भर्खरै :

अपरिपक्व र असैद्धान्तिक राजनीतिले गति नलिने

देशमा देखिएको विश्वासघात, अन्तर्घात, भागबन्डा र अस्थिर सरकारले शासकहरूमा नैतिकता, सिद्धान्त, विचार, निष्ठा, इमानदारिता र आदर्श कुन चराको नाउँझैँ भएको छ । उनीहरू राजनीति गर्नु नै सरकारमा जानु हो, मन्त्री बन्नु हो, देशको राजस्वमा रजाइँ गरेर अकुत सम्पत्ति कमाउनु हो भन्ठान्छन् । सरकारमा सामेल भएपछि सिद्धान्त र विचारलाई तिलाञ्जली दिन पनि उनीहरू पछि पर्दैनन् । अवसर पाएपछि नेपालको अस्तित्वमा आँच पु¥याउने, नेपाल आमालाई लात मार्ने काम गर्न नछाड्ने सत्तासीन दलका नेताहरूले एकले अर्काको खुट्टा तान्दै सरकारलाई कमाइ खाने भाँडो बनाइरहेका छन् । राजनीतिक दलका नेताहरूले कहिले को सँग त कहिले को सँग मिलेर अपरिपक्व र असैद्धान्तिक राजनीति गरिरहेका छन् । शासकहरूले सुशासन, भ्रष्टाचार अन्त्य गर्ने कुरा फुके पनि बढेको बाहेक घटेको छैन । सरकारको नेतृत्व फेर्दैमा जनताले सुख सुविधा पाउने होइन† देशको विकास हुने होइन ।
हालै गठन भएको नयाँ सरकारको टिप्पणी गर्दै राजनीतिक विश्लेषकहरू यो सरकार नयाँ बोतलमा पुरानो रक्सी राखेर नयाँ स्वाद चाख्न हो, मुहार फेर्न, जनताको हितमा ऐन कानुन बनाउन होइन, जसरी भए पनि सत्तामा पुग्ने र गठबन्धन जोगाउने काममा तल्लीन देखिएको बताउँछन् । सत्ताको लागि गठबन्धन तोड्ने, नयाँ बनाउने र भागबन्डामा लागी मिलीजुली खाने दलका शासकहरूकै कारण देश र जनताको समस्या जहाँको तहीँ रहेको हो । जनताको समाधान एकपछि अर्काे हल गर्नुको सट्टा समस्या थप्दै जाने र विवादित या अनेक प्रकरणमा मुछेका सांसदलाई मन्त्री बनाएर सुशासनको धज्जी उडाउने काम यो सरकारले गरेको छ । इमानदारीपूर्वक राजनीति नगर्ने या नैतिकतालाई धरापमा पार्ने शासकहरूले जनतालाई इमानजमानको के पाठ सिकाउने हुन्† कसरी सुशासनको अनुभूति देलान् ? शङ्का गर्ने ठाउँ छ । ललिता निवास प्रकरण, भुटानी शरणार्थी, सुन काण्ड, प्रेस काण्ड, औषधि काण्डजस्ता भ्रष्टाचारजन्य प्रकरणमा मुछिएका व्यक्तिहरूलाई सुरु सुरुमा धमाधम कारबाही गर्ला भन्ने विश्वास जनतामा थियो । जनताको त्यो आशा र विश्वास निराशामा बदलियो† भ्रष्टाचारको प्रकरणमा परेका नेता, मन्त्री तथा सांसदहरू कारबाहीमा परेनन्† उनीहरूले कारबाहीको प्रक्रिया अगाडि बढाएनन् । बरु शासकहरू तिनीहरूलाई मुक्त गर्न गृहकार्य गर्दै छन् । तिनीहरू नै देशमा सुशासन र विधिको शासन ल्याउने दाबी गर्छन् ।
शासकहरूले राजनीतिक संस्कार र मर्यादा पालना नगर्दा देश र जनताको निम्ति भनिएको राजनीति फोहरको राजनीतिमा फेरियो । हिजो कम्युनिस्ट भनिने शासक दलका नेताहरूले एकले अर्काेलाई बेइमान, गणतन्त्रविरोधी, प्रतिक्रियावादी पोस्ने, धोकेबाजको तक्मा भिराए भने आज तिनै दलहरूसँग घाँटी जोड्न पुगे; तिनै नेताहरू प्रिय, मित्र र विचार मिल्ने भनी नजिकिए । भन्न नहुने, नसुहाउने शब्दको वाण प्रयोग गरेका ती नेताहरू आज कसरी मित्र भए ? सहमति तोडेर कुनै कसैसँग सम्झौता नगर्ने वाचा खाएका ती नेताहरूले इज्जत, प्रतिष्ठा सबै फालेर किन सहमति तोडे ? आज तिनीहरू झिना मसिना कारण देखाएर सहमति तोडेको आफ्नो गल्ती छोप्छन् । बाचुञ्जेल राष्ट्रमा ‘उथलपुथल’ गर्ने माओवादीले विगतमा के के उथलपुथल गरे ? स्मरण गरेको छ ? ‘जनयुद्ध’ को नाउँमा सरकारसमक्ष आत्मसमर्पण गरेर क्रान्तिकारी बाटो त्यागी संसद्वादी हुनु पनि उथलपुथल नै होला । ‘जनयुद्ध’ को नाउँमा बैङ्क लुटेर, घर जग्गा र जनताको सम्पत्ति लुटेर आर्जन गरेको सम्पत्तिमा भ्रष्टाचार भयो भनी आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरूको भनाइलाई छोपेर गुपचुप गर्नु पनि उथलपुथल नै होला । माओवादी लडाकुको सङ्ख्या यथार्थभन्दा बढी देखाएर पार्टीले सरकारसँग लिएको करोडौँ अरबौँको सम्पत्ति झ्वाम पार्नु पनि उथलपुथल नै होला । एमालेसँग पार्टी एकता गर्नु, एकताको स्वाद लिन नपाउँदै फेरि टुक्रिनु पनि उथलपुथल नै होला । माओवादी केन्द्रले क्रान्तिकारी बाटो छोडेपछि सो दलबाट अन्य माओवादी दल टुक्रिनु पनि उथलपुथल नै होला । पछिल्लो चरणको उथलपुथलको कुरा त भन्नैपर्दैन ।
१४ महिनामा तीनपटक गठबन्धन सरकार बन्नु पनि ‘उथलपुथल’ नै मान्नुप¥यो । देशमा आर्थिक सङ्कट निम्तिनु, विदेशी सहयोग र अनुदानमा देशको बजेट तयार गर्नु, देश भ्रष्टाचारको सूचीमा पर्नु, अनेक काण्ड र प्रकरणको मुद्दामा परेका व्यक्तिहरूको कारबाही प्रक्रिया अघि नबढाई गुपचुप राख्नु या मौन बस्नु, ज्यान मुद्दामा परेका, भ्रष्टाचार, हत्या, हिंसा, अनियमितता गर्ने व्यक्तिहरूलाई छुट दिने काम पनि प्रधानमन्त्री दाहालको नजरमा उथलपुथल भयो । इमान र निष्ठाको राजनीति छोडेर भ्रष्ट आचरणका व्यक्तिहरूको पछि लाग्नु, देशघाती र जनविरोधी एमसीसी सम्झौता गर्नु पनि ‘उथलपुथल’ का दृष्टान्तहरू होला । आज नेपाली जनता त्यस्तै अवसरवादी, संशोधनवादी, नक्कली कम्युनिस्ट पार्टीहरूको पछि लाग्नु परेको छ । त्यस्तो पार्टीले देश जोगाउँदैन, देश बनाउँदैन । तर, पार्टी ठुलो बनाएर धनी बनाउँछ र श्रमजीवी जनतामाथि राज गरिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *