भर्खरै :

परिवर्तन गर्न क्रान्तिकारी सिद्धान्त र विचार आवश्यक

परिवर्तन गर्न क्रान्तिकारी सिद्धान्त र विचार आवश्यक

काठमाडौँ, ६ फागुन । पुँजीवादी व्यवस्थामा शासक या पुँजीवादी दलका नेताहरू प्रजातन्त्र, न्याय, स्वतन्त्रता र मानव अधिकारको बखान गर्छन् तर तिनै मूल्य र मान्यतालाई कुल्चेर देशको सम्पत्तिमा रजाइँ गर्छन् । भ्रष्टाचार, अनियमितता, कालाबजारी, आपराधिक क्रियाकलाप पुँजीवादी व्यवस्थाकै छायासरह मानिन्छ । व्यक्ति अपहरण गर्ने, बेपत्ता पार्ने, शरीर बन्धक राख्ने, चोरीचकारी, डाँका, करणी, ठगीजस्ता आपराधिक गतिविधि यो व्यवस्थामा भइरहेकै हुन्छ । चर्काे ब्याज लिएर र नक्कली कागज बनाएर आर्थिक शोषण गरेर सर्वसाधारण जनताको घर जग्गा हात पार्ने काम देशका सामन्त, शोषक, जमिनदार, पुँजीपति, जालीफटाहाहरूले गरिरहेकै छन् । उनीहरूकै शोषण, दमन र अत्याचारका कारण मिटरब्याज पीडितहरूको आन्दोलन राजधानीसम्म पुगेको हो । उखु कृषकहरूको समस्या पनि हल भएको छैन । उखु कृषकहरूको आफ्नो करोडौँ रकम लिन बाँकी छ । उखु समयमा लिइँदैन । उखु खेतीलाई प्रोत्साहन गरेर नेपाललाई चिनीमा आत्मनिर्भर बनाउनुको सट्टा उखु खेती गर्ने कृषकलाई निरुत्साहित पार्ने, चिनी कारखाना बन्द गर्ने र विदेशबाट ल्याउने दाउ विदेशी दलालहरू रच्छन् । यो नेपाललाई पराधीन बनाउने षड्यन्त्र हो ।
भ्रष्टाचार र अनियमितता बढी हुने देशमध्ये नेपाल पनि पर्छ । भ्रष्टाचार र अनियमितता कम गर्ने, अपराधीहरूलाई कारबाही गर्ने र देशमा व्यवहारतः सुशासन कायम राख्ने प्रयास शासकहरू गर्दैनन् । देशको अर्थतन्त्र आयातमुखी छ । आयात र निर्यातको दूरीको खाडल फराकिलो छ । देशको आयस्रोत घट्दो छ । नेपाल अति गरिब देशमध्येमा पर्छ । देशको नदीनाला विदेशीको हातमा दिने, उद्योग कारखाना विदेशी दलाल या विदेशी व्यापारीलाई सुम्पिने सरकारको नीतिले गर्दा देशको अर्थतन्त्र विस्तारै विदेशी शक्ति राष्ट्रको हातमा गइरहेको छ । देशमा आर्थिक सङ्कट छ । नेपाली युवाहरू बिदेसिने क्रम चालु छ । देशमा गरिबी छ, अभाव छ र महँगी छ । आर्थिक लाभ र अवसरको खोजीमा युवाहरू युद्धग्रस्त देशमा पुगिरहेका छन् । युद्धमा फसेर कति नेपाली युवाहरूको ज्यान गइसकेको छ भने कति अझै बेपत्ता छन् । देशमा तस्करी छ । नीतिगत भ्रष्टाचार छ । भ्रष्ट, दलाल पुँजीपति, अपराधी, ठेकेदारहरूको बोलवाला छ । जनता निराश छन् । तैपनि, पटकपटक सरकारको नेतृत्व गर्ने दलले निकास खोजेको छैन । के यो देशको विडम्बना होइन ?
देशमा न्यायपूर्ण समाजको खाँचो छ । शोषणरहित समाज आजको आवश्यकता हो । देशको शिर सधैँ उचाइमा राख्न देशलाई साँच्चै स्वाधीन र सार्वभौम बनाउन लागिरहनुपर्छ, देशलाई दूरगामी असर पु¥याउने कुनै पनि सन्धि तथा सम्झौताको विरोध गरिरहनुपर्छ । देशको विकास गर्न र बहुमत जनताको अनुहार फेर्न नेपाली विशेषताको समाजवादी व्यवस्था आवश्यक छ । नेपालका कम्युनिस्ट पार्टीहरू देश, काल र परिस्थिति सुहाउँदो समाजवादी व्यवस्था स्थापनाका निम्ति गाउँ–ठाउँमा खट्नुपर्छ, जनताको सांस्कृतिक स्तर उठाउनुपर्छ; कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारबाट जनतालाई सुसूचित पार्नुपर्छ । सचेत र सङ्गठित जनशक्तिको बलमा सङ्घर्ष गरेर परिवर्तन गर्नुपर्छ । परिवर्तन गर्ने काम क्रान्तिकारी विचार बोकेको क्रान्तिकारी दलले मात्र गर्नसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *