भर्खरै :

परिवर्तनको कारक तत्व परिवर्तन नै हो

परिवर्तनको कारक तत्व परिवर्तन नै हो

त्यसो त क्रान्ति सजिलो विषय होइन । त्यसो भनेर गर्नै नसकिने पनि होइन । क्रान्ति समयमा भयो भने सफल हुन्छ, समयमा भएन भने असफल हुन्छ । त्यत्रो सोभियत रूस अन्ततः विफल भयो । प्रजग कोरिया अनेक कष्ट गरी अघि बढ्दै छ । प्रजग कोरियालाई असफल पार्न सम्पूर्ण प्रतिक्रियावादीहरू एकजुट नभएका पनि होइनन् तर प्रजग कोरिया नथाकिकन अनवरतरूपमा क्रान्तिलाई सफल पार्न र टुङ्गोमा पु¥याउन कटिबद्ध छ । एकातिर खडेरी र प्राकृतिक प्रकोपले प्रजग कोरियालाई रूवाएको छ । तर पनि कति नथाकिकन आफ्नो लक्ष्यमा पुग्न क्रियाशील छ । परमाणुजस्तो गम्भीर एवं खतरनाक हतियार उत्पादन गर्न पनि प्रजग कोरिया सफल भयो । यदि प्रजग कोरियासँग परमाणु बम नहुँदो हो त पश्चिमा शक्तिहरूले उसलाई उहिल्यै थला पारिसक्थे तर सकेनन् । त्यत्रो सोभियत सङ्घ ठाउँमा नबस्दा विफल भयो । लेनिन र स्टालिनले असाध्यै परिश्रम गरी हुर्काएको सोभियत सङ्घलाई गोर्भाचोभहरूले जोगाउन सकेनन् र पतनको शिखरमा पुग्यो । मौकामा अलिकति मात्रै बुद्धि पुगेन भने पनि गन्तव्यमा पुग्न सकिँदैन । दोस्रो विश्व युद्धमा स्टालिनले आफ्ना छोरालाई पनि युद्धमा लड्न पठाए जो युद्धमा मारिए । यसर्थ, राज्य सञ्चालन सजिलो विषय होइन । सजिलो भनेर लिइएको छ, त्यो केटाकेटीपन हो ।
आशाको केन्द्र नेमकिपा
नेपाल मजदुर किसान पार्टी पुँजीवादी सत्तामा भाग लिनु गरिब जनताको अहितमा शोषकवर्गका प्रतिनिधिहरूसँग घुस लिनुजस्तै हो । नेमकिपा स्थापनाको ५० वर्ष पुग्यो । त्यस अवसरमा पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सम्पूर्ण कार्यकर्ता, समर्थक, शुभचिन्तक, सहयोगी र मित्रहरूलाई नेमकिपाको ५० औँ वर्षको अवसरमा पार्टीका सबै आन्दोलन, सङ्घर्ष, सैद्धान्तिक र राजनीतिक सङ्घर्षहरूमा साथ दिन आग्रह गरेका छन् । यो नेमकिपाको सम्पत्ति हो । ५० वर्षको सङ्घर्षको अनुभवबाट सिकिएको कमी कमजोरी र सफलतालाई उच्च मूल्याङ्कन गरी सङ्घर्षलाई निरन्तरता दिनु आजको खाँचो हो । यो ५० वर्षको अवधिमा जति सफलता प्राप्त भयो, त्यसको श्रेय सम्पूर्ण कार्यकर्ताहरूमाथि जान्छ । नेमकिपाको अनुभवमा पुँजीवादी सत्तामा गएर भाग लिनु अपरिपक्वता हो । त्यसको विरोधमा अनवरत सङ्घर्ष गरिरहनुपर्छ । त्यस्ता सङ्घर्ष कहिले सफल हुन्छन् त कहिले विफल । नेमकिपाको पाँच दशकको निरन्तर सङ्घर्षको अनुभवमा समाजको परिवर्तनको निम्ति पुँजीवादी सत्तामा गएर भाग खानु, कामदार जनताको हितभन्दा शोषक वर्गको हित हुन्छ । पुँजीवादी र सामन्तवादी सत्तामा गएर भाग खानु भनेको कामदार जनताको हितभन्दा शोषकवर्गको हितलाई प्राथमिकता दिएको ठहर्छ । यो कुरा भन्दा सजिलो छ, गर्दा कठिन ।
पिपलपाते सङ्घर्षहरूको काम छैन !
हाम्रा सङ्घर्षहरू पिपलपाते र छद्मवेशी क्रान्तिकारीहरूसँग हुने निश्चित छ । यो कुरा राम्ररी ध्यान दिन जरूरी छ । पुँजीवादी सत्तामा गएर भाग खाने र कामदार जनताको हितभन्दा शोषकवर्गको हितलाई प्राथमिकता दिने दृष्टिकोण र व्यवहार पूरै पुँजीवादी हुँदा त्यसैको विरोधमा सैद्धान्तिक र व्यवहारिक सङ्घर्ष गर्नु आवश्यक छ । पुँजीवादी सत्तामा भाग लिनु गरिब जनताको अहितमा शोषकवर्गको प्रतिनिधिको काम हो । सच्चा जनप्रतिनिधिको काम होइन ।
युवाहरू विदेश पठाउनुहुन्न
कम्युनिस्ट पार्टीको नाममा विभिन्न छद्मवेशीहरू फाइदा उठाउन खोज्छन् । त्यसको गम्भीर अध्ययन गरेर विरोध गर्नु आवश्यक छ । कम्युनिस्ट पार्टीको नाम ठुलाठुला अक्षरमा लेख्ने अकम्युनिस्टहरू नेपाली युवाहरूलाई विदेश जाने वातावरण बनाउँछन् । कम्युनिस्ट र पार्टीको नाममा विभिन्न छद्मवेशीहरूले पुँजीवादी सत्तासँग गरेका सबै प्रकारका पद, पैसा र भ्रष्टाचार तथा विदेशी पुँजीको हितमा विदेशमा युवाहरू पठाउने कामको नेमकिपाले सधैँ आलोचना र गम्भीर विरोध गर्दै आएको छ । यसैलाई छालको विरोधमा सङ्घर्ष गर्नु भनिन्छ । यो एउटा देखिने अर्को योगदान हो, नेमकिपाको । एकातिर सत्तामा सामेल हुने, अर्कोतिर पछुतो पनि गर्ने तथा छोड्न पनि नसक्ने काम लोलोपोतो पुँजीवादी सत्ताको विरोध नभई सहयोग हो । सत्तामा सामेल पनि हुने, पछुतो पनि गर्नेजस्ता कामले क्रान्ति हुँदैन । नेमकिपा आफ्नो शक्तिलाई जोगाउँदै जनताको निःस्वार्थरूपले सेवा गर्दै अब चाँडै पूर्वबाट आउने रातो घामको प्रतिक्षा गर्दै छ । भोक लाग्यो भन्दैमा जसले जे दिए पनि खाने खोटपूर्ण कार्य हो । विष खाएर भोक मेटाउने उपायको ठुलो विराम हुनेछ ।
कम्युनिस्ट बन्न कम्युनिस्ट नामै चाहिने होइन
नेमकिपालाई दबाउन कम्युनिस्ट नामधारी पार्टीहरूले केही गर्न बाँकी राखेका छैनन् । यस्ता कम्युनिस्टहरूले हाम्रो किन विरोध गर्छन् ? रातो झन्डाको विरोध गर्न रातै झन्डा उठाउनेहरू हाम्रो विरोध गर्दा ऊ के हो भन्ने प्रस्ट हुन्छ । नेमकिपा देशी विदेशी प्रतिक्रियावादी षड्यन्त्रबाट जोगिनैपर्छ । कोही कराउँदैमा राम्रो, नराम्रो छुटिँदैन । बरु, तिनीहरूको कामले को के हो भन्ने बुझिन्छ । हाम्रो विचारको सकारात्मकताको जसले जति विरोध गरे पनि परिणाम निस्कँदैन । बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरीजस्ता जिल्लाका पुराना किसान कार्यकर्ताहरूसमेत छलफल र भेटघाटबाट उत्साहित भएका छन् । त्यो उत्साहलाई पार्टी बलियो हुने काममा प्रयोग गर्नुपर्छ । नयाँ पुस्तालाई पनि सैद्धान्तिक आधारको ज्ञान दिँदै अगाडि बढ्नुपर्छ । बिनातालिम, बिनाव्यवहारिक गतिविधिमार्फत मात्रै कार्यकर्ता तयार हुँदैनन् । यसमा गम्भीर विचार हुनुपर्छ । बेलायत र फ्रान्सको सामन्तवादविरोधी सङ्घर्ष र अमेरिकी स्वतन्त्रता आन्दोलनबारे तथा त्यसबेलाका नेता र कार्यकर्ताहरूबारे अध्ययन गराइएको थियो । त्यसपछि अक्टोबर क्रान्ति र पछिल्ला समाजवादी आन्दोलनहरूबारे पनि नयाँ साथीहरू अग्रसर भए । क्रान्ति हतार गरेर हुँदैन । त्यसो भनेर चुप लागेर पनि हुँदैन । क्रान्ति कुन बेला ठीक हुन्छ भन्ने कुरा मूल विषय हो । क्रान्ति ठट्टा होइन । न त हास्यव्यङ्ग्य नै हो । क्रान्ति सफल पार्न गम्भीर अध्ययन र विश्लेषण जरूरी छ, हतार गरेर हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *