अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १ साउन । भक्तपुर नगरपालिकाको आयोजनामा सहकारी संस्थाको विगत र वर्तमान अवस्था, समसामयिक विषय तथा सहकारी क्षेत्रसँग सम्बन्धित विविध पक्षमा छलफल गर्ने उद्देश्यले शुक्रबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाका पदाधिकारीहरूको भेला भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सहकारीले सदस्य तथा समुदायको आवश्यकतालाई प्राथमिकतामा राखी सामूहिक लगानी गरे सदस्यहरूमा आर्थिक गतिविधि बढ्नेछ भन्नुभयो ।
उहाँले सहकारी क्षेत्रका समस्या वर्तमान सरकारले मात्र समाधान गर्न नसक्ने उल्लेख गर्दै जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक पर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले राजनीति समाजको समस्या समाधान गर्ने नीति भए पनि राजनीतिमा संलग्न केही व्यक्तिको गलत गतिविधिका कारण जनतामा राजनीतिप्रति वितृष्णा बढेको बताउनुभयो ।
कृषि क्षेत्रलाई प्राथमिकता दिए देश आत्मनिर्भर बन्ने, रोजगारी सिर्जना हुने र जीवन सुरक्षासमेत सुदृढ हुने उहाँको भनाइ थियो । उपभोक्ता समितिमार्फत विकास निर्माणको काम हुँदा स्थानीय आर्थिक गतिविधि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।
सहकारी क्षेत्रमा देखिएको बेथितिप्रति चिन्ता व्यक्त गर्दै उहाँले केही सञ्चालक बचत रकम लिएर फरार भएको घटनाले सहकारीप्रतिको जनविश्वासमा असर परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बैङ्क र वित्तीय संस्थाहरूमा १५ खर्ब ६० अर्ब रूपैयाँ अधिक तरलता भएको सार्वजनिक भयो । यसको अर्थ पैसाको मूल्य घट्ने अर्थात् मुद्रा अवमूल्यन हुने हो । सरकारले नीति कानुन बनाएर अधिक तरलतालाई लगानी गराएमा जनतामा आर्थिक गतिविधि बढ्नेछ र आर्थिक सङ्कट तर्नेछ । गत आवमा सरकारको पुँजीगत खर्च ४६.७९ प्रतिशत मात्र भएको आर्थिक सङ्कटको सङ्केत हो । यसले देशको बेरोजगारी बढाउनेछ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी क्षेत्रमा देखिएको समस्याको मुख्य कारण नाफामुखी सोच भएको बताउनुभयो । उहाँले सहकारी सदस्यको हितमा काम गर्नुपर्ने सञ्चालकहरू नै व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा सहकारी क्षेत्रमा सङ्कट उत्पन्न भएको धारणा व्यक्त गर्नुभयो ।
उहाँले सेवा क्षेत्रसँगै उत्पादनमूलक गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउँदै सहकारीमा सदस्य स्वयं सचेत, जिम्मेवार र निगरानीकर्ता बन्नुपर्ने उल्लेख गर्दै सदस्य कमजोर हुँदा सञ्चालक स्वेच्छाचारी बन्ने अवस्था सिर्जना हुने बताउनुभयो ।
अपरिचित व्यक्तिलाई सञ्चालकको रूपमा विश्वास गर्न नहुने र पैसा सङ्कलन गरिसकेपछि जिम्मेवारी अरूको भरमा छोड्ने प्रवृत्तिले पनि सहकारी क्षेत्रमा समस्या बढाएको उहाँको भनाइ थियो । नगर प्रमुख प्रजापतिले सङ्कटमा परेका अधिकांश सहकारीमा पछि बाहिरबाट आएका व्यक्तिहरू सञ्चालक बनेको अवस्था देखिएको उल्लेख गर्दै त्यसले पनि सहकारीमा बेथिति निम्त्याएको बताउनुभयो ।
उहाँले विद्यालय तथा कलेजको सञ्चालक समितिमा कर्मचारी, जनप्रतिनिधि तथा राजनीतिमा सक्रिय व्यक्तिहरू बस्न नपाउने व्यवस्था निरङ्कुश प्रकृतिको भएको टिप्पणी गर्दै यस्तो व्यवस्थाले सार्वजनिक संस्थालाई कमजोर बनाउने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष तथा सहकारी समिति अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर किसान सङ्घर्षको थलोको रूपमा परिचित रहेको उल्लेख गर्दै नवदुर्गा बहुमुखी बचत तथा ऋण सहकारी संस्थामा भएको अनियमितताले समग्र सहकारी क्षेत्रमा नकारात्मक प्रभाव पारेको स्मरण गर्नुभयो । उहाँले हालसम्म धेरै सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको अवस्था रहेको उल्लेख गर्दै समस्या समाधानका लागि भक्तपुर नगरपालिकाले आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सहकारी क्षेत्रमा प्रभावकारी नियमनको अभाव रहेको बताउनुभयो । चक्रीय कोषसम्बन्धी व्यवस्थाबारे चर्चा गर्दै सहकारीको नियमित नियमन र जवाफदेहितालाई सुदृढ नगर्दा सहकारी क्षेत्रमा विभिन्न समस्या र बेथिति देखिएको उहाँले बताउनुभयो ।
सहकारी समाजका उपाध्यक्ष कृष्णगोविन्द लाखाले सहकारी ऐनबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै समुदायमा आधारित सहकारीहरूको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी क्षेत्रमा सुशासन, पारदर्शिता र सदस्यको हितलाई केन्द्रमा राखेर कानुन कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहकारी समिति सदस्य नारायणप्रसाद त्वानाबासुले पनि सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र सदस्यमुखी बनाउँदै विश्वास पुनःस्थापित गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
Leave a Reply