सन्दर्भ : सहकारी अध्यादेश २०८१ – सहकारी संस्था समाजवादी : बैङ्क तथा वित्तीय संस्था पुँजीवादी
- फाल्गुन २, २०८१
आर्यहरूको वैदिक सनातन धर्म वा हिन्दू धर्मको महान् धार्मिक ग्रन्थलाई वेद भनिन्छ । वेद शब्दको अर्थ ज्ञान हो । वेदकालीन समयलाई वैदिक काल भनिन्छ । वैदिक काललाई पनि ई.पू. १५०० देखि ई.पू. १००० सम्मको काललाई पूर्ववैदिक काल भनिन्छ जुन समय ऋग्वेदको समय थियो । ऋग्वेदमा भगवान् शिवलाई शिव भनिँदैनथ्यो । उनलाई भय, त्रास उत्पन्न गराउने, पशु र बालकहरूको हत्या गर्ने डरलाग्दो ‘रुद्र’ देवताको रूपमा लिइन्थ्यो । ई.पू. १००० देखि ई.पू. ५०० सम्मको काललाई उत्तर वैदिक काल भनिन्छ । यस समयमा सामवेद, यजुवैद, अथर्ववेद, ब्राह्मण साहित्यहरू (यज्ञहरूको व्याख्यान गरिएको साहित्य) र उपनिषद्हरू (गुरुको समीपमा गएर बसेर तत्व ज्ञान लिने) निर्माण भएको थियो । यस उत्तर वैदिककालमा भगवान् शिवको दक्षता, योग्यता र भूमिकालाई कदर गर्दै उनलाई कल्याणकारी, दयालु, दुःख हर्ने अर्थमा शिव शङ्कर, पशुहरूको रक्षा गर्ने पशुपति, देवताहरूको पनि देवता महादेव भनी सम्मान गरियो । सामान्य सरल भक्तिभावबाट नै प्रसन्न हुने भगवान् शिवलाई भोलेनाथ पनि भनियो । कैलाशवासी भगवान् शिवलाई नेपालमा ठुलो आदर, सम्मान र भक्तिभाव गरिन्छ ।
उत्तर वैदिककालमा थुप्रै पुराणहरू निर्माण भए । जस्तैः ब्रह्मपुराण, विष्णु पुराण, पद्म पुराण, भागवत् पुराण, भविष्य पुराण, मत्स्य पुराण आदि १८ वटा मुख्य पुराणहरूका साथै अन्य थुप्रै पुराण तथा कथाहरूको पनि रचना गरियो । जसमा थुप्रै पौराणिक पात्रहरू र उनीहरूको गतिविधिका बारेमा वर्णन गरिए । त्यस्ता पौराणिक पात्रहरूमा भस्मासुर दानवको नाम र कथा पनि धेरै प्रचलित रहेको छ । पौराणिक कथाअनुसार कश्यप ऋषिका ते¥हवटी पत्नीहरूमध्ये ‘दनु’ नामकी पत्नीबाट बृकासुर नामका एक दानवको जन्म भयो । नारद ऋषिको सल्लाहअनुसार यी दानव बृकासुरले भगवान् शिवको कठोर तपस्या गरेको थियो । उनको तपस्याबाट खुसी हुँदै भगवान् शिव उनलाई वरदान दिन तयार भए । भगवान् शिव नेपाली जनताजस्तै सोझो र सरल स्वभावका थिए । तर, दानव बृकासुर भने बडो कुटिल बुद्धिका थिए । दानवले शिवलाई भन्यो, “प्रभु ¤ मलाई यस्तो बर दिनुहोस् कि म जसको शिरमा आफ्नो हात राख्छु, त्यो भस्म होस् ।” यस किसिमको वरदान दानव बृकासुरलाई दिएपछि भविष्यमा के कस्तो होला ? परिणाम के हुन सक्दछ, वर माग्ने बृकासुर कस्तो खालको दानव हो ? यी कुनै पनि कुरा ख्यालै नगरी भोलेनाथ शिवले तुरुन्तै ‘तथास्तु’ (त्यस्तै होस्) भनी वरदान दिए । सोझा नेपाली जनताले नरम चिप्लो भाषा, प्रलोभन, झूटा वचनबद्धतामा विश्वास गरी गलत उम्मेदवारहरूलाई निर्वाचनहरूमा मतदान गरेजस्तै । हुन त वरदान दिएपछि भगवान् शिवले दानव बृकासुरलाई उनले पाएको वरदानको दुरूपयोग नगर्न सल्लाह दिएका थिए । तर, दुष्ट र कुटिल बुद्धिकाहरूले राम्रो र उचित सल्लाह कहाँ मान्छ र ? दानवले शिवको सल्लाहलाई उल्टो गरी सोच्न थाले । उसले सोच्यो कि यदि यस वरको दुरूपयोग गरियो भने शिवजीले उसबाट यो वर वा शक्ति खोस्नेछन् । त्यसैले, भगवान् शिव जसले उनलाई वरदान दिए उनै भगवान्लाई नै भस्म गरी उक्त वर सदाका लागि सुरक्षित पार्ने विचार गरे दानव बृकासुरले । दानवले भोलेनाथलाई नै भस्म गर्ने प्रयास गरे । भगवान् शिव तत्कालै त्यहाँबाट भागिहाले । भगवान् अगाडि अगाडि दानव पछाडि पछाडि दौड्न थाले । जसलाई आफूले वरदान दिई शक्तिशाली तुल्याए आज उनैबाट डराउँदै भगवान् शिव भाग्न बाध्य भए । अहिले लाखौँ नेपालीहरू विभिन्न निहुँहरूमा विदेश पलायन भएजस्तै ।
दानव बृकासुरले भगवान् शिवलाई लखेट्दै जाँदा बाटोमा परेका विभिन्न जीवजन्तु र वनस्पतिहरू छुँदै गए, सबै भस्म भए । त्यसैले दानव बृकासुरलाई पछि गएर भस्मासुर भनियो सबैलाई भस्म गर्ने असुर भन्ने अर्थमा । त्यो बेलादेखि यो दानव भस्मासुरको नामबाट कुख्यात भए । कतै कतै यिनलाई भगवान् शिवले लेपन गर्ने भस्मबाट जन्मेकोले यसलाई भस्मासुर भनियो पनि भनिएको छ ।
भगवान् भोलेनाथको दुर्दशा थाहा पाएर देवताहरूले भगवान् विष्णुकहाँ गई दुःखेसो पोखे । उनीहरूले भने कि कुपात्रलाई दिएको दानले दाताहरूलाई नै दुःख दिन्छ भनी बुढापाकाहरूले भन्ने गरेको सही रहेछ । अब भगवान् विष्णु नै कुनै उपाय गरी अनर्थ हुनबाट जोगाउन अनुरोध गरे देवताहरूले । भगवान् विष्णुले मनमनै भनेछ कि शक्तिको दुरूपयोग गर्दा महादेवले दुःख पाए जस्तै दुःख पाउँछ । शक्ति हुनेले त्यसको प्रयोग गर्नुभन्दा अगाडि प्रयोग गर्न लागेको स्थान, समय र पात्र के कस्तो छ उचित छ वा अनुचित छ ? उसले कतै प्राप्त गरेको शक्तिको पछि दुरूपयोग त गर्दैन ? आदि भनी सोच्नु र बुझ्नुपर्दछ । दुरूपयोग भएमा के हुन्छ ? आदि कुराहरूमा ध्यान पु¥याउनुपर्दछ । तर, के गर्नु सोझो भगवान् शिवले भस्मासुरलाई आफूले वरदान दिनुभन्दा अगाडि यसबारे ध्यानै पु¥याएन । त्यसको फल भोग्न अब उनी बाध्य भए, ज्यान जोगाउन भाग्दै हिँड्नुप¥यो । निर्वाचनको बेला झूटा आश्वासन, प्रलोभन, क्षणिक वा व्यक्तिगत केही लाभ आदिको मोहमा परेर गलत उम्मेदवारहरूलाई मतदान गरी निर्वाचित गरी अहिले नेपाली जनताले देश र जनताको दुर्दशा हेर्नुपरेको वा भोग्नुपरेको जस्तै । तर, यसो भन्दैमा समस्या समाधान त हुनेछैन । केही न केही त उपाय गर्नुप¥यो भनी भगवान् विष्णु सोचमग्न भए ।
भगवान् विष्णुले अति सुन्दरी विश्वमोहिनीको रूप लिएर भस्मासुरको अगाडि गए । भस्मासुर दानवले यस्तो अपूर्व सुन्दरीलाई देखेपछि उनीप्रति आशक्त भए । उनले सुन्दरीसित विवाह गर्ने प्रस्ताव राखे । सुन्दरीरूपी भगवान् विष्णुले त्यसको प्रत्युत्तर दिँदै भने, “मैले जस्तै अभिनय गरी नाची मलाई जसले नृत्यकलामा हराउन सक्ला म ऊसँग विवाह गर्नेछु । यो मेरो प्रतिज्ञा हो ।” सुन्दरीको रूप लावण्य र यौवनबाट निकै प्रभावित भएका दानव भस्मासुरले सुन्दरीको सर्तलाई तुरुन्तै सकारेर उनीसित नाच्न तयार भए । त्यसपछि, भगवान् विष्णुको मोहिनी रूपधारी विश्वमोहिनी र दानव भस्मासुर दुवै नाच्न थाले । नाच्ने क्रममा सुन्दरीले आफ्नो हात कहिले आफ्नो कम्मरमा त कहिले टाउकोमा राखेर नाच्न थाले । भस्मासुरले पनि त्यस्तै गरी नाचे । मोहिनी रूपदेखि होस गुमाएका दानवलाई आफूले पाएको वरदानअनुरूप उनको हात जसको टाउकोमा पर्दछ त्यो भस्म हुन्छ भन्ने तथ्य बिर्से । भस्मासुरले नृत्यको क्रममा आफ्नो हात नचाउँदै आफ्नै टाउकोमा राख्न पुगे । तत्कालै उनको टाउको भस्म भयो, फुट्यो र उनको मृत्यु भयो । त्यसपछि भस्मासुरदेखि भाग्दै लुक्दै हिँडेका महादेवलाई अब आइन्दा विचारै नगरी त्यसरी तुरुन्तै विश्वास गरी खुसी भई कसैलाई पनि वरदान नदिने सल्लाह दिँदै विश्वमोहिनीरूपी भगवान् विष्णु आफ्नो निवासस्थल वैकुण्ठमा गए । भोलेनाथ महादेव पनि अब आइन्दा त्यस्तो नगर्ने प्रण गर्दै कैलाशतिर गए ।
यो एउटा पौराणिक कथा हो । कथाले हामीलाई कुनै न कुनै शिक्षा, अर्ती, उपदेश र ज्ञान दिएकै हुन्छ । त्यसैले, यो कथा कति सत्य छ ? कति असत्य छ ? भनी सोधखोज गर्नुभन्दा यस कथाले हामीलाई के कस्तो दिशानिर्देश गरेको छ ? हामीले यसबाट के तथ्य बुझ्नुपर्दछ ? के शिक्षा लिनुपर्दछ ? भन्ने खालको हाम्रो विषयवस्तु हुनुपर्दछ । यसैतर्फ हाम्रो ध्यान जानुपर्दछ ।
हाम्रो देश नेपालमा विभिन्न राजनीतिक सङ्गठन, नेता, कार्यकर्ता र जनताको अथक प्रयासहरूबाट विभिन्न समयमा विभिन्न आन्दोलनहरू भए । यही क्रममा वि.सं. २०४६ सालको आन्दोलनबाट पञ्चायती व्यवस्था समाप्त भयो । संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक व्यवस्थाको स्थापना भयो । वि.सं. २०६२÷०६३ को आन्दोलनपश्चात् हाम्रो देशमा लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था पनि स्थापित भए । थुप्रै निर्वाचनहरू भए । थुप्रै नेताहरू निर्वाचित भए, आए र गए । सरकारहरू फेरिए । सत्ताधारीहरूको अवस्था अति माथि पुग्यो । तर, काम गरी खाने किसान र मजदुर असाध्यै कमजोर जनताको लागि खासै अन्तर भएन हिजो र आज । उनीहरूले भन्न थाले, व्यवस्था फेरियो तर हाम्रो अवस्था फेरिएन । आखिर यो किन भयो त ? भस्मासुरको कथाबाट अब हामी केही पाठ सिकौँ । विभिन्न निर्वाचनहरूमा हामी सोझा, गरिब र गरिखाने नेपाली जनताले मीठा कुरा गर्ने, लोभहरूमा भुलाउने, झूटा आश्वासन दिनेहरूको भनाइमा विश्वास गरी त्यस्ता उम्मेदवारहरूलाई आफ्नो अमूल्य मत दिई निर्वाचित गरे । उनीहरूलाई पद र प्रतिष्ठासहित सत्तामा पु¥याइयो । महादेवले दानव बृकासुरलाई वरदान दिएर भस्मासुर बनाएजस्तै ! तिनीहरूले हाम्रो देशका थुप्रै कलकारखाना तथा उद्योगहरू ध्वस्त पारे ।
त्रिभुवन विश्वविद्यालय, नेपाल औषधि लिमिटेड, नेपाल वायुसेवा निगमजस्ता संस्थाहरू विकृत बनाइँदै छन् । अर्थात्, यी सबै निकायहरू भस्म पारिँदै छन् भस्मासुरले जस्तै । देशको अर्थ व्यवस्था धरासायी हुँदै छ । विदेशसितको व्यापार घाटा बढ्दै छ । स्वदेशमा अवसर, सम्भावना र सुव्यवस्थाको सुरक्षा, विश्वसनियता नदेखेर लाखौँ नेपालीहरू विभिन्न निहुँहरूमा विदेश पलायन हुँदै छन् अर्थात् देशबाट भाग्दै छन् । कृषि, व्यापार, उद्योगहरूको अवस्था झन्झन् खस्किँदो छ । सधैँभरि यहीँ क्रम चलिरहेमा अब छिट्टै हाम्रो देश र जनताको अवस्था के हुन्छ ? हामी कहाँ र कस्तो अवस्थामा हुन्छौँ ? सोचौँ, र विचार गरौँ । प्रस्तुत कथामा भगवान् शिवलाई जोगाउन भगवान् विष्णुले विश्वमोहिनीको रूप लिएर, प्रभावित पारेर भस्मासुरलाई मारेजस्तै अब हामी नेपाली जनता विष्णु भगवान्को रूप लिनुप¥यो । मतलब उसले जस्तै भूमिका निर्वाह गर्नुप¥यो । अबको निर्वाचनको क्रममा नेता, कार्यकर्ता र सङ्गठनले हामी जनतासित चिप्लो कुरा गर्दै फकाउँदै लोभ्याउँदै मत माग्न आउँदा हामीले उनीहरूसित प्रश्नहरू गर्नुप¥यो कि उनीहरूले पहिले निर्वाचित हुँदा के कस्ता वाचाहरू पूरा गरिए, घोषणापत्रहरूमा उल्लेखित कामहरू कति सम्पन्न गरिए, देश र जनताका अवस्थामा कतिका सुधारहरू गरिए, देश किन र कसरी विरात हुँदै छ ? आदि प्रश्नहरू गर्नुपर्दछ । उनीहरूको पत्तासाफ गर्दै अब गरिखाने हामी गरिब, किसान, मजदुर, देशभक्त जनताको हितमा काम गर्ने सबैखाले असमान व्यवहार र शोषणको अन्त्य गर्ने पार्टीका उम्मेदवारलाई आफ्नो मत दिई विजयी बनाई भस्मासुरजस्ता दानवरूपी विनाशकारीहरूलाई पराजित गरी भस्म पार्नु आवश्यक छ । जनता जनार्दन अर्थात् जनता नै ईश्वर हुन्, भगवान् विष्णु हो । प्रस्तुत भस्मासुरको कथाको सन्देश पनि यही नै हो ।
सन्दर्भ ग्रन्थसूची
१. नेपालको इतिहास र संस्कृति – डा. पेशल दाहाल
२. धर्मग्रन्थका कथाहरू – सुमित्रा सिंह
३. पौराणिक पात्र र मिथकहरू – कमल रिजाल
Leave a Reply