अव्यवस्थित सहरीकरणको विकल्प ‘स्मार्ट सिटी’ हुन सक्दैन : अध्यक्ष बिजुक्छेँ
- बैशाख १५, २०८१
बिजुक्छेँद्वारा भक्तपुरको ऐतिहासिक भाजु पुखू उद्घाटन
भक्तपुर, फागुन २५ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा हाल पुनःनिर्माण गरिएको भक्तपुर नगरपालिका वडा नं. १ दूधपाटीस्थित भाजु पुखू र मध्य भागमा अवस्थित जलेश्वर मन्दिरको शुक्रबार एक भव्य समारोहबिच उद्घाटन गर्नुभएको छ । सोही अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाबाट प्रकाशित ‘भाजु पुखू र जलेश्वर मन्दिर पुनःनिर्माण–२०८०’ पुस्तक पनि विमोचन गर्नुभएको छ ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुरको भाजु पुखू मानव सभ्यताको एक महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
लोपोन्मुख अवस्थामा रहेका राष्ट्रिय धरोहरहरूलाई पुनःजीवन दिने काममा पुरातत्व विभाग, प्रज्ञाप्रतिष्ठान र विश्वविद्यालयहरू अग्रसर हुनुपर्ने उल्लेख गर्दै उहाँले भक्तपुरको इतिहास, कला, संस्कृति नयाँ पुस्तालाई पाठ्यक्रममार्फत अध्ययन गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्राचीन सांस्कृतिक र वास्तुकलाको संरक्षण र उत्खननमा बौद्धिक व्यक्तित्वहरूको सक्रियता आवश्यक भएको स्पष्ट पार्दै उहाँले भाजु पुखू पुनःनिर्माणमा सहभागी सम्पूर्ण डकर्मी, सिकर्मी र महिला कालिगडहरूमा धन्यवाद ज्ञापन गर्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “हिजोझैँ आज पनि देश र जनताको हितमा निःस्वार्थ भावले सेवा गर्ने काममा निरन्तरता आवश्यक छ । पद ठुला हुँदैमा र मान्छे धनी हुँदैमा असल हुने होइन ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अन्य सम्पदा निर्माणमा जस्तै भाजु पुखू पुनःनिर्माणको क्रममा पुरातत्वविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको सल्लाह र सुझावअनुसार पुनःनिर्माण कार्यलाई अगाडि बढाएको बताउनुभयो ।
भाजु पुखूको मौलिकतामा आँच पुग्ने कुरामा भक्तपुर नपाले अत्यन्त सचेतनापूर्वक काम गरेको बताउँदै उहाँले पोखरीमा जनताको अपनत्व कायम होस् भन्ने उद्देश्यले अन्य सम्पदाहरूमा जस्तै स्थानीय जनताबाट गठित उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।
भाजु पुखू र भक्तपुर क्याम्पस दुवै जनताका साझा सम्पत्ति भएको पोखरीको दक्षिण भाग भक्तपुर क्याम्पसतर्फ बाटो खोल्न बाँकी रहेको उल्लेख गर्दै उहाँले क्याम्पसका पदाधिकारीहरूसित त्यसबारे पटक पटक छलफल गरिसकेको र छलफलको क्रम अगाडि बढिरहेको बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले लोप हुनै लागेको भाज्या पुखूलाई भक्तपुरको सुन्दर र मनमोहक अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने वडावासी, कालिगड, जनप्रतिनिधि, पुरातत्व विभाग, प्राविधिक सम्पूर्णमा उच्च सम्मान व्यक्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भाजु पुखूको पुनःनिर्माणले सम्पदाप्रेमीहरूमा उत्साह थपेको उल्लेख गर्दै उहाँले मौलिकता र सम्पदा संरक्षित सहरको रुपमा देश–विदेशमा परिचित भक्तपुरको सांस्कृतिक, सम्पदा संरक्षण अभियान र भाजु पुखूको पुनःनिर्माण कार्य भक्तपुरको लागि थप कोशेढुङ्गा साबित भएको बताउनुभयो ।
सार्वजनिक सम्पत्ति अतिक्रमण र नाश हुँदै जाने क्रम बढ्दै गएको सन्दर्भमा देश अत्यन्त लज्जित भइरहेको उल्लेख गर्दै उहाँले भक्तपुरले गरेको सार्वजनिक सम्पत्ति संरक्षण कार्य प्रशंसनीय छ भन्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पोखरी सुकेर घाँसेमैदानमा परिणत भएको पोखरीलाई २०७४ सालको स्थानीय तहको निर्वाचनपश्चात् भक्तपुर नगरपालिकामा नेमकिपाका जनप्रतिनिधि निर्वाचित भएर आएपछि भाजु पुखू पुनःनिर्माण कार्य अगाडि बढेको बताउनुभयो ।
भक्तपुरका सबै सांस्कृतिक सम्पदाहरू यहाँका मौलिक पहिचान मात्र नभई नगरवासीहरूको आर्थिक र सामाजिक विकासको आधार पनि भएको बताउँदै उहाँले सम्पदा संरक्षणको सन्दर्भमा भक्तपुर नपाले स्थानीय उपभोक्तामार्फत संरक्षण गर्दै आएको अवगत गराउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले २०५८ सालदेखि उत्खनन हुँदै आएको भक्तपुरको भाज्या पुखू पुनःनिर्माण कार्यमा भक्तपुर नगरपालिकाको अग्रणी भूमिका रहेको उल्लेख गर्दै पानीका स्रोतहरू संरक्षण गर्न यहाँ रहेका पोखरीहरूको जगेर्ना गर्नु आवश्यक रहेको बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले सम्पदा निर्माण पनि मानव सभ्यतासँग जोडिएको विषय भएको चर्चा गर्दै भक्तपुरमा रहेका पोखरीहरू जनसमुदाय र समाजको लागि आवश्यक पानी आपूर्ति र आगलागीजस्ता विपद्मा प्रयोग गर्नको लागि बनेको बताउनुभयो । भाजु पुखू अरू पुखूको तुलनामा महत्वपूर्ण भएको बताउँदै उहाँले पोखरीहरू भक्तपुरको सिंचाइ र हिटी प्रणालीसँग पनि जोडिएको हुन्छ भन्नुभयो ।
पुरातात्विक सम्पदाहरूले भरिएको जीवन्त सङ्ग्रहालयको परिचित भक्तपुरलाई ८०० वर्ष पुरानो पोखरी पुनःनिर्माणबाट अझ गौरव गर्ने अवसर मिलेको उहाँले बताउनुभयो ।
इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले भाज्या पुखूको ऐतिहासिक पक्षमाथि उजागर गर्दै अनुसन्धान र उत्खननकै सिलसिलामा भाज्या पुखूको मध्य भागमा पश्चिमाभिमुख जलेश्वर मन्दिर रहेको थाहा हुन आएको बताउनुभयो ।
जलेश्वर मन्दिर जीर्णोद्धारको अभावमा भत्किएर भग्नावशेषमा परिणत भएको बताउँदै उहाँले भाज्या पुखू पुनःनिर्माणसँगै पोखरीको इतिहास पनि जीवित भएको छ भन्नुभयो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले पुरातात्विक महत्व बोकेको भाजु पुखू पुनःनिर्माण कार्यमा संलग्न सबैमा उच्च सम्मान व्यक्त गर्दै भक्तपुरकै आकर्षक पोखरीको रूपमा भाजु पुखू रहेको बताउनुभयो ।
दरबार हेरचाह तथा स्मारक संरक्षण अड्डा भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मीले भक्तपुर बहुमुखी सांस्कृतिक सम्पदा र पोखरीहरूले सम्पन्न नगर भएको बताउँदै भाजु पोखरी पुनःनिर्माण कार्यमा कालीगडहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख एवम् सहप्राध्यापक कविता लुइँटेलले भाजु पुखू र भक्तपुर क्याम्पस दुवै जनताको साझा सम्पत्ति भएको औँल्याउँदै भाजु पुखू पुनःनिर्माणले भक्तपुरको शानलाई अझ उँचो बनाएको बताउनुभयो ।
कार्यक्रममा भनपा १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भाजु पुखू पुनःनिर्माणको सङ्क्षिप्त जानकारी दिनुभयो भने भनपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्नुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले भाज्या पुखू पुनःनिर्माणका लागि गठित कार्यदलका पदाधिकारी र उपभोक्ता समितिका अध्यक्षहरूलाई धन्यवाद पत्र वितरण गर्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले भाजु पुखू पुनःनिर्माण र सरसफाइ कार्यमा विशेष योगदान पु¥याउने श्रमिक महिलाहरूलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन अगाडि विभिन्न बाजागाजासहित नासमनाबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै कार्यक्रम स्थलमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियो ।
¥यालीमा जनप्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, शिक्षक, प्रहरी, युवा, महिला, विद्यार्थी, कर्मचारी, स्काउट, विभिन्न सामाजिक सङ्घ संस्था, बाजागाजा तथा माक प्याखं टोली आदिको सहभागिता थियो ।
नासमनामा ¥याली सुरु हुनुअघि भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ र वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले बोल्नुभएको थियो ।
जानकारी दिइएअनुसार भाजु पोखरीको क्षेत्रफल ३२ रोपनी ११ आना रहेको छ । उक्त पोखरी र जलेश्वर मन्दिर निर्माणमा १ करोड ८७ लाख ३५ हजार ६ सय ३६ रुपैयाँ खर्च भएको थियो ।
Leave a Reply