भर्खरै :

मध्यपुर ठिमीको मन्टेश्वरीमा एक दिन

मध्यपुर ठिमीको मन्टेश्वरीमा एक दिन

शनिबार सरकारी बिदाको दिन हो । हप्ता दिनको अफिसियल कामकाजबाट एक दिन आफूलाई रिफ्रेस तथा रिचार्ज गर्ने दिन भएकोले दिनभर घरमै आराम गर्ने योजना थियो । मेरो बिदाको दिनलाई उपयोग गर्ने उद्देश्यले मेरो साथी सावित्राबाट चन्द्रागिरि भ्रमणको पारिवारिक योजना बनेको रहेछ । यसैगरी सरकारी बिदालाई सदुपयोग गर्ने गरी सामाजिक सेवामूलक योजना र केही शैक्षिक योजनाहरू पनि धेरै स्थानमा बनेको पाइयो । मलाई औपचारिक र अनौपचारिक गरेर ६/सात वटा निमन्त्रणा आएको थियो । सबैलाई इन्कार गरेर दिनभर घरमै बसौँ कि भन्नेमा केहीबेर अलमलमा परेँ । तर मायाले, हार्दिक निमन्त्रणालाई इन्कार गर्नु गलत हुने निचोडमा म पुगँे । सबै कार्यक्रमहरू धेरै महत्वपूर्ण थिए । प्राथमिकता केलाई दिने भन्नेतर्फ सोच विचार गर्दा शिक्षालाई रोजेँ । शिक्षाको जग वा आधार प्रि स्कूलको कार्यक्रममा सहभागी हुने निधो गरेँ । मध्यपुर ठिमी नगरपालिका वडा नम्बर एकमा अवस्थित लिटिल ब्लसम मन्टेश्वरी स्कूल (Little Blossom Montessori School,Madhypur thimi 01, Bhaktapur) को वार्षिक उत्सव तथा अभिभावक दिवसको (School Anniversary & Parents Day) निमन्त्रणामा सहभागी हुने निर्णयमा पुगँे । बिहानको भोजनपछि सावित्रा र म ब्रह्मायणीबाट काठमाडाँै जाने बसमा चढ्यौँ । सावित्रा चन्द्रागिरीको लागि भने म कौशलटारसम्म पुग्ने गरी हिँड्यौँ । म कौशलटार झरेर विद्यालयले तय गरेको कार्यक्रमस्थल ह्वाइट पेलेस कौशलटार पुगँे ।
बिहानको १०.३० बजे वार्षिकोत्सव तथा अभिभावक दिवसको कार्यक्रम औपचारिक रूपमा राष्ट्रिय गानबाट सुरु भयो । उक्त मन्टेश्वरी स्कूलका अध्यक्ष उपेन्द्र बस्नेतको अध्यक्षतामा वार्षिकोत्सव अगाडि बढ्यो । प्ले ग्रुप, नर्सरी, एल.के.जी., यू.के.जी. गरी प्रि स्कूलका चारवटा कक्षामा लगभग सयको नजिक विद्यार्थी र ६ जना शिक्षिका कार्यरत रहेछन् । अम्बिका अधिकारीको प्रमुख आतिथ्य, विशेष अतिथिमा डम्बर भट्टराई, अतिथिमा जे.पी. तिमिल्सिना, गोमा पोखरेललगायत सयौँ अभिभावकहरूको सहभागितामा अनेकौँ बाल प्रतिभाहरूको प्रस्तुतिसँगै कार्यक्रम अगाडि बढ्यो । मेरो सामुदायिक विद्यालयमा काम गरेको लामो समयको अनुभव र अनुभूति निजी विद्यालयको अनुभव भए तापनि मन्टेश्वरी स्कूलका विशेष कार्यक्रममा सहभागी भएको यो पहिलोपटक हो ।
अतिथिहरूका शुभकामना मन्तव्य पछि बालबालिकाहरूको प्रस्तुति सुरु भयो । सबैभन्दा साना नानीहरूको जाग नेपाली गीतको बोलमा सामूहिक नृत्यले सबैलाई आनन्दित तुल्यायो । राम्रोसँग कपडा लगाउन र खोल्नसम्म नसक्ने उमेरका केटाकेटीलाई राम्रोसँग सिकाउन सकियो भने अति राम्रो प्रस्तुति दिन सक्दोरहेछ भन्ने अनुभव भयो । ‘म्याउम्याउ बिरालो’ भन्ने गीतको बोलमा भएको नृत्य, ‘जोनी जोनी एस पापा’ बोलको गीतमा देखाइएको प्रस्तुति उत्तम देखियो ।‘साना साना आँखा, तर संसार हेर्ने मन छ, चरा देख्दा चरासँगै उड्ने मन गर्छ, तारा देख्दा ताराजस्तै चम्कुँजस्तो लाग्छ, माछाजस्तै खेल्न पाए हुन्थ्यो’, जस्ता मार्मिक शब्दका गीतमा भएको विभिन्न भेषभूषा लगाएर देखाएको नाच आकर्षक थियो । यसैगरी ‘एक नम्बरी सुन हो, एक नम्बरी सुन, बा आमा भनेका जिउँदा देउता हुन्’ भन्ने बोलको गीत र नाच हेर्दाहेर्दै सबै अभिभावक भावविह्वल भएको देखिन्थ्यो । हरेक प्रस्तुति गर्नुपूर्व दुई जना केटाकेटीहरूको सामूहिकरूपमा उद्घोषण गर्दाको भाषा शैली र प्रस्तुति झन् रोचक थियो ।‘ भिजिट भिसामा, भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशा’, हिमालमा हिउँ तराईमा तोरी, नेपालका हामी प्यारा छोराछोरी, ‘पखेरामा रातै गुराँसको वन, हिमालभन्दा पनि सुन्दर हाम्रो मन’ बोलको गीत र नृत्य अति सुन्दर थियो । कार्यक्रममा सबैभन्दा धेरै आकर्षक ‘यस्तै रहेछ परदेशी जीवन’ नामको गीतिनाटक थियो । ‘कहिलेकाहीँ त लाग्छ डर,पुग्छु कि पुग्दिँन घर, ‘म फर्कन्छु आमा, बाबालाई ल्याएर फर्कन्छु’ बोलको गीति नाटकमा विदेशमा छोराले भोगेका दुःखकस्ट, पीडा, यातना, काम गर्दागर्दै मालिकले दिएका यातना,बेहोस अवस्थामा सडकमा लडेको दृश्य, साथीहरूले बचाउन गरेको धेरै प्रयास, अन्ततोगत्वा घरमा लास पुग्दाको कारुणिक दृश्य, आमा तथा छरछिमेकीको रुवाबासीले हाम्रो देशको दुर्दशा झल्काएको थियो । घरमा विधुवा बुढी आमामात्रै हुन्छिन्, छोरालाई विदेश पठाउँदा लिएको ऋण तिर्न नसक्दा साहुले दिएको दुःख, सास्ती, अपमानको पीडा र रोदनलाई साना केटाकेटीहरूले प्रस्तुत गरेको जीवन्त प्रस्तुति, अझै मार्मिक गीतको बोल र दृश्यले प्रायः अभिभावकहरूका आँखा रसाएका थिए । सबैतिर सुँक्कसँुक्क गरेको, लुकीलुकी आँसु पुछ्दै गरेको देखिन्थ्यो । यो गीति नाटकले नेपालको अहिलेको वास्तविकतालाई छर्लङ्ग देखाएको थियो । यस्तैगरी ‘च्याङ्वा है च्याङ्वा, नाचौँ डम्फूको तालैमा’ बोलको गीत र नृत्यले नेपालका हिमाली क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूको भेषभूषा, नृत्य र परिवेशको झझल्को दिएको थियो । कार्यक्रमको अर्को नयाँ प्रस्तुति ‘फेसन शो’ थियो । विदेशी शैलीमा भएको कार्यक्रम तर पुरै नेपालीपनको झझल्को भएको नेपालका विभिन्न फरकफरक समुदायका दस/बाह्र किसिमका रङ्गीचङ्गी भेषभूषा, चालचलन, रीतिरिवाज र परम्परालाई झझल्को दिने फेसन शोमा मन्चको एकतिरबाट केटा, अर्कोतिरबाट केटी नयाँ नयाँ चालमा आउने, अनौठा हाउभाउ देखाएर ढल्कीढल्की हिँडेका दृश्य अनुकरणीय थियो । विभिन्न खेलहरू, योगाहरू, व्यायामहरूलगायतका अति धेरै प्रस्तुतिले सबैलाई चकित बनायो । ८/९ वर्षका केटाकेटीले कक्षा ९/१० मा पढ्नेहरूको भन्दा राम्रो प्रस्तुतिले सिकाइमा उमेरले फरक नपार्ने रहेछ, सानो उमेरमा छिटो सिकाइ हुने रहेछ भन्ने देखाएको थियो । कुन बच्चाको इच्छा, चाहना, रुचि के छ त्यो बुझेर शिक्षकले सहजीकरण गर्न सकेमा सुनमा सुगन्ध हुने थियो ।
भक्तपुर जिल्ला कला, संस्कृति र सम्पदामा धनी त थियोे नै अब विस्तारै शिक्षा क्षेत्रमा अगाडि लम्किरहेको छ । सानासाना स्कूलहरूदेखि कलेज कुशलतापूर्वक सञ्चालन गरेर ख्वप विश्वविद्यालय स्थापना सम्पूर्ण नेपालीहरूको आशाको केन्द्र भएको देखिन्छ । भक्तपुरभित्र पनि भक्तपुर नगरपालिकाले जस्तै अन्य पालिकाहरूले पनि शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिएको खण्डमा विश्वविद्यालय स्थापनाको अभियानमा हातेमालो गर्न सके अझै छिटो प्रगति हुनेछ । यसरी विद्यालय जानको लागि तयारी चरणका नानीहरूको अवस्थाले नेपालको भविष्य उज्ज्वल देखिन्छ । हामीले सबै सामुदायिक विद्यालयहरूमा पनि यस्ता रचनात्मक, सृजनात्मक कार्यलाई विशेष प्राथमिकता दिनुपर्ने देखिन्छ ।
अहिलेको विद्यमान अवस्थामा थोरै सुधार गर्न सकेमा, शिक्षकहरूको सम्मान, मानमर्यादालाई विशेष प्राथमिकता दिदै व्यावहारिक, सृजनात्मक, सिपमूलक तथा सूचना प्रविधिसम्बन्धी तालिम दिएर सकारात्मक सोचको विकास गराउन सके भविष्य राम्रो देखिन्छ । एउटा सानो बत्तीको चिमको प्रकाशले ठुलो कोठाभरिको अन्धकारलाई हटाएर झल्झलाकार उज्यालो फैलाउन सक्छ, त्यसरी नै सबैभन्दा सानो जिल्ला भक्तपुरले पूरै देशलाई शिक्षाको ज्योति छर्न सकोस् भन्ने शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *