहरू अर्को कोठामा पुग्दा कपडा भएर निस्किरहेको थियो । हरेक कोठाहरूको वातावरण सबै वैज्ञानिक ढङ्गले बनाइएका थिए । धागोबाट कपडामा परिणत हुने कोठामा कृत्रिम तरिकाले त्यहाँको वायुमण्डल आद्र बनाइएको थियो । त्यसले धागो चुँड्न पाउँदैन । हरेक विभागको अर्को विभागसँग नङ र मासुको सम्बन्ध थियो । साथै सबै विभाग पूर्णरूपले स्वयंचालित थियो । काममा लागेका सबै कामदारहरू, भिन्नै पोशाकमा लागेका सबै युवकयुवतीहरू (मजदुरहरू) खुब होसियार देखिन्थे । कारखानाको हरेक विभागमा लामो कुदाइ र बेलायतलाई १५ वर्षभित्र पछार्ने नारा लेखिएका पोस्टर र प्लेकार्डहरू टाँसिएका थिए । ठाउँ ठाउँमा कम्युनिस्ट पार्टी जिन्दावाद, समाजवाद राम्रो छ भन्ने लेखिएका ठुलठुला प्लेकार्डहरू लगाइएका थिए ।
त्यसपछि हामीहरू मजदुरहरू बस्ने आवासहरू हेर्न गयाँै । ३–४, ४–५ तलाका नयाँ नयाँ किसिमका ५० औँ भवनहरू थिए । आवासहरू दुई प्रकारका थिए– पहिलो प्रकारका भवनहरूमा विवाहित मजदुरहरू बस्ने र अर्कोमा अविवाहित मजदुरहरू बस्ने । विवाहित मजदुरहरू बस्ने कोठाहरूको महिनाको १ युआन (चिनियाँ एक रूपैयाँ) र अविवाहित मजदुरहरू बस्ने कोठाहरूमा ५० सेन्ट (५० पैसा) बहाल अथवा भाडा जस्तै तिर्छन् । विवाहित मजदुरहरू बस्ने भवनमा अविवाहितहरू बस्ने भवनमा भन्दा अलि बढी व्यवस्था हुन्छ । तिनीहरूको भवनमा बालकहरूको लागि पनि केही प्रबन्ध छ ।
कारखानाको सामूहिक भान्छा घरमा गयौँ । धेरै ठुलो कोठा रहेछ, जसमा सिनेमा, नाटक, सभा र अरु सांस्कृतिक कार्यक्रम पनि चल्ने रहेछ । त्यो हल बाहिरबाट हेर्दा सिनेमा हलजस्तै देखिन्थ्यो । कुनै नाटक या फिल्मका तस्बिरहरू र सूचनाहरू देख्यौँ । त्यो हल सा¥है ठुलो भन्नुपर्छ । खानेबेलामा टेबुल र मेचहरू राखिन्थ्यो र सामूहिक भान्छा कोठा भइहाल्थ्यो । टेबुल झिकेर मेचमात्रै लहरै राखेर बस्दा सिनेमा, नाटक, सभा या अरु कुनै सांस्कृतिक कार्यक्रमको लागि पनि ठिक्कै हुन्थ्यो । हलको एकातिर मञ्चजस्तो बनाइएको छ स्टेजको लागि र अर्कोतिर सिनेमा हलमा जस्तै फिल्मका प्रकाश छिर्ने प्वालहरू बनाइएका छन् । स्टेजमा सिनेमाको पर्दा पनि लगाइराखेको थियो । यस किसिमले त्यो बहुउद्देश्यीय हल थियो ।
बालोद्यानमा बालकहरू केही सिक्दै थिए । हामी उनीहरूको कोठामा पस्यौँ । पस्नासाथै बालकहरू एकै स्वरमा बोल्न थाले ‘सुसु हाऊ’ । त्यसको नेपाली अर्थ काका नमस्ते हो । ती बालकहरूको आवाजमा सा¥है आत्मीयता झल्किरहेको थियो । बालकहरूले ५–६ वटा गीतहरू गाएर सुनाए । गीत जम्मै कोरस अथवा समूह गान थिए । समाजवाद राम्रो छ, पूर्वमा लाली चढ्यो, चिनियाँ आकाशमा माओ त्सेतुङ, ताइवान मुक्त गर, अध्यक्ष माओ जिन्दावाद आदि गीतका शीर्षक हुन् । उनीहरूलाई शिक्षा दिने या सेवा गर्ने दिदीले पियानोमा बाजा बजाउनासाथै सबै गाउन थाले ‘तुङ फाङ होङ …..।’ त्यसको मतलब हो– पूर्वी आकाशमा लाली चढ्यो । गीतको अर्थ यस्तो छ –
आकाश रातो, सूर्य उदय भयो,
चिनियाँ आकाशमा अध्यक्ष माओ त्सेतुङ
त्यसले आलोकित ग¥यो जनजीवनलाई
जनताको त्राता,
सूर्य चम्कन्छ, जहाँ तहाँ प्रकाश
मुक्ति त्यहाँ, जहाँ कम्युनिस्ट पार्टी ।
कोठा तीखो स्वरले गुञ्जिरहेको थियो । कस्तो तालिम अचम्म छ । नाचमा पनि त्यतिकै सिपालु । अहिलेदेखि नै ती बालकहरूको सांस्कृतिक जीवन यस्तो राम्रोसँग सुरु भएबाट भविष्य सा¥है उज्ज्वल देखिन्छ, यसमा शङ्का छैन । नाचगानपछि हात मिलाएर बालबालिकाहरूसँग बिदा भयौँ र शिशुशालातिर लाग्यौँ ।
शिशुशाला कारखानामा काम गर्ने कामदार या मजदुरहरूका दूधे र स–साना नानीहरू राख्ने ठाउँ हो ।
हामी जाँदा शिशुशालामा नानीहरू मस्त निन्द्रामा थिए, नर्सहरूले हामीलाई बिनाआवाजले मात्रै भित्र हेर्ने अनुमति दिए । ठुलो हलमा २० औँ खाटहरूमा नानीहरू मस्तसँग सुतिरहेका थिए । शिशुहरूको स्याहार र सेवामा कुनै खोट देखेनौँ ।
शिशुशालाबाट केही पर चौरमा कामबाट मुक्त मजदुरहरू आफ्नो कक्षामा बसेर अध्ययन गर्दै थिए । मजदुरहरू काम पनि गर्छन् र फुर्सतको बेलामा अवकाशकालीन स्कूलमा पढ्छन् पनि । यस कारखानाका धेरै मजदुरहरू उच्च कक्षाका विद्यार्थीहरू छन् । यसरी हरेक मजदुरहरूलाई आफ्नो कामको साथै व्यक्तित्व विकास गर्ने मौका पनि समानरूपले दिइएका छन् ।
सालाखाला त्यस कारखानाका मजदुरहरूले महिनामा ६० युआन ज्याला पाउँछन् तर ज्याला कामअनुसारको सिद्धान्तअनुसार पाउँछन् । ६० युआनमध्ये १२ देखि १५ युआनसम्म खानामा खर्च लगाउँछन् । बाँकी पैसा लुगा र अरु फर्मायसि खर्चमा लगाउँछन् । त्यसबाहेक अरु लोककल्याणका सुविधाहरू जस्तै औषधोपचार, शिक्षा आदि निःशुल्क प्राप्त गर्छन् ।
उपचार र शिक्षाजस्ता लोककल्याणका सुविधाहरू निःशुल्क पाएर १२ देखि १५ युआनसम्मा महिनाको खाना खर्चबाट बाँकी हुन आउने ४५ युआनले के तिनीहरूलाई खर्च पुग्दैन होला ? साथै यो कारखाना स्वयंचालित कारखाना हो, जसमा शारीरिक बोझ सहनुपर्ने काम गर्नुपर्दैन । बिदा हुने समयमा कारखानाका अधिकारी या सञ्चालकसँग मजदुरहरूको जीवनको हरेक क्षेत्रको विषयमा कुराकानी गर्यो र प्रश्न उत्तर पनि भयो । अन्तमा हाम्रो प्रश्नको उत्तरमा उनले भने कि यी सब सुविधाहरू मजदुरहरूले पाउन सक्नुको मुख्य कारण नै कम्युनिस्ट पार्टीको स्थापना हो । कुराकानीको बेलामा बिचबिचमा कारखानाको मेसिनको घुर घुरको आवाज सुनिन्थ्यो । धन्यवाद दिँदै हामी कारखानाबाट बिदा भयौँ ।
पेचिङ रेलवे स्टेसनतिर
कारखानाबाट बिदा भएर हामी पेचिङ रेलवे स्टेसन पुग्यौँ । अब हामीले पेचिङसँग बिदा लिँदै थियौँ । बसबाट ओर्लेर २ लाख यात्रुहरू ओहरदोहर गर्न सक्ने ठुलो र नयाँ रेलवे स्टेसनभित्र पस्यौँ । सिँढी स्वयंचालित थियो । हामी साङ्घाईको लागि जाँदै थियौँ– लाल चीनको केन्द्र पेचिङसँग बिदा लिएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *