अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
हरेक पार्टी कार्यकर्ता एक सङ्गठन वा समितिको मातहतमा काम गर्ने गर्छन् । तल्लो समिति माथिल्लो तहको मातहतमा रहने गर्छ । पार्टीका सबै समितिहरू पार्टी केन्द्रीय समितिको मातहत र रेखदेखमा काम गर्छन् । पार्टीका हरेक वर्गीय सङ्गठनका केन्द्रीय समिति र पेसागत सङ्गठनहरू पार्टी केन्द्रीय समितिको मातहत र रेखदेखमा कार्य गर्छन् ।
कहीँकहीँ पार्टीका सबभन्दा तल्लो समिति वा सेलको जिम्मेवार व्यक्ति वा सदस्यसमेत स्वतन्त्ररूपले अध्ययन गोष्ठी, साहित्य समिति, सङ्गीत वा खेलकुद समितिको सञ्चालनमा संलग्न भएका छन् । तर, ती समितिहरूको गतिविधिको रिपोर्ट पार्टी समितिमा पुग्दैन । पार्टी कार्यकर्ताहरू ती समितिहरू पार्टी सङ्गठनअन्तर्गत काम गरिरहेको सम्झने गर्छन् । तर, ती समितिका गतिविधि र त्यसमा काम गर्ने व्यक्तिहरू पार्टी गतिविधिविपरीत देखिएको हुनाले प्रश्न स्वाभाविकरूपले उठ्ने गर्छ ।
ती समितिका केही गलत तत्वहरूले पार्टीको समानान्तर ढङ्गले काम गर्ने मनसाय राखेर काम गरेको अनुभव पार्टी साथीहरूले देखे तथा अपजस सबै पार्टीलाई आउने र सफलतामा तिनीहरूको योग्यताको रूपमा लिने व्यवहारले देखे र सम्झे । सानातिना सफलता देखेपछि तिनीहरू आफूलाई पार्टीभन्दा फरक, स्वतन्त्र समिति र व्यक्तिको रूपमा अभिव्यक्ति दिन थाल्छन् ।
पार्टीमै रहेका केही व्यक्तिहरूले काम नसिकेसम्म तथा पार्टीका साथीहरूसँग परिचय नभएसम्म पार्टीमा रहने तथा आफूहरू पार्टी क्रियाकलाप र आवश्यक जानकारीपछि अलग्गै व्यापारसँग सम्बन्धित स्वतन्त्र गतिविधिमा रहे । अरुको आँखामा पार्टीको समिति भनी फाइदा लिने तर ती समितिले पार्टीसँग समानान्तररूपमा काम गर्दै गरेको देखियो । यस्ता स्वतन्त्र समितिको उद्देश्य र मनसाय वर्गशत्रुलाई राम्रै जानकारी हुने तर पार्टीकै साथीहरूले पटक्कै शङ्का नगर्दा तिनीहरूले भित्रभित्र सङ्गठनमा फाटो ल्याउने काम गर्दै गरेको जानकारी भएको नयाँ विषय होइन ।
ती स्वतन्त्र समितिहरूले केही सय र हजार रूपैयाँ प्रतिव्यक्ति राखेर सहकारी र ढुकुटीजस्तै ऋण लिने र ब्याज दिने काम गरेको देखियो । टोलटोल र गाउँगाउँमा देखिएको त्यस अर्धभूमिगत संस्थाहरूले विदेशी धर्म र गैरसरकारी संस्थाहरूसँग सम्पर्क राख्ने र तिनीहरूकै शाखा बनेर जनतालाई विश्वासघात त गर्ने होइन भन्ने शङ्का उब्जिन थालेको छ ।
ती सङ्गठनका मातहतमा चियापसल, पुस्तक पसल, फलफुल पसल, कापीकलम (किराना पसल) औषधि पसल आदि राख्ने गरेको बताइन्छ । ती संस्थाहरूले तास, जुवा खेल्न लगाएको वा खेलेको सूचना र समाचार आएको छैन बरु पिकनिक र विदेशमा घुमफिर गर्ने गरेको जानकारी जनतालाई छ ।
सम्भवतः अर्को निर्वाचनसम्ममा ती समूहहरू ‘घण्टी’, ‘लट्ठी’, केही प्रतिगामी राजनीतिक समूह वा राप्रपा र अन्य दक्षिणपन्थी राजनीतिक दलहरूको भित्री संस्थाको रूपमा काम गर्न पुग्ने अनुमान गरिँदै छ । दक्षिणपन्थी दलहरूले निर्वाचनमा प्रत्यक्ष पैसा बाँड्नुभन्दा यस्ता समूहहरूलाई एकमुष्ट रकम दिएर ‘भोट बैङ्क’ बनाउने सम्भावना देखेका छन् ।
Leave a Reply