कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
सन्दर्भ हो नेपाल मजदुर किसान पार्टी स्थापना दिवसको । नेपाल मजदुर किसान पार्टीले आफ्नो स्थापना दिवस मनाइरहेको छ । यो पर्वलाई सम्पूर्ण देशभक्त जनता, शुभचिन्तक र कार्यकर्ताले आआफ्नो स्थानमा रहेर मनाइरहेका छन् । यसलाई कतिले नयाँ तथा पुराना प्रकाशन पढ्ने वा निश्चित समय मिलाएर भेटघाट, छलफल र कार्यक्रम गरेर मनाइरहेका छन् ।
कार्यक्रममा पार्टीको विषयमा छलफल गर्ने, जनताको चेतनास्तर उठाउने र विश्लेषण गर्ने काम भइरहेको छ । देशमा क्रान्ति गर्न क्रान्तिकारी जनता, क्रान्तिकारी पार्टी र क्रान्तिको परिस्थिति तयार हुनुपर्छ । पार्टीको निर्देशन पनि तत् विषयमा गतिविधि बढाउने र जनतालाई सचेत र सङ्गठित पार्नु रहेको हुन्छ । त्यसैअनुरूप देशविदेशमा रहेका सम्पूर्ण कार्यकर्ताहरूले आआफ्नो स्थानबाट योगदान गर्नुपर्छ । देशमा लाखौँ लाख जनता क्रान्तिकारी वा परिवर्तनको पक्षमा नभएसम्म देशमा परिवर्तन सम्भव छैन । कार्यकर्ताको पहिलो काम भनेकै कामदार जनतालाई परिवर्तनको बाटोमा लाम लगाउनु हो ।
पार्टीबाट प्रशिक्षित कार्यकर्ताको रूपमा शिक्षक भएर काम गर्दै गर्दाको एउटा तीतो सत्य र अनुभव के छ भने देशका विभिन्न विद्यालयमा काम गर्ने शिक्षकहरूमा अध्ययनको कमी, नयाँ समाजप्रति उत्तरदायित्व त्यति देखिँदैन । शिक्षा क्षेत्रलाई मात्र जीविकोपार्जन र जिजीविषाको रूपमा मात्र प्रयोग गरिएको छ । विद्यालयमात्र होइन, क्याम्पसहरूमा नाममात्रका व्यक्तिलाई नियुक्ति गरी राजनैतिकरूपमा आश्रय दिने र राज्यस्रोतको बाडफाँड गर्ने बदनियतले काम गरिएको छ । यसमा हुम्लाका विद्यालय र क्याम्पसहरू पनि अछुतो देखिएनन् । शिक्षित र बुद्धिजीवी भनिएका शिक्षकहरूमा निम्न कुराको समेत जानकारी नभएको देखियो –
क) समाजको विकासक्रम, विकासको अवस्था, त्यसका कारणहरू
ख) प्रजातन्त्र, समाजवाद, लोकतन्त्र, साम्यवादजस्ता शब्दको ज्ञान
ग) उदारवाद, वामपन्थ र दक्षिणपन्थको फरक
घ) समाजवादी व्यवस्था भएका देशको सामान्य जानकारी
ङ) क्रान्तिकारी नेताहरूको जीवनी, उपनिवेशवादी र प्रगतिशील देशहरूको सामान्य जानकारीको अभाव
च) कम्युनिस्ट पार्टीको फुटका कारण र एकताको आधार
छ) सामान्य राजनैतिक सुझबुझको अभाव
यस्ता धेरै विषयहरू छन्, जुन नेपाल मजदुर किसान पार्टीले आफ्नो स्थापनादेखि जनतालाई विभिन्न सभा, कार्यक्रम र अवसरमा प्रशिक्षण दिइआएको छ । नेमकिपाको प्रकाशन नियमित अध्ययन गर्ने व्यक्तिलाई माथिका विषय नौला होइनन् । तर, देशका ठुला भनाउँदा पार्टीले आफ्ना कार्यकर्तालाई सही प्रशिक्षण नदिनाले तिनको माथिल्लो तहमा बसेका नेताहरू यी विषयमा अनभिज्ञ देखिए । विद्यालयका शिक्षकको पेसा पढ्ने र विद्यार्थीमा क्रान्तिकारी भावनाको विकास गराउने हो । यो अध्ययनको क्षेत्रसँग जोडिएकोले पनि उनमा सामान्य राजनैतिक सुझबुझ र इमानदार हुनुपर्ने हो । तर, शिक्षकले सहीरूपमा आफ्नो स्थान वा पदको उपयोग नगरेकाले जनताले दुःख पाएको र देशमा क्रान्तिकारी भावना विकास नभएको हो ।
नेमकिपाका कार्यकर्ताले पार्टीका सम्पूर्ण कक्षाहरू नियमित लिनुपर्ने र शिक्षकको पनि छुट्टै कक्षा सञ्चालन गरी विद्यालयबाटै नयाँ पुस्ता तयार पार्न इमानदारीका साथ लाग्नुपर्ने खाँचो छ ।
Leave a Reply