यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सोमबार बिहानको भोजनपछि घरमै आराम गर्ने विचारले अध्ययन कोठामा पत्रपत्रिका तथा किताबहरू मिलाउने र व्यवस्थितरूपले राख्दै थिएँ । त्यहीबेला मोबाइलमा घण्टी बज्यो । गरिरहेको कामलाई रोकेर फोन उठाएँ । फोनमा आदरणीय दाजु बजिरसिंह बिकले दिउँसो विशेष प्रकारको पुस्तक विमोचन कार्यक्रममा सहभागी हुन जाने खबर गर्नुभयो । प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठद्वारा रचित ‘अन्तरङ्गका तरङ्गहरू’ पुस्तक विमोचन कार्यक्रम सञ्चित बचत तथा ऋण सहकारी संस्था भक्तपुरको आयोजनामा ख्वप इन्जिनियरिङ कलेज, लिबाली भक्तपुरमा फागुन २८ गते सोमबार दिउँसो १ बजे हुने जानकारी भयो । विभिन्न बौद्धिक व्यक्तित्वहरूको गरिमामय उपस्थितिमा हुने उक्त कार्यक्रममा सहभागी हुने अवसर पाएकोमा खुसी हुँदै मेरो बसाइँ गरेको स्थान ब्रह्मायणीबाट ख्वप अस्पतालको अन्तरङ्ग सेवा विभाग हुँदै बागीश्वरी स्कूल नजिकै पुगँे । गाडीहरूले खचाखच भएको च्याम्हासिंह चोकमा आदरणीय दाजुहरू शिवलाल डांगी, बजिरसिंह बिक, भवानी ज्ञवाली, नन्दबहादुर शाही, कलबहादुर सिजापती मेरो पर्खाइमा बस्नुभएको थियो । आपसमा अभिवादन गर्दै हामी भित्री बाटो हुँदै ख्वप इन्जिनियरिङ कलेजतिर लाग्यौँ । भक्तपुर नगरपालिकाले प्लानिङ गरेको कलेज आसपासको सुन्दर सहरको दृश्य केलाउँदै सडकको दायाँबायाँ किनारा, सडक पेटी, ढल निकासको व्यवस्था तथा सडकको वातावरणीय पक्षहरूको मिहीनरूपले अवलोकन गर्दै कलेजभित्र प्रवेश ग¥यौँ ।
इन्जिनियरिङ कलेजमा पस्ने बित्तिकै कला, संस्कृति र सम्पदाको सचित्र देख्न पाइयो । धेरै वर्षपहिल्यै वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले ‘सय वर्षपछिको भक्तपुर’ मा परिकल्पना गरेको दृश्यले छिटो नै साकार रूप लिन थालेको भान हुन्थ्यो । कलात्मक शैलीमा बनाएको कलेजको बाहिरी सेरोफेरो, सुन्दर कृत्रिम पानीको फोहोरा, वरिपरिको हरियालीपन, कलेज प्रवेशद्वारमै सम्पूर्ण इन्जिनियरिङ कलेजका सबै पक्षहरू छर्लङ्ग देख्न र बुझ्न सक्ने गरी निर्माण गरेको त्रिआयामिक गुरुयोजनाले धेरै विषयवस्तुको जानकारी पाइयो । कार्यक्रममा सहभागी हुन जनप्रतिनिधि, प्राध्यापक, शिक्षकशिक्षिका, कर्मचारी, बुद्धिजीवी, राजनीतिज्ञ, पत्रकार, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता थियो । धेरै जना आत्मीय मित्र, मान्यजन, सहपाठी साथीहरूसँग भेटघाट र भलाकुसारी भयो । इन्जिनियरिङ कलेजले परम्परागत शैली र ढाँचामा निर्माण गरेको सभाहल खचाखच भरिएको थियो । सानो चिटिक्क परेको, सुन्दर र कलात्मक मञ्च जमिनको सतह नजिकै थियो भने सहभागीहरू बस्नको लागि जमिनको सतहबाट क्रमशः अग्लो हँुदै गरेको सजिलैसँग आवतजावत गर्न मिल्ने गरी कलात्मक शैलीमा सभाहल बनाइएको थियो । प्रत्येक टेबुलमा खानेपानी राखिएको थियो । सबै सहभागीलाई सजिलोसँग सुन्न मिल्ने गरी साउन्ड सिस्टम मिलाइएको थियो । सभाहलमा सहभागीहरू प्रवेश गरिरहँदा सुमधुर सङ्गीतले वातावरण गुञ्जायमन थियो । सहभागी वृद्धवृद्धा, युवा र केटाकेटी सबैका अनुहार हँसिला, फूर्तिला, जोसिला र रसिला देखिन्थे । पुस्तक विमोचन कार्यक्रममा सभापतित्व योगेन्द्र प्रधानाङ्गले गर्नुभएको थियो भने प्रमुख अतिथिमा वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) र विशिष्ट अतिथिमा नगर प्रमुख सुनिल प्रजापति हुनुहुन्थ्यो । अन्य अतिथिमा बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. डा. हेमन्तशमशेर राणा, वरिष्ठ साहित्यकार भरतमणि जङ्गम, प्रा. डा. सर्वज्ञभक्त माथेमा, डा. सुनिल ताम्राकार, वरिष्ठ पत्रकार दीक्षित, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, अर्थविद् निरन्जनकुमार डा. राजनलाल जोशीलगायत महत्वपूर्ण मुर्धन्य व्यक्तिहरू हुनुहुन्थ्यो । नेपाल मजदुर किसान पार्टी तथा वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँको आदर्श, नैतिकता, इमानदारिता, अध्ययनशीलता, कार्यकुशलता, कला, संस्कृत र सम्पदाप्रतिको लगावलाई सबैले हृदयदेखि नै प्रशंसा गरिएको थियोे । नेपाल सरकार, पुरातत्व विभाग, प्रज्ञा प्रतिष्ठानले गर्ने खोज अनुसन्धान र कृति प्रकाशन गर्ने काम सञ्चित तथा बचत सहकारीले गरेकोमा सबैले मुक्तकण्ठबाट सहकारीको प्रशंसा गरेको देखियो । यस ‘अन्तरङ्गका तरङ्गहरू’ पुस्तकको समीक्षा डा. राजनलाल जोशी र साहित्यकार सूर्य लाकोजुले गर्नुभएको थियो ।
कला, संस्कृति र सम्पदा भनेको कुनै पनि देशको अस्तित्वका आधार हुन् । आफ्नो देशको भूगोल, कला, इतिहास र संस्कृतिको विषयमा अध्ययन गर्नु वा जानकार हुनु हरेक सचेत नागरिकको कर्तव्य हो । तर, विडम्बना ¤ पछिल्लो समयमा यसप्रति चासो राख्ने मानिसहरूको सङ्ख्या दिनानुदिन घट्दै छ । हाम्रो विश्वविद्यालयमा भूगोल, इतिहास र कला संस्कृति विभागमा विद्यार्थी सङ्ख्या शून्यको अवस्थामा पुगेको सुनिन्छ । यस्तो अवस्थामा ४०÷५० वर्ष लामो खोज अनुसन्धानबाट इतिहास, कला, संस्कृति, सम्पदाका बारेमा प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले तयार पार्नुभएको यस ‘अन्तरङ्गका तरङ्गहरू’ पुस्तकले लेखकलाई देश विदेशमा चिनाउने काममात्रै नगरेर यसले त हाम्रो गौरवपूर्ण इतिहास, कला, संस्कृति र पुरातत्वलाई देश तथा विदेशमा चिनाउन कोसेढुङ्गाको काम गर्नेछ । यस पुस्तकले नेपालको कला, संस्कृतिबारे बुझ्न, विदेशी लेखकका लेख तथा पुस्तक अध्ययन गर्ने बाध्यताको अन्त्य गर्नेछ । यस पुस्तकले इतिहासको पानामा लोप भइसकेका नेपालको मल्लकालीन समयका सभ्यता, कला, संस्कृति, रहनसहन, रीतिथिति, चालचलन तथा विभिन्न परम्परा तथा परिवेशलाई प्रकाशमा ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ । यो पुस्तक हाम्रो कला, संस्कार, सभ्यता, संस्कृतिको बारेमा चासो राख्नेहरूको लागि अमूल्य उपहार हुनेछ ।
१०१ वटा शीर्षकमा भक्तपुरका सम्पदा, अभिलेख, दरबार, इनार, जात्रा, गीत, लोकगीत, विभिन्न मन्दिरका तथ्य कुरा, विभिन्न नाचगान, देवीदेवता, विभिन्न समयका मुद्रा, पोखरी, पाटीपौवा, मूर्त अमूर्त सम्पदा, मन्दिरका टुँडाल, ऐतिहासिक शिलालेख, ताम्रापत्र आदिबारे पुस्तकले सम्पूर्ण पाठकलाई पूरा खुराक दिएको छ । यहाँका जात्रा, चाडपर्व, नाचगान तथा पोखरी र दरबारका विशेषता तथा भित्तेचित्र, भित्तेलेखनबारे बुझ्न पनि पुस्तक उपयोगी देखिन्छ । यसका अतिरिक्त विभिन्न राजाका सालिक, गुठी, गढीबारे पनि पुस्तकले थुप्रै कुरा बाहिर ल्याएको छ । यस्तो महत्वपूर्ण कृतिका लेखक तथा प्रकाशक दुवैप्रति इतिहासबारे जान्न चाहने हरेक व्यक्ति ऋणी हुने कुरामा दुईमत नहोला ।
११६८ पेजमा विभिन्न शीर्षकका १०१ ओटा मुख्य लेख रचना विषयसूची, शुभकामना मन्तव्य, प्रकाशकीय, लेखकीय रहेको आकर्षक हार्ड कभर भएको यस पुस्तकको मूल्य रु. ५००० (पाँच हजार) पुस्तकमा प्रस्तुत विषयवस्तुको गम्भीरता, गहनता र वैभवतालाई हेर्दा र लेखकको मेहनत देख्दा धेरै होइन । अझै पुस्तक विमोचनको अवसरमा ४० प्रतिशत छुट दिएकोमा अधिकांश सहभागीलाई सहुलियत मूल्यमा एकप्रति सुरक्षित गर्ने अवसर प्राप्त भयो । यो पुस्तकको मूल्य व्यक्तिगत र संस्थागत फरकफरक भए सर्वसाधारण थप राहत हुने थियो । अन्तमा, लेखकलाई आगामी दिनमा देश र जनताको हितमा थप पुस्तक लेख्ने हौसला मिलोस् ।
Leave a Reply