भर्खरै :

जनताले सही कम्युनिस्ट पार्टी चिन्नु आवश्यक

जनताले सही कम्युनिस्ट पार्टी चिन्नु आवश्यक

भक्तपुर, १३ माघ । नेपाल मजदुर किसान पार्टी सुनसरी सम्पर्क समितिको आयोजनामा शनिबार यहाँ नेवार एकता समाज धरानको भक्तपुर अवलोकन भ्रमण तथा भेटघाट कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपालका मन्त्रीहरू आफ्नो देशको भन्दा विदेशभक्त भएकाले देशको विकास नभएको बताउनुभयो ।
सरकारले स्वदेशमै रोजगारीको व्यवस्था नगरी विदेश पठाएर देशलाई पराधीन बनाइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “सही र इमानदार मानिसलाई सरकारले काम गर्न दिँदैन । कम्युनिस्ट विचार प्रचार गर्छ भनेर क्युवाली चिकित्सकलाई थोरै समयमै स्वदेश फर्काउने काम सरकारले ग¥यो ।”
उहाँले भन्नुभयो, “राजनीति फोहोर खेल होइन, फोहर बनाइएको हो । राजनीतिलाई फोहर बनाउने काममा सरकारमा जाने दलहरू नेका, एमाले र माओवादी जिम्मेवार छन् ।”
नेपाली जनताले देशमा कुन पार्टी सही कम्युनिस्ट हो होइन चिन्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कम्युनिस्टहरू भ्रष्टाचारविरोधी हुन्छन् भन्नुभयो ।
पुँजीवादी निर्वाचनबाट समाजवाद आउँछ भन्ने कुरामा नेमकिपा विश्वस्त नरहेको विचार व्यक्त गर्दै उहाँले देश र जनताप्रति समर्पित इमानदार, सचेत जनताको शक्तिले देश परिवर्तन गर्न सजिलो हुन्छ भन्नुभयो ।
निःस्वार्थ र इमानदारीपूवर्क गरेको देश र जनताको सेवा खेर नजाने कुरा उल्लेख गर्दै अध्यक्ष रोहितले यो पुँजीवादी व्यवस्थाको सरकार भएकोले जनताले दुःख पाइरहेको बताउनुभयो ।
युवाहरूलाई विदेश पठाउने दास मानसिकता अझै सत्तासीन दलका नेता र मन्त्रीहरूमा रहेको उल्लेख गर्दै उहाँले विदेशी थिचोमिचोको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं कोसी प्रदेशका संयोजक उकेश कवांले पार्टीको स्थापनाका आधार किसान सङ्घर्ष भएको चर्चा गर्दै परिवर्तनको निम्ति जनतालाई सचेत पारिरहेको बताउनुभयो ।
नेपालमा कम्युनिस्टहरूको बाहुल्यता भए पनि समाजवादको विषयमा बहस नहुनु या कम्युनिस्टको सिद्धान्त विचार प्रचारप्रसार नगर्नु विडम्बनाको विषय भएको उल्लेख गर्दै उहाँले देशका कलकारखानालाई निजीकरण गर्ने र कौडीको मूल्यमा बेच्ने दलहरू कम्युनिस्ट नहुने बताउनुभयो ।
कोसी प्रदेशसभा सदस्य यशोदा कायष्ठले देश र जनताको निम्ति नेमकिपा सङ्घर्षरत रहेको चर्चा गर्दै धरानवासीलाई भक्तपुरको विकास र प्रगति अवलोकन गर्न आमन्त्रण गरिएकोमा नेमकिपा र भक्तपुर नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो ।
नेवार एकता समाज धरानका महेश श्रेष्ठले जनप्रतिनिधिले इमानदारीपूर्वक काम गरे परिवर्तन गर्नसक्छ भन्ने कुरा भक्तपुर नपाले देखाएको छ भन्नुभयो ।
उहाँले उपभोक्ता समिति र जनताको सक्रियतामा हुने विकास निर्माण कार्यमा जनताको अपनत्व हुने विश्वास व्यक्त गर्नुभयो ।
नेमकिपा सुनसरी सम्पर्क समिति भक्तपुरका अध्यक्ष सुनिल शाक्यको सभापतित्वमा भएको सो कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल र विनोद श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *