भर्खरै :

कूटनीतिमा सी चिनफिङ विचार र नयाँ युगमा चिनियाँ विशेषतासहित ‘प्रमुख देशको कूटनीति’

कूटनीतिमा सी चिनफिङ विचार र नयाँ युगमा चिनियाँ विशेषतासहित ‘प्रमुख देशको कूटनीति’

‘प्रमुख देशको कूटनीति’ ले विश्वव्यापी मञ्चमा ठुलो र प्रभावशाली राष्ट्रहरूको कूटनीतिक गतिविधि र रणनीतिहरूलाई बुझाउँछ ।
कूटनीति सञ्चालन गर्नेबारे ‘सी चिनफिङको विचार’ आधुनिक युगमा चीनलाई कसरी अगाडि बढाउनेबारे उहाँको बृहत्तर सोचको एउटा हिस्सा हो । वास्तवमा यी विचारहरू चीनले कूटनीति कसरी सञ्चालन गर्छ भन्नेबारे माक्र्सवादी विचारहरूको मिश्रणबाट आएको हो । आजको संसारमा चीनको विशेष कूटनीति कसरी सफल हुन सक्छ भन्ने बारेमा सीको विचारले मार्गदर्शन प्रदान गर्दछ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ राष्ट्रिय महाधिवेशनका विचारहरूलाई सम्पूर्ण पार्टीले गहिरो रूपमा अध्ययन गरिरहेको हुनाले पहिलाभन्दा बढी महत्वका साथ नयाँ युगमा समाजवादबारे सी चिनफिङको विचारलाई पूर्णरूपले बुझ्ने र त्यसलाई इमानदारीपूर्वक पालन गर्नु आवश्यक छ । चीनलाई हरेक पक्षमा बलियो, आधुनिक समाजवादी राष्ट्र बन्न मद्दत गर्नु तथा थप दृढ सङ्कल्पका साथ आफ्नो आधुनिकीकरणको मार्गबाट चीनलाई पुनरुत्थान गर्नु महत्वपूर्ण हुन्छ ।
व्यावहारिक आधार र आन्तरिक तथा बाह्य वातावरण कूटनीतिमा सी चिनफिङ विचार
महान् अभ्यासले महान् युग र महान् सिद्धान्त उत्पन्न गर्दछ । चीन र विश्वभर परिवर्तन भइरहेको आधारमा कूटनीतिको बारेमा सी चिनफिङका विचारहरू विकसित भएका हुन् ।
जनवादी गणतन्त्र चीन स्थापना भएको विगत ७० वर्षदेखि, विशेषगरी सुधार र खुलापनको चालीस वर्षदेखि, अन्तर्राष्ट्रिय प्रतिष्ठा र बढ्दो भूमिकाका साथ चीनको वैदेशिक सम्बन्धको निरन्तर विकास भइरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनदेखि नै सी चिनफिङको विचारबाट निर्देशित चीनको कूटनीतिले महत्वपूर्ण र ऐतिहासिक सफलता हासिल गरेको छ । यी उपलब्धिहरूले धेरै लामो समयदेखि रहेका समस्याहरू समाधान गरेका छन् र परिवर्तनशील संसारमा यसको महत्व छ । साथै अहिले भइरहेको परिवर्तन सय वर्षको तुलनामा धेरै तीव्र छन् । धेरै देशहरूले संरक्षणवादलाई पक्षपोषण गरिरहेका छन् । विश्वव्यापी अर्थतन्त्र सङ्घर्षरत छ । यसको अतिरिक्त वित्तीय मुद्दाहरूसँग सम्बन्धित कारकहरूको कारणले गर्दा विश्वभर वस्तुहरूको उत्पादन र बिक्रीमा प्रायः अवरोध भइरहेको छ । पश्चिमी राष्ट्रहरू, विशेषगरी संयुक्त राज्य अमेरिका अझै पनि शीतयुद्धको समयमा जस्तै सोच्दै छ । तिनीहरूले द्वन्द्वहरू निम्त्याउँदै छन् जसले राजनीति, अर्थशास्त्र, प्रविधि, संस्कृति र सुरक्षाजस्ता क्षेत्रमा विभिन्न देशहरूबिचको सम्बन्ध थप तनावपूर्ण बन्दै छ । संसार एउटा अशान्त र परिवर्तनशील समयबाट गुज्रिरहेको छ ।
सी चिनफिङको कूटनीतिक विचारधाराले सधैँ तथ्यबाट सत्य खोज्ने वैज्ञानिक दृष्टिकोण अपनाएको छ । यसले आन्तरिक र अन्तर्राष्ट्रिय वातावरणमा सही निर्णयहरू दिएको छ । घरेलु मोर्चामा, १९ औँ चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय काङ्ग्रेसको प्रतिवेदनले औँल्याएको छ, “हाम्रो देश अझै लामो समयसम्म समाजवादको प्राथमिक चरणमा रहेको हुँदा चिनियाँ सन्दर्भको आधारभूत आयाममा परिवर्तन भएको छैन । विश्वको सबैभन्दा ठुलो विकासोन्मुख देशको रूपमा चीनको अन्तर्राष्ट्रिय हैसियतमा कुनै परिवर्तन आएको छैन ।” भनिन्छ, ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादले हामीलाई द्वन्द्वात्मक एकताको रूपमा परिवर्तन र निरन्तर अन्तरक्रिया गर्न सिकाएको छ । जहाँसम्म समाजवादको प्रारम्भिक चरणको सवाल छ, चीन एक नयाँ सुरुवात बिन्दु ‘नयाँ विकासको चरण’ मा छ ।
महासचिव सी चिनफिङको विस्तृत विवरणमा उल्लेख छ, “हामी अहिले जुन विकासको चरणमा छौँ, त्यो समाजवादको पहिलो चरणको अंश हो । यो नयाँ चरणमा हाम्रो पार्टीले जनतालाई आफ्नै खुट्टामा उभिन मार्गदर्शन गर्नेछ र धनी बन्नेदेखि अझ बलियो बन्नेतर्फ ठुलो परिवर्तन गर्नेछ । यो ठुलो लक्ष्य पूरा गर्न अर्को ३० वर्ष लाग्नेछ ।”
सबैभन्दा ठुलो विकासोन्मुख देशको रूपमा चीनको विश्वव्यापी छविको कुरा गर्नुपर्दा, विकासका विभिन्न चरणहरूमा विशिष्ट लक्ष्य र सर्तहरू समयसँगै विकसित भइरहेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको प्रतिवेदनमा उल्लेख गरिएअनुसार चीन एक महत्वपूर्ण विकासशील राष्ट्रको रूपमा ‘विश्व विकास सहयोग’ को लागि थप स्रोतहरू विनियोजन गर्न तयार छ । यसले अधिक विकसित र कम विकसित राष्ट्रहरूबिचको खाडल घटाउने र अन्य विकासशील देशहरूलाई उनीहरूको विकास प्रक्रियालाई गति दिन मद्दत गर्ने वाचा गर्दछ । जहाँसम्म आधारभूत अन्तर्राष्ट्रिय परिस्थितिको सवाल छ, अन्तर्राष्ट्रिय परिदृश्यमा भएका गहिरो परिवर्तनका आधारमा चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको प्रतिवेदनले निम्न टिप्पणी गरेको छ, “आज हाम्रो संसार, हाम्रो समय र इतिहास यसरी परिवर्तन हुँदै छ जुन पहिले कहिल्यै थिएन । शान्ति, विकास, सहयोग र आपसी हितका ऐतिहासिक प्रवृत्तिहरू अजय छन् । जनताको इच्छा र हाम्रो समयको सामान्य प्रवृत्तिले अन्ततः मानवताको लागि उज्ज्वल भविष्यको नेतृत्व गर्नेछ । तैपनि, शक्तिको प्रयोग गरी कमजोरलाई तर्साउने, बल र छलले अरूबाट खोस्नेजस्ता आधिपत्यवादी, अहङ्कारी र धम्कीपूर्ण कार्यहरूले गम्भीर हानि पु¥याइरहेका छन् । शान्ति, विकास, सुरक्षा र सुशासनमा क्षय हुँदै गएको छ । संसार फेरि इतिहासको चौबाटोमा आइपुगेको छ । यसको भविष्यको दिशा विश्वका सबै जनताले तय गर्नेछन् ।’’ यस महत्वपूर्ण समयमा कूटनीतिको बारेमा सी चिनफिङका विचार महत्वपूर्ण मार्गदर्शन र सिद्धान्त हुन् भन्ने कुरामा कुनै शङ्का छैन ।
जटिल र निरन्तर परिवर्तन हुँदै गइरहेको अन्तर्राष्ट्रिय परिदृश्यको बिचमा चीनको विशिष्ट कूटनीतिक शैलीले विश्व कूटनीति क्षेत्रमा नयाँ गतिशीलता ल्याउन योगदान दिएको छ । पहिलो, नयाँ युगमा चिनियाँ विशेषतासहितको प्रमुख देशको कूटनीतिले मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माण गर्ने सर्वोच्च लक्ष्यलाई पहिचान गरेको छ । महासचिव सी चिनफिङले विश्व विकासको अगुवाइ पहल र विश्वव्यापी सुरक्षा अगुवाइलाई क्रमशः अगाडि बढाउनुभएको छ । यसले मानव जातिको साझा भविष्यसहितको समुदाय निर्माण गर्ने विचारलाई थप समृद्ध बनाएको छ । मानव जातिको साझा भविष्यका साथ समुदाय निर्माण गर्ने विचार संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूको दस्ताबेजमा पूर्णरूपमा प्रतिबिम्बित छ । चीन र अफ्रिका, अरब, ल्याटिन अमेरिका, आसियान देशहरू र मध्य एसियाबिचको साझेदारीको निर्माणमा उल्लेखनीय प्रगति भएको छ र एकसाथ राम्रो भविष्य साझा गर्ने लक्ष्य राखिएको छ । साथै, चीन विभिन्न क्षेत्र र स्तरहरूलाई समेट्ने व्यापक र विविध कूटनीतिक योजनाको साथ अगाडि बढिरहेको छ । चीनले क्रमशः समानता, खुलापन र सहयोगको विश्वव्यापी साझेदारी सञ्जाल स्थापना गरेको छ । शान्तिपूर्ण सहअस्तित्व, सर्वाङ्गीण स्थायित्व र सन्तुलित विकासको लागि ‘प्रमुख राष्ट्र सम्बन्ध’ को रूपरेखा निर्माण गर्न सशक्त प्रयासहरू भएका छन् । मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशीता र छिमेकीसँग मित्रता र साझेदारी निर्माण गर्ने सिद्धान्तमा आधारित छिमेकी कूटनीतिबाट निर्देशित भएर चीनले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ बनाएको छ । साझा हित र व्यापक हितको लागि इमानदारी, वास्तविक परिणाम, सौहार्दता र सद्भावनाको सिद्धान्तलाई कायम राख्दै चीनले विकासोन्मुख देशहरूको ठुलो सङ्ख्यासँग ऐक्यबद्धता र सहयोग विस्तार गरेको छ । फलस्वरूप, सर्वव्यापी सहयोग संयन्त्रहरू सक्रिय भएका छन् ।
अन्तमा, चीन सक्रियरूपमा विश्वव्यापी सुशासनमा संलग्न छ । यसले संयुक्त राष्ट्र सङ्घको केन्द्रमा रहेको अन्तर्राष्ट्रिय प्रणाली, अन्तर्राष्ट्रिय कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र राष्ट्रहरूले कसरी अन्तरक्रिया गर्ने भन्ने मार्गदर्शन गर्ने आधारभूत नियमहरूलाई दृढतापूर्वक संरक्षण गर्दछ । यी सबै संयुक्त राष्ट्रको बडापत्रका सिद्धान्तमा निहित छन् । यसले विश्वव्यापी सुशासनलाई अझ निष्पक्ष र न्यायपूर्ण बनाउन मद्दत गर्दछ र विश्व शान्ति र विकासमा सकारात्मक ऊर्जा ल्याउँछ ।
उदाहरणको लागि, चीनले संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा आफ्नो जिम्मेवारी र दायित्वहरू विश्वासका साथ पूरा गरेको छ । यसले संयुक्त राष्ट्र शान्ति मिसनहरूमा कुल ५०,००० भन्दा बढी कर्मचारीहरू पठाएको छ र संयुक्त राष्ट्र र यसको शान्ति स्थापना कार्यहरूमा दोस्रो ठुलो कोष योगदानकर्ता बनेको छ । अर्को उदाहरणको लागि चीनले सहस्राब्दी विकास लक्ष्यहरू प्राप्त गर्न र दिगो विकासका लागि संयुक्त राष्ट्र २०३० एजेन्डा कार्यान्वयन गर्न अग्रणी भूमिका खेलेको छ, जसले विश्वव्यापी गरिबी न्यूनीकरणमा ७० प्रतिशतभन्दा बढी योगदान पु¥याउँछ । चीनले आफ्नो विकासले विश्वलाई नयाँ अवसर दिएको छ । धेरै वर्षदेखि लगातार चीनले विश्व आर्थिक वृद्धिमा औसत ३० प्रतिशतभन्दा बढी योगदान दिएको छ ।
पेरिस सम्झौतालाई गम्भीरतापूर्वक पालना गर्न चीन प्रतिबद्ध छ । यसले आफ्नो कार्बन उत्सर्जन कहिले चरम हुन्छ र कहिले कार्बन तटस्थ हुन्छ भन्ने लक्ष्य तोकेको छ । यसले राष्ट्रियरूपमा निर्धारित योगदान पनि गरेको छ । यो जलवायु परिवर्तनविरुद्ध लड्न एक महत्वपूर्ण कदम हो र यस्तै धेरै उदाहरणहरू छन् ।
कूटनीतिमा सी चिनफिङका विचारहरूको सैद्धान्तिक प्रभाव र रूपरेखा
चिनियाँ कूटनीतिमा एक वास्तुकारको रूपमा महासचिव सी चिनफिङले विश्व परिस्थितिको उतारचढाव बुझ्दछन् र विश्वव्यापीरूपमा के भइरहेको छ भन्ने थाहा छ । उहाँले धेरै नयाँ र अद्वितीय कूटनीतिक योजना र विचारहरू लिएर आउनुभएको छ । यसले कूटनीतिमा सी चिनफिङ विचारको जन्म दिएको छ । यसले ठुला विश्वव्यापी समस्याको समाधानको लागि ‘चिनियाँ उपाय’ प्रदान गर्दछ र राम्रो संसार बनाउन मद्दत गर्दछ । सरल शब्दमा भन्नुपर्दा, कूटनीतिमा सी चिनफिङको विचारलाई दस मुख्य बुँदामा विभाजन गर्न सकिन्छ । यी हुन् :
१. चिकपा केन्द्रीय समितिको नेतृत्वको पालना गर्नु र बाह्य मामिलाहरूमा पार्टीको नियन्त्रणलाई बलियो बनाउनु ।
२. देशलाई बलियो बनाउन चीनको अद्वितीय कूटनीति शैलीलाई प्रवद्र्धन गर्ने ।
३. सबैका लागि राम्रो भविष्य निर्माण गर्न विश्वव्यापी शान्ति र सहयोगतर्फ काम गर्ने ।
४. चीनको समाजवादी व्यवस्थामा विश्वास राख्ने ।
५. सहयोग र साझा लाभहरूमार्फत बेल्ट एन्ड रोड इनिसिएटिभको विकास गर्ने ।
६. पारस्परिक सम्मान र सहयोगबाट शान्तिपूर्ण विकास हासिल गर्ने ।
७. चीनको कूटनीतिक लक्ष्यहरू अगाडि बढाउँदै विश्वभर साझेदारीहरू निर्माण गर्ने ।
८. विश्वव्यापी शासनमा निष्पक्ष र समतामूलक सुधारहरूमा जोड दिने ।
९. अन्य देशहरूसँग संलग्न हुँदा चीनको मुख्य हितहरूको रक्षा गर्ने ।
१०. आधुनिक समयलाई अनुकूलन गर्दै चीनको कूटनीतिक परम्परालाई कायम राख्ने ।
यी बुँदाहरूले नयाँ युगमा चीनको कूटनीतिको उद्देश्य, लक्ष्य र सिद्धान्तको रूपरेखा कोर्छ । चीनले के हासिल गर्ने लक्ष्य राखेको छ र कसरी गर्ने योजना प्रस्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *