भर्खरै :

हाङचाउतिर – ३

हाङचाउतिर – ३

पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)

वेस्टलेन कम्युन
दिनभर प्राचीन मन्दिर र स्थलहरू हेरिसकेपछि हामी साँझतिर वेस्टलेन कम्युन हेर्न गयौँ । वेस्टलेन कम्युनको एक उत्पादक दल ड्रागन वेल गाउँमा पर्छ । यस नाग कुवा गाउँको उत्पादक दलमा १२२ घरको जम्मा ५२६ जवान मानिसहरू छन् । त्यसमध्ये २०२ जवान पूर्ण र अर्ध श्रमशक्ति छ । श्रमशक्ति भन्नाले काम गर्न सक्ने मानिस हो । यस दलले खास गरेर लुङ चिङ चियाको उत्पादन गर्छ, ४५० माऊ चिया बगैँचा छ । यस उत्पादन दलमा एक सामूहिक भान्छाघर, एक शिशुशाला, एक बालोद्यान, स्वास्थ्य केन्द्र, पसल, केही पशु फारम, चिया कारखाना, स्कूल आदि छन् ।
यस दलले क्रमिकरूपले विकास गर्दै गएको रहेछ । क्रान्तिभन्दा पहिले यस गाउँमा एक माउ खेतमा २० किलोग्राम चिया उत्पादन गथ्र्याे भने १९५८ सम्ममा एक माउमा १५२ क्याटिज चिया उत्पादन ग¥यो । लामो कुदाइको आन्दोलनले गर्दा १९५९ मा ३०० क्याटिज उत्पादन ग¥यो ।
हाम्रो सत्कार दलका एक युवक नायकले गरेका थिए । हामीले यस उत्पादक दलको कारखाना, बालोद्यान, शिशुशाला, खेत आदि हेर्यौँ र पूरा साँझ हुन लागेपछि हामी आरामको लागि होटलमा फक्र्यौँ ।
रेशमको कारखाना
२१ जुलाई बिहान ८ः३० बजे, हामी टेक्स्टाइल अथवा रेशमी कपडा कारखानामा पुग्यौँ । हाम्रो स्वागत सत्कार कारखानाका एक अधिकारीले गर्नुभयो ।
यस रेशमी कपडा कारखाना (शिल्क टेक्स्टाइल मिल) को नाम तु चिं सङ हो । यस कारखानाको मुख्य उत्पादन शिल्क फ्याब्रिक हो, जो ५०,००० वर्गमिटर उत्पादन हुन्छ । कारखानामा ३०० लूम (बुन्ने मेसिन) छन् । ती ३०० लूमलाई तीन दलमा विभाजित गरिएको छ र २४ घण्टा काम चालू रहन्छ ।
यस कारखानाको स्थापना १९२२ मा भएको थियो । त्यसबेला १७ वटा लूम र ४२ जनामात्रै कामदारहरू काम गर्थे । त्यसबेला साम्राज्यवाद, पुँजीवाद र च्याङ काइशेक प्रतिक्रियावादी शासनले गर्दा कारखानाले राम्रो उन्नति गर्न सकेको थिएन । साम्राज्यवादीहरू कारखानाको उन्नति देखेर डराउँथे र पुँजीपतिहरू बढी नाफा खोज्थे, जसले गर्दा कारखानाले राम्रो उन्नति गर्न सकेन । फेरि त्यसबेला सबैजसो कारखाना हातले नै चलाउँथे । रेशमको उत्पादनमा चीनको १,००० वर्षभन्दा पुरानो इतिहास छ । त्यसबेलादेखि संसारमा नै चीन रेशम उत्पादनमा प्रसिद्ध छ ।
१९४९ को क्रान्तिपछि कारखानाको कायापलट भयो । कम्युनिस्ट पार्टीको नेतृत्व र जन–सरकारको कोसिसले गर्दा कारखानाले धेरै प्रगति गर्यो भन्दै कारखानाका प्रमुखले आफ्नो उपलब्धिहरू बताउँदै जानुभयो । १९५२ सम्ममा कारखानाको उत्पादन ३.३ गुणा बढ्यो । १९४९ मै अथवा क्रान्तिको लगत्तै पछि पैसाको हिसाबले उत्पादनमा ५.०३ गुणा बढ्यो । क्रान्तिपछि मजदुरहरूले काम गर्ने तरिकामा नयाँ नयाँ प्रयोगहरू व्यवहारमा ल्याए र कारखानालाई अर्ध स्वचालित र विद्युतीकरण (बिजुलीले काम गर्ने) गर्ने प्रयासहरू गरेर उत्पादनमा ६ गुणा वृद्धि गराए । १९५८ को लामो कुदाइपछि उत्पादन १९५७ को तुलनामा ५० प्रतिशत र मूल्यको हिसाबले ६६ प्रतिशत बढ्यो । लामो कुदाइमा भाग लिएर १९५९ मा मजदुरहरूले कारखानामा सुधार ल्याउन १११४ प्रकारका सुझावहरू प्रस्तुत गरे, जसमा ११४ वटा स्वीकारेर लागु भयो । एक लाख २० हजार युआनको पुँजी थपेर एक लाख ३० हजारको उत्पादन बढ्यो ।
क्रान्तिपछि नयाँ मेसिनहरूको प्रयोग, पुँजीको विकास आदि कुराले गर्दा यस वर्ष १९६० को राष्ट्रिय लक्ष्य २ महिनाअघि नै पूरा गरियो । साथै प्राविधिक क्रान्तिले उत्पादन बढाउनुको अलावा गुणमा पनि धेरै राम्रो प्रगति गर्यो । विकासको साथै कपडाको चौडाइमा पनि प्रगति गरेको छ । पहिले २.२ मिटरको मात्रै चौडाइ हुन्थ्यो र अहिले ३.५ मिटरको भएको छ । पहिले २–३ रङ्गको मात्रै उत्पादन हुन्थ्यो त अहिले ३० रङ्गको कपडा उत्पादन हुन्छ ।
क्रान्तिभन्दा पहिले यस कारखानाले १०० प्रकारका माल सामानहरू उत्पादन गथ्र्यो । त्यसमा टेबुलपोस, कपडा, रेशमी चित्रहरू, कलात्मक वस्तुहरू, तकिया खोल, तन्ना आदि छन् । तर, अहिले टेबुलपोस, तन्ना, तकियाका खोलहरू, विश्वका ठुलठुला व्यक्तिका चित्रहरू, राजनैतिक, आर्थिक, सांस्कृतिक र विश्वका हरेक ठाउँ र विषयका सुन्दर चित्रहरू गरेर जम्मा १००० भन्दा बढी प्रकारका मालसामानहरू उत्पादन हुन्छ ।
मजदुरको जीवनबारे कारखानाका अधिकारीले भन्नुभयो, क्रान्तिपछि कामदारहरूको जीवनमा धेरै कुरामा परिवर्तन आएको छ । १९५४ मा मजदुरहरू बिरामी हुँदा निःशुल्क उपचार र भत्ता, रिटायर्ड (अवकास) हुँदा उचित भत्ता र सुरक्षाको ग्यारेन्टी दिइएको छ । साथसाथै ज्याला बढाउनुको अलावा कामको घण्टा पनि घटाइदिएको छ । ती सहुलियतहरूले मजदुरहरूमा काम गर्ने लगन र इच्छा बढेको छ । सामूहिक भान्छा घर, बस्ने क्वाटर, शिशुशाला, बालोद्यान क्लिनिक, आरामगृह आदिको पनि सहुलियत दिइएको छ ।
यस कारखानामा अहिले जम्मा मजदुरहरूको सङ्ख्या १७७० छ जसमा ३७ प्रतिशत महिला छन् ।
क्रान्तिपछि यस कारखानाका मजदुरहरूको सांस्कृतिक स्तर पनि धेरै उँचो छ । पुस्तकालय र वाचनालयको राम्रो व्यवस्था छ र मजदुरहरूको मनोरञ्जनको लागि नाटक दल, सिनेमा दलले बरोबर कार्यक्रमहरू प्रस्तुत गर्छन् । यस कारखानाको अवकासकालीन स्कूल (फुर्सती स्कूल) पनि छ ।
आफ्नो कारखानाको अँध्यारो पक्षलाई पनि यथार्थरूपमा राखेर हाम्रो प्रश्नको उत्तरमा अधिकारीले भन्नुभयो, हो, हाम्रो कारखानामा केही पुराना कमीहरू छन्, जसलाई हामी निकट भविष्यमै हटाउन सक्नेछौँ । हामीसँग अहिले पनि कति कलपुर्जा या कारखाना पुरानै छन्, त्यसले मात्रै देशको मागको पूर्ति गर्न उत्पादन गर्न सक्दैन । हाम्रो लक्ष्य जम्मै मेसिन र कलपुर्जाहरूलाई अर्ध–स्वचालित गर्ने हो, तर अहिले भइसकेको छैन तापनि धेरैजसो मेसिनहरू अर्ध–स्वचालित अवस्थामा परिणत भइसकेका छन् । त्यसकारण, उत्पादनमा पनि वृद्धि भएको हो ।
कुराकानीपछि हामी कारखाना हेर्न गयौँ । डिजाइन बनाउने, बुन्ने आदि कारखानाका विभिन्न विभागहरू हे¥यौँ । साँच्चै कलपुर्जा अर्ध–स्वचालित थिए र कुनै कुनै मात्रै हातले गरिरहेका थिए । कारखानाको भौतिक अवस्था (काम गर्ने ठाउँहरू) स्वस्थकर र राम्रो थियो । कलपुर्जाहरू करकर गर्दै देशविदेशका सुन्दर दृश्यहरू र संसारका ठुलठुला लोकप्रिय नेता, लेखक, कवि, कलाकारहरू र विभिन्न प्रकारका चिजहरू र राम्रा राम्रा रेशमी कपडाहरू बुन्दै थियो । डिजाइनर डिजाइन बनाउन व्यस्त थिए । अर्को कोठामा टेबुलपोसको गुलाफ साँच्चै गुलाफजस्तो फुलिरहेको थियो रेशमको । झट्ट हेर्दा त्यसलाई साँच्चिकै गुलाफ सम्झनेछ– बास्नाविनाको । धन्य कलाकारहरूको कला । अनेक प्रकारका राम्रा राम्रा बुट्टाहरू भएका रेशमी कपडाहरू पनि बुन्दै थियो । क्रेमलिन, पेचिङ, लेनिनग्राड र शाङ्घाई, स्तालिनग्राड र क्यान्टन, कालासागर र सुचाउ आदि संसारका विभिन्न सुन्दरतम स्थलका दृश्यहरू, माक्र्सदेखि माओ र प्याट्रिस लुमुम्बादेखि क्यास्ट्रोसम्मका रङ्गविरङ्गी रेशमी फोटोहरू पनि त्यहाँ थिए । अहिलेसम्म हामीले हेरेका कारखानाहरूमध्ये यो सानो आकारको थियो । तर, पनि मजदुरहरूलाई दिइने सहुलियतहरूमा कुनै त्रुटि देखेनौँ ।
कारखानाको एउटा कोठामा एउटा ठुलो रेशमको फोटो टाङ्गिएको थियो । चित्र अध्यक्ष माओको थियो । यस चित्रको लम्बाइ ६ फीट र चौडाइ ४ फीटको थियो । यसमा ३६ रङ्ग थियो । चित्र साँच्चै सजीवजस्तो थियो ।
कारखाना डुलिसकेपछि ‘भिजिटर बुक’ (आगन्तुक पुस्तिका) मा आफ्नो प्रभाव लेखिसकेपछि गहिरो छाप लिएर बिदा भयाँै, अधिकारीलाई धन्यवाद दिएर ।
हाङचाउको बजारमा
दिउँसो हामीले बजार घुम्यौँ । रेशमी चित्रहरू, कपडा र क्युरियो पसलहरू गयौँ । पसलमा बडो मिहीन र कलात्मक वस्तुहरू हे¥यौँ । श्रीखण्डको कलापूर्ण स–साना पङ्खा र चुरोटको बट्टा आदि अति राम्रो थियो । पङ्खा खोल्नासाथै श्रीखण्डको मगमग वासना आउँथ्यो । पसलको जम्मै मालसामानहरूको मूल्य पूर्ण निर्धारित थियो ।
सबै प्रकारका सडक र पसलहरूमा गयौँ । पसलहरूमा जतिसुकै हुल भए पनि मालसामान किन्न र हेर्न हामीलाई कुनै प्रकारको कठिनाइ झेल्नु परेन । सबै ठाउँमा हामीले अति शिष्ट व्यवहार पायौँ । अरु पुँजीवादी बजारमा जस्तो ठग्ने प्रवृत्ति मैले हाङचाउमा मात्रै होइन चीनको कुनै पनि ठाउँमा देखिन ।
दिउँसो ३ बजेतिर हामी हाङचाउको ७ नम्बर हाङचाउ मिडिल स्कूल हेर्न गयौँ ।
७ नम्बर हाङचाउ मिडिल स्कूल
मोटरको ढोका खुल्नासाथै स्कूलका प्रिन्सिपल (हेडमास्टर) वाङ हो–लीले हात मिलाएर स्वागत गर्नुभयो । हामी स्कूलको बैठक (सत्कारगृह) मा लगियाँै । बैठकको बिचमा एउटा लामो टेबुल थियो । टेबुलको चारैतिर १३–१४ वटा मेचहरू थिए । ठुलो टेबुलको एक छेउमा एक अफिस डेक्स र केही मेच र एक दराज थिए । भित्तामा अध्यक्ष माओ र अरु चिनियाँ नेताहरूका चित्रहरू टाँगिएका थिए । अनि दायाँबायाँ भित्ताहरूमा यस स्कूलले हरेक क्षेत्रको प्रतियोगितामा लिएका पुरस्कार र प्रमाणपत्रहरू टाँगिएका थिए ।
टेबुलको पहिलो लाइनमा हामी पाँच जना विदेशीहरू म, रत्ना र अरु ३ भारतीय साथीहरूसँगै द्वेभाषी मि. ली र हाङचाउ विद्यार्थी फेडरेसनका ४ जना साथीहरू थियौँ । टेबुलको अर्कोपट्टि प्रिन्सिपल वाङ हो–ली, अरु शिक्षकहरू र स्कूल युनियनका ३–४ जना विद्यार्थी साथीहरू थिए । प्रिन्सिपल वाङ हो–लीले सबभन्दा पहिले नेपाल र भारतका विद्यार्थीहरूलाई स्कूलमा स्वागत गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो । आफ्नो स्वागत भाषणमा उहाँले एसियालाई एकता र विश्वशान्तिमा जोड दिनुभयो । त्यसपछि उहाँले आफ्नो स्कूलको परिचय दिनुभयो, “यस स्कूलको नाम नम्वर ७ हाङचाउ मिडिल स्कूल हो । यसको ६० वर्षको इतिहास छ । यस स्कूलमा जम्मा १४७० जना विद्यार्थीहरू पढ्छन् । त्यसमा ८०६ जवान विद्यार्थीहरू त किसान मजदुरकै परिवारबाट आएका छन् । स्कूलमा जम्मा ३० वटा कक्षाहरू छन् र ६० जवान शिक्षकहरू छन् ।”
प्रिन्सिपल वाङ हो–लीले यस स्कूलको इतिहास बताउँदै भन्नुभयो, “यस स्कूलमा पहिले जमिनदार र पुँजीपतिहरूका छोराछोरीहरू मात्रै पढ्न पाउँथे । यो स्कूल खास गरेर उनीहरूकै लागि मात्र खोलिएको थियो । तर, १९४९ को क्रान्तिपछि यस स्कूलमा अरु वर्गका छोरा–छोरीहरूले पनि पढ्न पाए । १९५८ देखि यस स्कूलले चौतर्फी विकास गरेको छ । क्रान्तिभन्दा पहिले यस स्कूलको शिक्षा व्यवस्था अव्यावहारिक र विदेशी किसिमको थियो । त्यो व्यवस्था पूर्णतया दोषले भरेको थियो । त्यस प्रकारको शिक्षा व्यवस्थामा विद्यार्थीहरूले आफ्नो ज्ञान र विद्यालाई उपयोगमा ल्याउन सक्दैनथे । साथै विद्यार्थीहरूको बढी सङ्ख्या परीक्षामा असफल हुन्थे । क्रान्तिपछि नयाँ जनवादी सरकारले प्रतिक्रियावादी शिक्षा व्यवस्था फेरेर देश सुहाउँदो, व्यावहारिक नयाँ शिक्षा नीति लागु गर्यो । त्यस नयाँ शिक्षा नीतिअनुसार यस स्कूलमा पनि १९५८ देखि नै शिक्षा उत्पादक भ्रमसँग मिलाउनुपर्छ भन्ने सिद्धान्तअनुसार स्कूलमा फलाम पगाल्ने ज्यासल, अरु मेसिनरी र शिल्पकलाको व्यवसाय सिकाउने र काम गराउने कार्यशालाहरू र खेतीको पनि व्यवस्था गरे । ज्यासलमा फलाम पगाल्ने, जोड्ने र अरु स–साना कलपुर्जाहरू बनाउने आदि काम हुन्छ । स्कूलको ३० माऊ खेतमा आलु, तरकारी, फलफुलको खेती हुन्छ । पशुपालन जस्तै सुँगुर, गाई पाल्नेजस्ता कृषिका अरु क्षेत्रहरू पनि यस स्कूलमा विकास भएको छ । विद्यार्थीहरूले पढ्नुको साथै त्यस विषयको व्यावहारिक कार्यमा पनि भाग लिन्छन् । सिनियर (माथिल्लो कक्षाका) विद्यार्थीहरूले दिनको ८ घण्टाको हिसाबले खेत, कारखाना र ज्यासलमा काम गर्छन् र जुनियर (तल्लो कक्षाका) विद्यार्थीहरूले ६ घण्टा काम गर्छन् । विद्यार्थीहरूले ‘लामो कुदाइ’ मा पनि भाग लिए । साम्राज्यवादीहरूको हाँकलाई स्वीकार गर्न, हमलावरहरूलाई हराउन स्कूलका हरेक विद्यार्थीहरूले ‘लामो कुदाइ’, ‘जनकम्युन’ र ‘आम दिशा’ लाई सम्पूर्णरूपले समर्थन गर्छन् । नयाँ शिक्षा नीतिले विद्यार्थीहरूमा सामूहिक जीवन र जनताको धनलाई माया गर्ने भावना बढेको छ ।
“छिमेकी र बाटोमा आउने बिरामीहरूलाई घर र अस्पताल पु¥याइदिने, एक आपसमा सहायता गर्ने भावना विद्यार्थीहरूमा बढेको छ । स्कूलको समयपछि विद्यार्थीहरू सिकेको ज्ञानलाई रिसर्च (अन्वेषण) गर्नेजस्ता गम्भीर अध्ययन, गणितमा राम्रो नम्बर ल्याउने, बायोलोजिकल (जीव विज्ञान) दल बनाएर ग्रुपको काम र अध्ययन आदि विभिन्न कार्यकलापमा व्यस्त हुन्छन् ।
“पढाइको साथसाथै विद्यार्थीहरूले आफ्नो स्वास्थ्यमा पनि धेरै राम्रो प्रगति गरेका छन् । पहिले सधै बिरामी मात्रै भइरहने विद्यार्थीहरूले अहिले ५५० मिटर दौडमा पहिला हुन्छन् र एक किलोमिटरको रेसमा पनि भाग लिन्छन् । विद्यार्थीहरूले हरेक दिन आधा घण्टा स्वास्थ्यको कक्षामा भाग लिन्छन् । विद्यार्थीहरू अहिले आफैँ अध्ययन गर्नुको साथै वैज्ञानिक अनुसन्धानको काममा बढी ध्यान दिन्छन् ।”
विद्यार्थीहरूको कार्यकलापको विषयमा बताउँदै प्रिन्सिपल वाङ हो–लीले भन्नुभयो, “क्रान्तिपछि र नयाँ शिक्षा नीतिले विद्यार्थीहरूमा राजनैतिक चेतना धेरै मात्रामा बढेको छ । अहिले यस स्कूलको विविध कार्यकलापमा भाग लिने प्रमुख ३३ जना विद्यार्थीहरू छन्, उनीहरू भान्छा तयार गर्ने काममा पनि भाग लिन्छन् ।”
बिहानको र दिउँसोको खाना विद्यार्थीहरू स्कूलमै खान्छन् र खानाको व्यवस्था शिक्षक र विद्यार्थीहरूको एक कमिटीले गर्छ । खानामा जम्मा ५ परिकारहरू हुन्छन् । खानाको पैसा स्कूलको उत्पादनबाटै व्यहोर्छ । विद्यार्थीहरूको किताबको लागि पनि राम्रो सहुलियत छ ।”
विद्यार्थीहरूले के के विषय पढ्नुपर्छ भन्ने हाम्रो प्रश्नको उत्तरमा प्रिन्सिपल वाङ हो–लीले भन्नुभयो, “विद्यार्थीहरूले चिनियाँ भाषा, गणित, राजनीतिशास्त्र, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, इतिहास, भूगोल आदि मुख्य मुख्य पढ्ने विषय हुन् । त्यसको अलावा विद्यार्थीहरूले उत्पादक श्रममा भाग लिन्छन् ।” विदेशी भाषाको प्रश्नको उत्तरमा उहाँले भन्नुभयो कि उच्च शिक्षा हासिल गर्नेहरूले अङ्ग्रेजी र रसियालीमध्ये एक भाषा पढ्छन् । यसबाहेक तल्लो कक्षाका विद्यार्थीहरूलाई सङ्गीत र चित्रकला अनिवार्यजस्तै छ ।
प्रिन्सिपल वाङ हो–लीले स्कूलको विषयमा बोलिसकेपछि विद्यार्थी युनियनका सभापतिले नयाँ शिक्षा नीतिको समर्थनमा भन्नुभयो, चीन चाँडै एक उन्नतिशील देश हुनको लागि चिनियाँ जनतामा उच्च राजनैतिक शिक्षा र विज्ञानको जरुरी छ । समाजवादको निर्माण र साम्यवादी समाजको बाटो तयार गर्न चिनियाँ कम्युनिस्ट पार्टीले पुरानो अव्यावहारिक शिक्षा व्यवस्थाको बदलामा जुन व्यावहारिक शिक्षा व्यवस्था लागु गरेको छ, त्यो सा¥है खुसी र स्वागत गर्नुपर्ने कुरो हो ।
कोरियाली, जापानी, मिश्र आदि जनताको समर्थनमा साम्राज्यवादीविरोधी सभा र विश्वशान्तिको लागि गरिने सभा र जुलुसहरूमा हामी यस स्कूलका विद्यार्थीहरूसँग भाग लियौँ । यो राजनैतिक चेतना अथवा अन्तर्राष्ट्रिय भावना नयाँ शिक्षा नीतिको फल हो । नयाँ शिक्षा नीतिले गर्दा देशमा निरक्षरतालाई पूर्णतया हटाउन सफल भएको छ । साथै परिश्रम या शारीरिक श्रमलाई पहिले हेय दृष्टिले हेरिन्थ्यो । तर, नयाँ शिक्षा नीति लागु गरेदेखिन् शारीरिक श्रम गर्ने मानिसहरूलाई आदरको भावनाले हेर्छन् । यसरी नयाँ शिक्षा नीतिले मानिसहरूको हृदय परिवर्तन गरिदिएको छ । समाजवादी र साम्यवादी शिक्षा पाएर विद्यार्थीहरू काम गरेर खाने कामदार जनतासँग मिलेर काम गर्ने भावना, सानोलाई ठुलोले हेरचाह गर्ने, अनुशासनमा बस्ने, भूललाई सच्याउने, आफूभन्दा माथिको मानिसबाट सिक्ने आदि भावनाहरू विद्यार्थीहरूमा बढ्न गएको छ । फलाम र इस्पात कसरी बनाउने, रेडियोग्राफिक काम कसरी गर्ने भन्ने कुराहरू पनि विद्यार्थीहरूले सिके । यस्ता भौतिक कुराहरूको व्यावहारिक शिक्षा प्राप्त गर्नुबाहेक विद्यार्थीहरूले प्राविधिक क्रान्तिमा पनि भाग लिए । नयाँ शिक्षा नीतिले गर्दा विद्यार्थीहरूको सांस्कृतिक स्तर पनि माथि उठेको छ र जीवनलाई कसरी सुखी बनाउने भन्ने भावनातिर पनि चाख बढ्दै गएको छ ।
छात्र सङ्घका सभापतिको नयाँ शिक्षा नीतिद्वारा विद्यार्थीहरूले भौतिक र आध्यात्मिक क्षेत्रमा गरेको प्रगतिको रिपोर्टपछि नयाँ शिक्षा नीति लागु भएको ३ वर्षको आफ्नो अनुभव १८ वर्षकी एक छात्राले निम्न तरिकाले व्यक्त गरिन्, “म हाङचाउका सबभन्दा धनी अथवा सबभन्दा ठुलो पुँजीपतिकी छोरी हुँ । पुँजीपतिकी छोरी भएकीले पहिले म शारीरिक श्रमलाई मन पराउन्नथेँ । शारीरिक श्रम गर्नेहरूप्रति म घृणाको दृष्टिले हेर्थेँ । तर, १९५८ को नयाँ शिक्षा नीति लागु भएपछि सबै विद्यार्थीहरू शारीरिक श्रम गर्न खेत र कारखाना जान्थे । त्यसबेला स्कूल या कक्षामा म एक्कलै बाँकी हुन्थेँ । त्यसको मुख्य कारण एक त म श्रमलाई तल्लो दृष्टिले हेर्थेँ, दोस्रो कुरा, उनीहरू मलाई उत्पादक श्रममा भाग लिन कर गर्दैनथे । पछि अति असजिलो अनुभव हुँदै गयो । मलाई एक्कलै स्कूलमा बसिरहन मन लागेन । बस्ने पनि कसरी ? घरमा पनि एकलै बस्न मन लाग्दैनथ्यो । एकदिन म पनि उनीहरूसँगै उत्पादन श्रममा भाग लिन जान खोज्दा एक जना साथीले भन्यो, “तिमी धेरै धनी पुँजीपतिकी छोरी, तिमी काम गर्न सक्दैनौ । तिम्रो हात खुट्टा दुःख्नेछ, फेरि तिमीलाई घरमा गाली पनि गर्ला ।” उनको भनाइले मलाई सा¥है छोयो । अनि मैले भने, “हो म घरमा काम केही पनि गर्दिनँ । त्यसकारण, मैले एकैचोटि काम गर्न नसकुँला, तर कमसेकम तिमीहरूले खाने बेलामा चियासम्म त हाल्न सकुँला ।” यसरी मैले सँगै काम गर्न जान जिद्दी गरेँ । मेरो भनाइमा जम्मै सहमत भए र त्यस दिनदेखि उत्पादक श्रममा मैले पनि भाग लिएँ । पछि मैले पनि बिस्तारै काम गर्न थालेँ र सिकेँ । उत्पादन श्रममा भाग लिएर मेरो शारीरिक कमजोरी पनि हटेर गयो । परिश्रमले गर्दा मेरो टाउको दुख्ने रोग पनि निको भयो । म झन्झन् स्वस्थ हँुदै गएँ र खेलकुदमा पनि भाग लिन थालेँ । गएको साल मैले लङ जम्प, हाई जम्प र दौडमा भाग लिएँ । ती प्रतियोगिताहरूमा म पहिलो भएँ । यति भनेर तिनीले भित्तामा टाँगिएका तिनका प्रमाणपत्रहरू सङ्केत गरेर देखाइन् । यसो हेरेँ, उनले खेलकुदमा ५–६ वटा प्रमाणपत्रहरू पाएकी थिइन् । उनी भर्खर १७–१८ वर्षकी खूब राम्री केटी थिइन् ।
उनको बोलाइमा अलिकति पनि कृत्रिमता झल्केको थिएन ।
तिनले आफ्नो कुरो अगाडि बढाउँदै गइन्, “उत्पादन श्रममा भाग लिएर मेरो शरीर स्वस्थ हुनुको साथै मेरो व्यावहारिक ज्ञान पनि बढ्दै गयो । बिदाको बेलामा कम्युनमा किसानहरूसँग जीवन बिताउँदा मलाई खुब आनन्द र काम गर्नमा उत्साह आउँथ्यो । उनीहरूसँग काम गरेर कृषि सम्बन्धी मेरो धेरै ज्ञान बढ्यो । उनीहरू हामीहरूबाट किताबी या सैद्धान्तिक ज्ञान सिक्थे । हामीहरू उनीहरूबाट व्यावहारिक ज्ञान सिक्थ्यौँ । हामीले उनीहरूसँगै काम गर्यौँ । मलाई उनीहरूबाट छुट्नै मन लाग्दैनथ्यो । अब म कम्युनमा गएर किसानहरूसँग जीवन बिताउन सा¥है मन पराउँछु । यसरी कम्युनिस्ट पार्टीको नयाँ शिक्षा नीतिले गर्दा मजस्तो पुँजीपतिको परिवारबाट आएको व्यक्तिलाई पनि फाइदा भएको छ र भविष्यमा पनि पार्टी र अध्यक्ष माओको नेतृत्वमा झन्झन् राम्रोसँग काम गर्दै जाने छु ।”
यति भनेर तिनले आफ्नो कुरालाई टुङ्गयाइन् । तर, हामीले उनीसँग प्रश्न गर्न छोडेनौँ । हामीले सोधिहाल्यौँ, “तपाईँ कम्युनमा गएर बस्दा घरमा आमाबाबुले विरोध गर्नुहुन्नथ्यो ?”
“अँ, पहिले त गर्नुहुन्थ्यो । तर, मैले आमाबाबुलाई सम्झाउँदै गएँ कि सबै साथीहरू जान्छन् र म मात्रै एक्कलै कसरी बस्न सक्थेँ । फेरि उहाँहरूले पनि समयको लहरलाई बुझिसक्नुभएको छ । मेरो कुरो सुनेर आमाबाबु भन्नुहुन्थ्यो, “हामीले कमाएको नै आफ्नै छोराछोरी, तिमीहरूको लागि हो र तिमीहरू आफैँ यसरी स्वेच्छाले काम गरेर खान खोज्छौ र त्यसैमा आनन्द मनाउँछाँै भने ठिक्कै छ ।”
तिनको भनाइले बङ्गालका महिला साथीहरू धीरा र कणिका सा¥है प्रभावित भइन् ।
कुराकानी र प्रश्न उत्तरपछि हामी स्कूलका अरु विभागहरू हेर्न गयौँ । हामी स्कूलको वर्कशप (कार्यशाला या ज्यासल) मा गयौँ । त्यहाँ विद्यार्थीहरू एप्रोन र पञ्जा लगाएर एउटा डाइनामो बनाउँदै थिए । कोही मोडेल तयार गरिरहेका थिए । कोही मोडेलको लागि हिसाब गर्दै थिए ।
विद्यार्थीहरू खुब उत्साहित र हँसिला देखिन्थे र आ–आफ्ना काममा व्यस्त थिए । उनीहरू कारखानाका मजदुरहरूजस्तै लगनशील भएर काम गर्दै थिए ।
डाइनिङ हलमा एक दल विद्यार्थीहरू खाजाको तयारीमा लाग्दै थिए । अर्कोतिर केही विद्यार्थीहरू खेलकुदमा व्यस्त थिए । विद्यार्थीहरूको सङ्ख्या र विभागहरू अनि उनीहरूका कार्यकलापहरू हेरेर म मिडिल स्कूलमा होइन कुनै विश्वविद्यालयमा डुलिरहेको सम्झेँ ।
करिब १ घण्टा स्कूलका विभागहरू सरसरती हेरिसकेपछि हामी प्रिन्सिपल वाङ हो–ली, शिक्षकवर्ग र विद्यार्थी युनियनका साथीहरूलाई धन्यवाद दिएर बिदा लियौँ ।
मोटर क्यान्टनको लागि रेलवे स्टेसनतर्फ दौडिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *