भर्खरै :

२९ देशद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

२९ देशद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई, १ साउन (क्यूएनए) । विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई) सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ ।
सम्झौताका सर्तहरू अनुसार “वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स कोअपरेशन अर्गनाइजेसन” एउटा स्वतन्त्र अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन हुनेछ जसको मुख्यालय साङ्घाईमा रहने छ ।
चीनमा आयोजित सन् २०२६ को विश्व एआई सम्मेलन तथा “ग्लोबल एआई गभर्नेन्स” सम्बन्धी उच्चस्तरीय बैठकको अवसरमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
चिनियाँ विदेशमन्त्री वाङ्ग यीले चीन सरकारको तर्फबाट कजाकिस्तान, लाओस, पाकिस्तान, रूस र इन्डोनेसियासहित २९ वटा देशका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरी सङ्गठनको संस्थापक सदस्य भएको बताउनुभएको छ ।
हस्ताक्षर समारोहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी रहेको जनाइएको छ ।
सम्झौता अनुसार, नव गठित सङ्गठनले संयुक्त राष्ट्र सङ्घको बडापत्रको उद्देश्यलाई समर्थन तथा आत्मसाथ गर्नेछ भने सार्वजनिक लाभका लागि आवश्यक परामर्श र संयुक्त योगदानलाई बढावा दिई जनकेन्द्रित दृष्टिकोणबाट सञ्चालित हुनेछ ।
सङ्गठनको उद्देश्य अन्तर्राष्ट्रिय सहयोग र विश्वव्यापी शासनलाई सुदृढ पारी एआईलाई फाइदाजनक, सुरक्षित र निष्पक्ष भएको सुनिश्चित गर्नु तथा सम्पूर्ण मानवताको फाइदाको लागि यसको स्वस्थ र व्यवस्थित विकासलाई बढावा दिनुभएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *