भर्खरै :

खेलाडीमा अनुशासन तथा समर्पित भावना आवश्यक

खेलाडीमा अनुशासन तथा समर्पित भावना आवश्यक

भक्तपुर, ३१ भदौ । भक्तपुर जिल्ला भलिबल सङ्घको छैटौँ साधारणसभाको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले खेलकुद क्षेत्रमा उत्कृष्टता हासिल गर्न आधुनिक र सुविधासम्पन्न पूर्वाधारसँगै उचित तालिम, खेलाडीमा अनुशासन तथा समर्पित भावना आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीका लागि राज्यले उचित सेवा–सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले खेलकुद विकासका लागि विभिन्न क्षेत्रमा कभर्ड हल निर्माण गर्नुका साथै विभिन्न खेलको नियमित प्रशिक्षण सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले देशको विकास आफ्नै क्षमता र निर्णयमा आधारित हुनुपर्ने धारणा राख्दै आत्मनिर्भरता र देशभक्तिको भावनाले मात्र देशलाई दीर्घकालीन रूपमा विकासको बाटोमा अघि बढाउन सकिने बताउनुभयो । विदेशी ऋणमा आधारित विकास योजनाले मुलुकलाई आत्मनिर्भर बनाउन नसक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रजापतिले बाह्य प्रभावबाट देशका महत्वपूर्ण निर्णय प्रभावित हुन नहुने बताउनुभयो । विदेशी संस्थाहरूले विभिन्न माध्यमबाट राजनीतिक परिवर्तनमा प्रभाव पार्न सक्ने भन्दै त्यसप्रति सचेत हुनुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “साम्राज्यवादी देशहरू चर्चित कलाकारहरूमार्फत सरकार परिवर्तन गर्ने प्रपञ्च गर्छन् । नेपाल ¥यापरलाई सरकारमा पु¥याउन अमेरिकी संस्था प्रजातन्त्रको लागि राष्ट्रिय सहयोग (नेड) ले खेलेको भूमिकाबाट सचेत रहनुपर्छ ।”
नेपाल भलिबल सङ्घका उपाध्यक्ष गौतमप्रसाद लासिवाले खेलाडी तथा खेलकर्मीले सम्बन्धित ऐन–कानुनको अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले पदभन्दा कामलाई प्राथमिकता दिनुपर्ने र भलिबल सङ्घ विधानअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल भलिबल सङ्घका अर्का उपाध्यक्ष युवराज श्रेष्ठले पर्यटन र सम्पदासँग खेलकुदलाई जोड्नुपर्ने धारणा राख्नुभयो । उहाँले भक्तपुरले खेलकुद तथा अन्य क्षेत्रमा गरेको अभ्यासबाट अन्य स्थानीय तहले पनि सिक्न सक्ने बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष राजु थापाले भक्तपुरमा करिब ३० वटा खेलकुद सङ्घ दर्ता भए पनि ७–८ वटा मात्र सक्रिय रहेको जानकारी दिनुभयो । खेलकुद सङ्घहरूलाई थप सक्रिय बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले भक्तपुरले नेपाली खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो । उहाँका अनुसार भक्तपुरका शशिसुन्दर मल्ल पहिलो अन्तर्राष्ट्रिय भलिबल कप्तान बन्नुभएको थियो । त्यस्तै, नेपालमा पहिलो बिच भलिबल प्रतियोगिता भक्तपुरमा आयोजना भएको, भक्तपुरका खेलाडीले अन्तर्राष्ट्रिय पदक हासिल गरेको, भलिबल खेल हेर्न शुल्क लिने व्यवस्था भक्तपुरबाट सुरु भएको तथा अन्तर्राष्ट्रिय स्तरका पहिलो रेफ्री पनि भक्तपुरकै रहेको उहाँले बताउनुभयो ।
सिटिङ भलिबलसम्बन्धी अन्तर्राष्ट्रिय गतिविधि भक्तपुरमा आयोजना हुनु आदि विभिन्न कारणले नेपाली भलिबल तथा समग्र खेलकुदको विकासमा भक्तपुरको महत्वपूर्ण योगदान रहेको अध्यक्ष रायले उल्लेख गर्नुभयो ।
सो साधारणसभाबाट विनोदचरण रायको अध्यक्षतामा ११ सदस्यीय नयाँ पदाधिकारी निर्विरोध निर्वाचित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *