भर्खरै :

भारतमा रामको मूर्तिमा प्राण प्रतिष्ठाबाट नेपालमा ल्याएको तरङ्ग !

भारतमा रामको मूर्तिमा प्राण प्रतिष्ठाबाट नेपालमा ल्याएको तरङ्ग !

केही दिनअघि भारतको अयोध्यामा राममन्दिरले पूर्णता पाउनुअघि नै उद्घाटन (प्राण प्रतिष्ठा) गरियो । ढुङ्गाको मूर्तिमा गरिएको कथित प्राण प्रतिष्ठाले नेपालमा पनि तरङ्ग ल्याएको थियोे । धर्मको बहानामा अखण्ड भारतका एजेन्ट नेपालमा सल्बलाउन थालेको सामाजिक सञ्जालमा थोरै मात्र समय दिनेले पनि अनुभूति गर्न सक्छन् । उक्त कार्यलाई केही नेपालीहरूले हिन्दू हुनुको गर्वको रूपमा व्याख्या गर्दै नेपालमा पनि केही ठाउँमा बिदासमेतको घोषणा गरे । रामको मूर्तिमा प्राण प्रतिष्ठा भयो कि भएन थाहा भएन तर नेपालमा ‘अखण्ड भारत’ को पक्षमा लाग्नेहरूको प्राण प्रतिष्ठा भएको छ । यस्ता गतिविधिलाई समयमै नियन्त्रण गर्न सकिएन भने भविष्यमा नेपाली भूमि अखण्ड भारतमा समाहित गर्न आन्दोलन गर्दैन भनेर भन्न सकिन्न । मूर्ति बनाउन भनेर कालीगण्डकीबाट लगिएको बहुमूल्य ‘शालिग्राम’ ढुङ्गो पनि सोच विचार गरेर बनाएको षड्यन्त्र हुनसक्छ । यसै त ‘रोटी बेटी’ को नाराको नाममा नाङ्गो हस्तक्षेप गर्ने भारतले यो घटनाले नेपालीहरूको मनमा उक्त मन्दिरप्रति आत्मीयता जगाउँदा धार्मिक र सांस्कृतिक नजिकपना ल्याएर भविष्यमा दुई मुलुकबिच खासै फरक नपर्ने एकखालको भाव नेपाली जनताबिच जन्माउने उपाय हुनसक्छ । तर, के कति कारणले हो उक्त ढुङ्गा उपयोग भएको छैन ।
पछिल्लो समय भारतमा प्रजातन्त्रलाई धर्मतन्त्रले प्रतिस्थापन गरेको सन्दर्भमा प्रसिद्ध भारतीय पत्रकार रविसकुमारले भनेका छन्, “धर्मतन्त्रको अगाडि भारतको लोकतन्त्रको तस्बिर धमिलो हुँदै गइरहेको छ, वास्तवमा धर्मतन्त्र यति हाबी भएको छ कि धर्मबिना आजको भारतमा प्रजातन्त्र देख्न पनि सकिँदैन । धर्मतन्त्र यस्तो बनेको छ कि दलहरू धार्मिक कार्यक्रम आयोजना गर्ने सङ्गठनमा परिणत हुन थालेका छन् । पहिले धर्मबाट दूरी कायम गर्ने गर्थे तर अहिले दलहरूले राजनीतिबाट दूरी कायम गर्न थालेका छन् । पुँजीको दबाबमा राजनीतिक दलभित्रको राजनीति समाप्त भयो र अहिले धर्मको नाममा राजनीतिक दलहरू लोकतन्त्रको मैदानबाटै विस्थापित हुँदै छन् । लोकतान्त्रिक चरित्रमा धार्मिक चरित्र हाबी भयो भने लोकतन्त्र नाटकमा परिणत हुन्छ । एक दिन धर्म पनि नौटङ्कीजस्तो देखिनेछ ।”
काल्पनिक स्वर्गको आश र नर्कको त्रास देखाएर जीवन चलाउनेहरूले ढुङ्गामा प्राण सञ्चार गराउनसक्ने प्रविधि विज्ञानले विकास गर्न सकेको छैन भन्ने थाहा हुनुपर्छ । त्यसैले प्राण प्रतीष्ठा मानिसहरूलाई उल्लु बनाउने प्रपञ्च मात्रै हो । भगवानको प्राण प्रतिष्ठा मान्छेले गर्ने भएपछि मान्छेलाई भगवानले होइन बरु भगवानलाई मान्छेले नै बनाएको हो भन्ने पुष्टि हुँदैन र ? धर्म र देवता आस्था हो भन्दै तथ्य खोज्नु अनावश्यक चेष्टा हो भन्न पाइदैन ।
जति नै “म फकिर हुँ, मेरो व्यक्तिगत इच्छा केही छैन” भन्ने भारतीय प्रधानमन्त्री मोदीलाई इतिहासमा आफ्नो नाम दर्ता गराउने लोभ हुँदा धर्म निरपेक्ष मुलुकको प्रधानमन्त्री यस्तो धार्मिक समारोहमा सरिक भएर असंवैधानिकरूपमा राज्यको ढुकुटी खर्च गर्नुपरेको छ । विदेश जाँदा बुद्धको भूमिबाट आएको गफ लगाउने तर स्वदेशमा रामको नाम लिएर अवस्था हेरेर राजनीति गर्ने मोदीको दोहोरो चरित्र हो । यदि सरकार प्रमुख नै यस्तो कार्यक्रमको प्रमुख अतिथि हुनैपर्ने हो भने राष्ट्रपतिलाई निम्तो दिनुपथ्र्यो । तर, जातिवादी विभेदकारी हिन्दूवादले एक आदिवासीलाई रामको प्राण प्रतिष्ठा समारोहमा निम्तो गर्नयोग्य पनि ठानेन । निहुँ खोज्ने हिसाबले भने गोरो छाला भएकी विदेशीमूलकी भारतीय काङ्ग्रेस नेतृ सोनिया गान्धीलाई भने निम्तो पठाइएको थियो । राजनीतिक कारण अनुपस्थित भएपछि हिन्दूविरोधीको आरोप लगाइयो । हे, रामभक्तहरू ¤ आदिवासी र महिला भएकै कारण राष्ट्रपतिलाई निम्तो नदिनुले विभेद झन् स्पष्ट भएन र ? झूट र देखावती आजको भारतीय राजनीतिको सबैभन्दा ठूलो सम्पत्ति र रणनीति भएको छ ।
राजनीतिमा धर्म जोडेको सन्दर्भमा भारतीय सविधान लेखक डा. बाबासाहेब अम्बेडकरले भनेका थिए, “सरकारी दलहरूले धर्म र सम्प्रदायलाई देशभन्दा माथि राखे भने दोस्रोपटक हाम्रो स्वतन्त्रता खतरामा पर्नेछ र सदाको लागि गुमाउनेछ ।” उनी स्वतन्त्रता सङ्ग्रामका एक सेनानी, तथा अन्तरिम सरकारका प्रभावशाली मन्त्री थिए । उनले हिन्दू धर्मका जातीय कुसंस्कारबाट दिक्क लागेर आफू पनि बुद्ध धर्ममा गए र कैयौँ समकालीनहरूलाई हिन्दू धर्म छोड्न उत्प्रेरित गरे ।
केही महिनापछि हुन गइरहेको संसदीय चुनावलाई ध्यानमा राखी पूर्णता नै नपाएको मन्दिरमा रामको मूर्ति स्थापना गरेर राजनीतिको नाममा धर्मलाई बदनाम गरेको छ । पूर्णता नपाएको मन्दिरमा प्राण प्रतिष्ठा गर्न नमिल्ने भनेर हिन्दू धर्मका उच्च चार व्यक्तित्व शङ्कराचार्यहरूले उक्त समारोहमा अनुपस्थित रहेर विरोध गरेका थिए । वेदविरुद्ध भएको यो कार्य कमसेकम नितान्त धार्मिक आस्था राख्नेहरूले हेक्का राख्नुपर्ने कुरा होइन र ?
राम राजा दशरथका छोरा थिए । रामको जन्म राजा दशरथको दरबारमा भएको हुनुपर्छ नकि वनमा । तर, कथा बनाउनेले अयोध्यामा रामको जन्म भएको भनेर यत्रो बितन्डा मच्चाइरहेका छन् । भारतीय सर्वोच्च अदालतले मन्दिर भत्काएर त्यहाँ मस्जिद निर्माण गरेको कुनै प्रमाण नभएको पनि बताएको छ । बरु राम मन्दिरको जग खन्दा बुद्ध विहारको अवशेष भेटिएको कुरा बाहिर आएको थियो । केवल पुरातात्विक प्रमाण ५ फुटको कालो पिलरलाई नै मन्दिर भत्काएको प्रमाणको रूपमा लिइएको छ । बाबरी मस्जिद रहेको ठाउँमा राम मन्दिर रहेको कुनै तथ्यबाट पुष्टि नभएपछि धेरैको आस्थासँग जोडिएको भन्दै राम मन्दिरको पक्षमा सर्वोच्चले निर्णय सुनाएको थियो । भावना र आस्थालाई सम्मान गर्नुपर्छ तर आस्थाको नाममा वास्तविकता र तथ्यलाई बेवास्ता गर्दै विवेक र ज्ञान गुमाउनु पनि हुँदैन । अहिले भारतमा जनताको भावना नाममा जनताको वास्तविक मुद्दा छायामा परेको छ । ८० करोड भारतीय जनता सरकारले दिएको महिनाको ५ किलो अन्नमा जीवन चलाउनुपरेको छ । यता नेपालमा पनि अन्धो धार्मिक उन्माद ल्याएर धमिलो पानीमा माछा मार्न पाइन्छ कि भनेर गतिविधि गर्ने नेताहरू के सोच्नुपर्छ भने समयसँग तालमेल मिलाउँदै ‘ईश्वरतन्त्र’ बाट टाढा रहेर, विज्ञानसम्मत तथ्यमाथि टेकेर विज्ञान र प्रविधितर्फ लाग्नुपर्छ, नत्र समाजको पतन निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *