भर्खरै :

सुडानमा ५० लाख मानिस भोकमरीको जोखिममा

सुडानमा ५० लाख मानिस भोकमरीको जोखिममा

संयुक्त राष्ट्रसङ्घ, १६ मार्च (एएफपी) । संयुक्त राष्ट्रसङ्घले सुडानको द्वन्द्वरत समूहलाई ‘विनाशकारी’ भोकमरीबाट बचाउन मानवीय राहत वितरण गर्न अनुमति दिन शुक्रबार आग्रह गरेको छ ।
एएफपीले शुक्रबार प्राप्त गरेको संयुक्त राष्ट्रसङ्घको दस्तावेजअनुसार सुडानका प्रतिद्वन्द्वी जनरलबिचको करिब एक वर्ष लामो युद्धले देशलाई टुक्र्याउने क्रम जारी रहँदा आगामी महिनाहरूमा करिब ५० लाख सुडानीले खाद्य असुरक्षाको सामना गर्नुपर्ने हुनसक्छ ।
सेना प्रमुख अब्देल फताह अल बुरहान र उहाँका पूर्वसहयोगी मोहमद हमदान डग्लोबिच गत वर्षको अप्रिलदेखि जारी युद्धले दसौँ हजारको ज्यान लिइसकेको छ भने पूर्वाधार ध्वस्त पारेको छ । युद्धका कारण यहाँको अर्थतन्त्र धराशायी बनेको छ ।
यसले गम्भीर मानवीय सङ्कट र तीव्र खाद्यान्न अभाव पनि निम्त्याएको छ र देश अनिकालको सङ्घारमा पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले सुरक्षा परिषद्लाई लेखेको पत्रमा करिब एक करोड ८० लाख सुडानीले खाद्य असुरक्षाको सामना गरिरहेको उल्लेख गर्दै आगामी महिनामा देशका केही भागमा करिब ५० लाख मानिस विनाशकारी खाद्य असुरक्षामा फस्न सक्ने चेतावनी दिनुभएको छ ।
डार्फरका दुई लाख ४० हजारभन्दा बढीसहित करिब सात लाख ३० हजार सुडानी बालबालिका ‘गम्भीर’ कुपोषणबाट पीडित रहेको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भन्नुभयो, “सहायता सङ्गठनहरूलाई सुडानभित्रको द्वन्द्वग्रस्त क्षेत्रमा समेत सुरक्षित, छिटो, दिगो र निर्बाध पहुँचको खाँचो छ । अन्तर्राष्ट्रिय समुदायबाट स्रोतसाधनको व्यापक परिचालन पनि महत्वपूर्ण छ ।”
संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमले युद्धले ‘विश्वको सबैभन्दा ठुलो भोकमरीको सङ्कट निम्त्याउने’ चेतावनी दिएको छ ।
पोर्ट सुडानमा पर्याप्त मात्रामा सहायता मौज्दात रहेको तर समस्या भनेको त्यहाँबाट आवश्यक परेका मानिसहरूलाई सहयोग पठाउनुरहेको संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय युनिसेफका सुडानका लागि आपतकालीन प्रमुख जिल ललरले बताउनुभयो ।
ललरले ११ महिना पहिले युद्ध सुरु भएयता खार्तुममा पुग्ने संयुक्त राष्ट्रसङ्घको पहिलो मिसनको नेतृत्व आफूले गत साता गरेको बताउनुभएको थियो । न्युयोर्कबाट भिडियो लिङ्कमार्फत जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले देशभरिका बालबालिकाका लागि आवश्यकताको परिमाण उच्च छ भन्ने कुरा आफूहरूले प्रत्यक्ष देखेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस युद्धले सबैले व्यक्त गरेको पहिलो चिन्ताजस्तै ‘देशलाई भोकमरी र अनिकालतर्फ धकेलिरहेको छ ।”
सुडानका लागि युनिसेफका प्रतिनिधि मन्दीप ओ ब्रायनले एक करोड ४० लाख बालबालिकालाई मानवीय सहायताको खाँचो रहेको र ४० लाख बालबालिका विस्थापित भएको बताउनुभयो ।
उहाँले सामाजिक सञ्जाल एक्समार्फत जारी सन्देशमा भन्नुभएको छ, “बालबालिकाको जीवन र भविष्यको ठुलो क्षति हुन नदिन एउटा सानो छिद्र मात्र बाँकी छ ।”
हालै सुडानको भ्रमणबाट फर्केका विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक हनान बाल्खीले डार्फरको चरम आवश्यकतामाथि जोड दिँदै अधिकांश स्वास्थ्य संस्थाहरू लुटिएको, क्षतिग्रस्त भएको वा नष्ट भएको बताउनुभयो ।
संयुक्त राष्ट्रङ्घका सहायता प्रमुख ग्रिफिथ्सले सुरक्षा परिषद्को प्रस्तावका बावजुद मुस्लिमधर्मावलम्बीको पवित्र महिना रमजानको समयमा पनि युद्ध जारी रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *