भर्खरै :

सिछुवानको गाउँमा चिनियाँ नयाँ वर्ष

सिछुवानको गाउँमा चिनियाँ नयाँ वर्ष

फङ परिवारबाट नयाँ वर्ष मनाउन आफ्नो पुख्र्याैली गाउँ जाने निमन्त्रणा साँच्चै अनपेक्षित थियो । परिचय भएको महिना दिन पनि नभएको एउटा चिनियाँ परिवारबाट आफ्नो सबभन्दा ठुलो चाड मनाउन छन्तुबाट २ सय किलोमिटर टाढा आफ्नो गाउँमा जाने निमन्त्रणाले खासमा चिनियाँहरू कति सहजै भिन्न संस्कृतिलाई स्वीकार्छन् भन्ने कुरा दर्साउँछ ।
वसन्त पर्वको हावा लाग्न थालेदेखि विश्वविद्यालय क्रमशः सुनसान हुँदै थियो । हरेक बिहान, दिउँसो र ढिला रातिसम्म पनि विद्यार्थीहरू लगेज डो¥याउँदै कलेजबाहिर गइरहेको आवाज सुनिन्थ्यो । उनीहरू सयौँ किलोमिटर टाढा आफ्नो घर फर्किँन लागेको कुरा उनीहरूको अनुहारमा देखिने चहकबाट सहजै अनुमान लगाउन सकिन्थ्यो ।
अरु बेला बस्न ठाउँ पाउन पनि मुस्किल पर्ने पुस्तकालय खाली हुन थालेको थियो । खेलमैदानमा बास्केटबल, ब्याडमिन्टन, भलिबल खेल्ने विद्यार्थीहरू पातलिँदै थियो । विद्यार्थीको सङ्ख्या पातलिएसँगै क्याम्पसका ठुला क्यान्टिनहरू बन्द गरिएका थिए । बिदामा घर नजाने चिनियाँ विद्यार्थी र विदेशी विद्यार्थीलाई ध्यानमा राखेर सानो क्षमताका क्यान्टिनमात्र चालु थिए ।
उसै पनि जाडोले पात झरेर क्याम्पसको परिवेश रङ्ग खुलिइएको तस्बिरजस्तै भइसकेको थियो । एकाध रुखमा फुलेका गुलाबी रङ्गका फुलले वसन्तको आगमनको सङ्केत गरे पनि अझै पनि टुसाइनसकेका पातले वरपरको दृश्य उजाड देखिन्थ्यो । त्यसमाथि दिनैभरि भरभराउँदा युवायुवतीहरूको दौडधुप चलिरहने बाटा सुनसान हुँदा विश्वविद्यालय कुनै परित्यक्त गाउँजस्तै भएको थियो । सयौँ साइकल दौडिरहने बाटोमा एकाध साइकल पनि अल्छी मान्दै गुडिरहेजस्तो देखिन्थ्यो ।
यस्तो बेला कसैले आफ्नो गाउँमा जान गरेको प्रस्तावलाई कसले पो नकार्न सक्थ्यो र ? त्यसमाथि चिनियाँ जनजीवन र संस्कृतिबारे बुझ्ने चाहना त मनभित्र थियो नै । विच्याटमा सन्देश खसेको केही मिनेटमै मैले खुसी व्यक्त गर्दै आफू जान तयार भएको आशय व्यक्त गरेँ । श्रीमती फङले जाने दिन र समय निधो गरी पछि खबर गर्ने पुरक सन्देश पठाइन् । गाउँमा कम्तीमा तीन दिन बस्नुपर्ने खबर सुरुकै सन्देशमा उल्लेख थियो ।
चीनको गाउँमा चिनियाँ नयाँ वर्ष मनाउन जाने कुराले मनमा अनेक कुरा खेल्ने नै भयो । उत्साह र उत्सुकतासँगै मनमा भने एकप्रकारको संशय पनि थियो, चिनियाँ भाषाको नाममा केही शब्दमात्र बोल्न जानेको म कसरी चिनियाँ भाषामा पनि अलग भाषिका बोलिने सिछुवानको एउटा गाउँमा केही दिन बिताउँछु होला ?


फेब्रुअरी ९ को बिहान हामी छन्तुबाट नानछोङ सहरको च्यानसिङ नगरतिर जाँदा बाटोमा नयाँ वर्ष र वसन्त पर्वको उमङ्ग छाइसकेको थियो । चाडपर्व गाउँघरमै रमाइलो भन्ने नेपाली आहान चीनमा पनि सान्दर्भिक छ । वसन्त पर्व मनाउन छन्तुबाहिर जाने गाडीको घुइँचो दसँैअघि काठमाडौँबाहिर जाने गाडीको घुइँचोजस्तै थियो । राजमार्ग वरपरका दृश्य नियाल्दै जाँदा नेपालकै कुनै ठाउँको यात्रा गरिरहेको भान भए पनि बिचबिचमा छिचोलिने सुरुङमार्ग र सफा बाटो हेर्दा भने मन खुम्चिन्थ्यो ।
झन्डै चार घण्टाको यात्रापछि च्यानसिङ नगर पुग्दा त्यहाँ वसन्त पर्वको रङ्ग चढिसकेको थियो । हरेक घरदैलोअघि रातो कागजका टुक्राको थुप्रो देख्दा आश्चर्य लागेको थियो । पछि थाहा भयो, त्यो त पटाका पड्काएपछि थुप्रिएको कागतको थुप्रो रहेछ । चीनको सहरी क्षेत्रमा पटाका पड्काउन प्रशासनले निषेध गरे पनि गाउँमा चाडपर्वमा धुमधामसँग पटाका पड्काइने रहेछ ।
छङ परिवारको घर पुग्दा ७० वर्ष नाघेकी छङ आमा हाम्रै बाटो हेर्दै थिइन्् । बुढ्यौलीसँगै खुट्टा खोच्याउँदै हिँड्ने आमालाई छोराबुहारी र नातिनीहरूको आगमन वसन्त पर्व भित्रिएजस्तै भएको हुनुपर्छ । त्यही हुलमा एक जना अलगै मान्छे (पङ्क्तिकार) लाई देख्दा उनी सुरुमा अनकनाए पनि परिचय पछि सहज भइन् ।
वसन्त पर्व अथवा नयाँ वर्षको अघिल्लो दिन सिछुवानमा मानिसहरू आफ्नो पुख्र्यौली घर र आफ्ना पुर्खाको चिहानमा पुगेर धुप बत्ती बाल्ने, फलफुल चढाउने, धुनी बाल्ने गर्छन् । धुप बाल्ने, फलफुल चढाउने आदि काम सकेपछि पटाकाको माला पड्काउने चिनियाँ परम्परा चाखलाग्दो छ । तीन अथवा बेजोड सङ्ख्यामा धुप हातमा लिएर तीनपटक झुकेर चिहानमा नमन गर्ने चिनियाँ संस्कृति अग्रजप्रति सम्मानको भावनाबाट अभिप्रेरित छ ।
आफ्नो जरा भुल्ने मानिसको भविष्य कहिल्यै राम्रो हुँदैन, त्यसकारण संसारका महान् कहलिएका मानिसहरू पनि जीवनको अन्तिम क्षणमा आफ्नो जरा खोज्दै जन्मथलो फर्केका इतिहास हामीले पढेका छौँ । सिद्धार्थ गौतमले गृहत्याग गरी बुद्धत्व प्राप्त गरे र जीवनभर विभिन्न ठाउँमा पुगेर प्रवचन र धर्मप्रचार गर्दै हिँडे । तर, जीवनका अन्तिम दिनमा बुद्ध कपिलवस्तु फर्किन चाहन्थे । विडम्बना, कपिलवस्तु फर्किने क्रममा उनको कुशी नगरमै निधन भयो । पुख्र्यौली थलोको मोह र पुर्खाप्रतिको सम्मान चीनको चिहानअघि अर्चना गर्ने परम्परामा पनि झल्किन्छ ।
वसन्त पर्व मनाउन सहरबाट आएका मानिसको चहलपहलले गाउँ नै जीवन्त भएको देखिन्थ्यो । वर्षौँपछि भेटेका आफन्त, गाउँले, छरछिमेकी, बाल्यकालीन मित्रहरूले भेटघाटका क्रममा बोलेका आत्मीय संवाद, हाँसो, व्यङ्ग्य बुझ्न मलाई चिनियाँ भाषाको ज्ञान आवश्यक भएन । त्यो आत्मीयता र मित्रताको भाव बुझ्न भाषाको खाँचो थिएन । भाषा बेग्लै भए पनि भावनाको रङ्ग एउटै हुने गर्छ ।


पुर्खाको नमनपछि गाउँका हरेक परिवार एउटै टेबुल वरपर बसेर अनेक परिकारका खाना चिनियाँ शैलीमा चपस्टिक (ख्वाइच) ले टिप्दै खाँदै थिए । हाम्रोतिर हामीले समेबजी खाएजस्तै । गाउँले बुढी बाजेबज्यैहरू फङ आमालाई छोरा बुहारी र नातिनीहरूबारे सोधखोज गर्दै थिए । फङ आमा आफ्ना सन्ततिबारे आफ्ना समवयीहरूलाई खुसीले दङ्ग पर्दै सुनाउँदै थिइन् । त्यही हुलमा मलाई नियाल्दै गाउँलेको अनुहारमा देखिने उत्सुकता मेट्दै फङ आमा भन्थिन्, उनी विदेशी हुन् । विश्वविद्यालयको विद्यार्थी । हामीसँग नयाँ वर्ष मनाउन आएको ।
च्यानसिङ सिछुवानको सानो सहर हो । त्यही सहरको छेउमा पर्ने फङ परिवारको गाउँ कुनै नेपाली गाउँजस्तै छ । वरपर होचा पहाडका थुम्का, धुपीको जङ्गल, तरकारी बारी, गहुँ खेत, आँगनछेउको करेसाबारी, हाँस, कुखुरा अनि तोरीबारी । बेला बेला म चीनको गाउँमा आएको कुरा भुल्न त्यहाँको परिवेश प्रशस्त थियो । करेसामा रायोको साग, पालुङ्गोको साग, मुला, गाँजर, बन्दाकोबी, धनियाँ अनि खेतमा हँसिया, डोको देख्दा मलाई मेरै गाउँमा पुगेजस्तो अनुभव भयो । त्यहीँ कतै मेरी आमा, ठुली आमाहरू काम गर्दै छन् कि जस्तो भान भयो ।
फङ परिवारको घर पनि फङ आमाजस्तै उमेरदार भइसकेको छ । तर, फङ आमासँग बुढ्यौलीमा पनि काम गर्ने ऊर्जा कति पनि कम नभएजस्तै त्यो गाउँले घरभित्र पनि सबैथरी सुविधा थियो । न्यानो बनाउने हिटरदेखि चिटिक्क परेको भान्छा, स्नानगृह, प्रशस्त न्यानो कपडा भएको शयन कक्ष, टीभी, फ्रिज, पङ्खा आदि ।
घरमा ग्यासले बल्ने चुल्हो भए पनि अझै पुरानो शैलीको चुल्हो पनि चलाएकै थियो । दाउराले बालिने त्यो पुरानो चुल्हो नेपाली घरको चुल्होभन्दा अग्लो र अझ सजिलो खालको थियो । चुल्होलाई पूजा गर्ने नेपाली परम्परा चीनको त्यो गाउँमा पनि देखियो ।
चीन उस्तै पनि परिकारमा धनी मानिन्छ । त्यसमाथि सिछुवान अनेक थरी परिकारले समृद्ध प्रान्त मानिन्छ । सिछुवानको कुरा गर्नेबित्तिकै मानिसहरू सुरुमै पिरो र मसलादार खाने परिकारबाट कुराकानी सुरु गर्छन् ।
तिमीलाई सिछुवानको पिरो खाना मन पर्छ ? तिमी सिछुवानको पिरो र मसलादार खाना खान सक्ने भयौ ? जस्ता आदि प्रश्न दिनहुँ सामना गरिने प्रश्न हुन् ।
गाउँ फन्को लगाएर घर पुग्दा हामी सबै थकाइले लखतरान भइसकेका थियौँ । सबैलाई चर्को भोक लागिसकेको थियो । सबै मिलेर हतारमा ठुलो आकारको वृत्ताकार टेबुलको माथि वृत्ताकार घुमाउन मिल्ने बाक्लो सिसामा सबै परिकार सजाइयो । मासुका अनेक परिकार, साग, तोफु, आलु, बदाम आदि अनेकानेक परिकार चपस्टिकले टिप्दै खान थाल्यौँ । बिचबिचमा सिन नियान ख्वाइ ल (नयाँ वर्षको शुभकामना) भन्दै एकआपसलाई खानाको परिकार थाल (बोउल) मा राख्दै खाइसक्दा दिनले ढल्किने सुर गरिसकेको थियो ।
मध्यरात नयाँ वर्ष सुरु हुँदै थियो । त्यसैले घरका कसैलाई निद्रा लागेको थिएन । पूरै गाउँ सुतेको थिएन । बिचबिचमा पड्काइने पटाकाले कसैलाई सुत्न पनि दिएको थिएन । फङ परिवारले बजार गएर किनेका तीन बाकस पटाका मध्यरात कुरिरहेको थियो । जसै मध्यरात भयो, चारैतिर पटाका पड्काइयो । विभिन्न बान्कीका ती पटाकाले आकाशभरि चहकिलो उज्यालो फूल फुलायो । पटाकाको आवाजले चारैतिरका रनवन थर्किए । टेलिभिजनमा चीन र संसारभर चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमको प्रत्यक्ष प्रसारण भइरहेको थियो । त्यो टेलिभिजन कार्यक्रमले संसारमा सबभन्दा बढी हेरिने टेलिभिजन कार्यक्रमको रेकर्ड कायम ग¥यो ।
मध्यरात ढिलासम्म परपरसम्म पटाका पड्काइएको आवाज कोठामा सुनिएको थियो ।
नयाँ वर्षको स्वागत गर्न बजारमा पटाका किन्न जाँदा बजार नेपालको तिहारको बजार जस्तै व्यस्त थियो । मानिसहरू अनेकानेक सामान किन्दै थिए । पसलेहरू ग्राहकलाई फकाउँदै सामान बेच्न जोडतोडले लागेका थिए ।
वसन्त पर्वमा चिनियाँहरूको रौनक देख्दा नेपालीलाई दसैँ लाग्दा जस्तै थियो । केटाकेटीहरू आफ्ना आमाबुबा र अग्रजबाट होँगपाउ (रातो खाम) माग्दै थिए । होँगपाउमा पैसा राखेर सानालाई दिने चिनियाँ परम्परा छ । त्यही होँगपाउमा पाएको पैसा केटाकेटीहरू फुरुङ्ग भएर बारम्बार गनिरहेका देखिन्थे । परिवारका सदस्यहरू आपसमा पोकर (तास) खेलिरहेका थिए । भान्छामा अनेकथरी परिकार पाक्दै थियो । गाउँको बाटोमा लगातार गाडी दौडिरहेका थिए । ती गाडीहरू आफन्तलाई भेट्न हतारमा दौडिरहेका हुन् ।
फङ परिवारसँग फङ महोदयका फुपूलाई भेट्न जाँदा उनीहरू ख्वाच (खर्बुजाको बियाँ) खाइरहेका थिए । भुइँभरि ख्वाचका बोक्राले भुइँ नै कालो देखिएको थियो । श्रीमती फङले फुपुको परिवारका सबै सदस्यलाई ह्वाङपाउ दिइन् । वसन्त पर्वको बेला आफन्तको घरमा भेटघाटको लागि जाँदा यसरी पैसा राखेर रातो खाम दिने चिनियाँ परम्परा हो ।
वसन्त पर्वमा चिनियाँहरू थानयुआन (गुलियो स्वादको सानो गोलो आकारको पिठोबाट बनेको रसदार परिकार) र च्याउच (नेपालमा पाइने लाम्चो मःमः) विशेष परिकारको रूपमा खाने चलन छ । एकाबिहानै फङ आमाले ती परिकार बनाएर हामीलाई बिहान खुवाउन ठीक पारेकी थिइन् । काठमाडौँमा योमरी पुन्हिको दिन योमरी विशेष परिकारको रूपमा खाएजस्तै चिनियाँहरू आफ्नो नयाँ वर्षमा ती परिकार खान्छन् ।
फङ परिवारसँग अर्को दिन सिछुवानको प्राचीन लानचाउ नगरमा पुग्दा चाडपर्वमा परिवारसँग घुम्न आएका चिनियाँहरूको भीडले उभिनेधरी ठाउँ पाउन मुस्किल थियो । चीनका हरेक सहरमा पुराना बस्तीलाई प्राचीन अथवा सांस्कृतिक सहर भन्दै संस्कृति र इतिहास प्रतिबिम्बित हुने गरी विकास गरेको पाउँछौँ । साँघुरा गल्ली, पुराना घर, प्राचीन बाटाघाटालाई पनि सफा चिटिक्क बनाएर बजारको रूपमा विकास गर्ने चिनियाँ अभ्यासले संस्कृति, इतिहास र परम्पराको संरक्षण हुनुका साथै धेरै स्थानीय मानिसले रोजगारी पाएका छन् । स्थानीय उत्पादन, प्रविधि र ज्ञानको पनि संरक्षण भएको देखिन्छ । लानचाउमा पुग्दा बाटोभरि पुरानो प्रविधिबाट निकालिएको तेल, होको मसला, सुकुटी आदि बिक्रीमा राखिएका थिए । चीनको उत्तरपश्चिम प्रान्त सिन्च्याङका मानिसहरूले बेच्न राखेका भेँडाको सेकुवा खान मानिसको लाम लागेको देखिन्थ्यो ।
नयाँ वर्षमा परिवारसँग यसरी कतै घुम्न जाने चिनियाँ परम्पराको कारण वसन्त पर्व संसारकै सबभन्दा बढी सङ्ख्यामा मानिस घुम्न निस्कने समय मानिन्छ ।
लानचाउ ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण ठाउँ हो । छिङ वंशमा सिछुवानका प्रमुख प्रशासनिक केन्द्रमध्ये त्यो सानो नगर पनि एउटा थियो । सन् १९३५ को जापानविरोधी सङ्घर्षको क्रममा मार्च २८ देखि ३१ सम्म केन्द्रीय लालसेनाको उत्तरतिरको अभियानको क्रममा लाल सेनाका चार वटा प्रमुख शक्तिले पार गरेका कठिन गल्छीमध्ये एउटा लानचाउ गल्छी पनि थियो । लाल सेनाले उतिबेला बीस मिटर चौडा र ६ मिटर गहिरो च्यालिङ नदी पार गरेको वीरतालाई स्मरण गर्दै त्यहाँ लालसेनाको स्मृति पार्क पनि बनाइएको छ ।
च्यानसिङ बसाइँको अन्तिम दिन थप विशेष थियो । त्यो दिन फङ परिवारले आफ्ना आफन्त र मित्रजनलाई नयाँ वर्षको भोज बोलाएको थियो । अघिल्लो दिन हामी सबै नै किनमेलमा व्यस्त भयौँ । उनीहरूको तयारी देख्दा मलाई दसैँमा नेवा समुदायमा नखःत्या बोलाएको स्मरण भयो । मध्यरातसम्म पनि श्रीमती फङलाई भान्छाको सबै काम धन्दा गरेर सकेको थिएन ।


भोलि बिहानै फङ महोदयले मलाई गाउँकै एउटा भाडामा भोजका सामान दिने घरमा लिएर गए । हामीले सँगै नखःत्याको लागि चाहिने मेच, टेबुल आदि सामान लिएर आयौँ । पछि एकजना आफन्तसँगै गएर त्यहीँबाट चिनियाँ परम्परागत खेल माजाङ खेल्ने टेबुल लिएर आयौँ । चिनियाँ परिवारमा यस्ता विशेष अवसरमा माजाङ खेल्ने चलन छ । मैले निकै घोत्लिएर हेर्दा पनि माजाङ खेल्ने तरिकाबारे कुनै मेलोमेसो पाइन । मलाई कता कता तास खेलेजस्तो लागे पनि खासमा तास र माजाङमा धेरै अन्तर हुने बताइयो । मेरा एक जना गुरुका ७० वर्षकी आमा दिनभर माजाङ खेल्ने कुरा हामीलाई सुनाउँदै थिए । अनि त्यसमा उनी निकै खुसी थिए किनभने माजाङले मानिसको दिमागलाई चालु राख्ने र बुढ्यौलीमा समय बिताउन यो निकै राम्रो खेल भएको बताएका थिए ।
माजाङ र पोकर खेल्दै फङ परिवारका आफन्त र मित्रहरू नजिकै टेबुलमा राखिएका मुन्तला, खर्बुजाको बियाँ, अनेक थरी मिठाइ, दही आदि खाँदै थिए ।
पारिवारिक जमघटमा रमाइलो भोज भयो । टेबुलको चारैतिर बसेका पाहुनाहरू बारम्बार रक्सी पिउने सानो प्याला उठाउँदै र टेबुलमा ठोक्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्दै थिए । सबैले कहिले सबैलाई त कहिले एकआपसमा यसरी शुभकामना दिँदै अनेकथरी गफ गर्दै थिए । कहिलेकाहीँ भने उनीहरू मेरो र नेपालको बारेमा कुरा गर्थे । मलाई मैले चाहेजस्तो उत्तर दिन हम्मेहम्मे हुन्थ्यो । धन्न फङ महोदयले मेरोबारेमा धेरै कुरा पाहुनालाई प्रस्ट पार्थे ।
पाहुना बोलाइएको भोजमा अरु बेलाभन्दा बढी परिकार पाक्नु स्वाभाविक थियो । सबैले मनग्ये खाएर पनि टेबुलभरि परिकार बाँकी नै थियो ।
फङ परिवारका आफन्तजनले मलाई सहज व्यवहार गरेको देख्दा म चकित परेँ । खासमा चिनियाँ भाषा बोल्न गा¥हो भएकोले मलाई कता भागू कता लुकू जस्तो भएको थियो । मभन्दा बढी उनीहरू अङ्ग्रेजी भाषा बोल्न नजान्दाको अप्ठ्यारोले असहज मान्दै थिए । तर, मप्रति उनीहरूको उत्सुकताले भाषाको अल्पताका सबै असहजता तोडिएजस्तो लाग्यो । कहिले मोबाइलको अनुवादक, कहिले सङ्केत त कहिले आफूले जानेका केही शब्दको प्रयोगमार्फत हामीले एकआपसलाई अभिव्यक्त गर्यौँ ।
भिन्न संस्कृति, भिन्न देश, भिन्न रङ्ग र आस्थाका मानिसलाई पनि सहजै अँगाल्ने चिनियाँ ग्रहणशीलताका कारण चीनमा धेरै विदेशी विद्यार्थीले सहज अनुभव गर्छन् ।
च्यानसिङबाट छन्तुतिर फर्किँदा रात निकै गहिरो भइसकेको थियो । दिउँसो राजमार्गमा छन्तु फर्किने गाडीको सङ्ख्या धेरै हुने भएकोले राति नै फर्किने निधो भएपछि हामी ढिला राति फङ परिवारको घरबाट निस्कियौँ । फङ आमा छोरा, बुहारी र नातिनीहरूलाई निकै मायाले बिदा गर्दै थिइन् । नेपालका धेरै गाउँजस्तै चीनका गाउँहरूमा पनि हिजोआज प्रायशः ज्येष्ठ नागरिकमात्र बढी भेटिन्छन् । युवाहरू रोजगारी, व्यापार र पढाइको लागि सहरमा बस्छन् ।
हामीलाई बिदा गरेपछि फङ आमालाई पनि केही बेर आफ्नै घर पनि बिरानो लागेको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *