भर्खरै :

जलमार्ग र पर्वतीय पदमार्ग बिगार्न नहुने

जलमार्ग र पर्वतीय पदमार्ग बिगार्न नहुने

काठमाडौँ, १५ चैत । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँग पर्यटन उद्योगबारे बिहीबार छलफल भयो ।
छलफलमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासङ्घको पर्यटन विभागका अध्यक्ष देशबन्धु बस्नेत, नेपाल होटल एसोसियसनका अध्यक्ष प्रवीण पाण्डे, वायुसेवा सञ्चालन सङ्घका मनोज कार्की, टान (टीएएएन) का रामप्रसाद बन्जारा, रेष्टुराँ र बारका सङ्घर्ष विष्ट, महासङ्घका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल यात्रा सङ्घका प्रतिनिधि, पर्वतीय पर्यटनका प्रतिनिधिले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्नुपर्ने, नेपालबाट हवाई टिकट लिँदा १३ प्रतिशत भ्याट बढी लाग्ने, दुग्ध पदार्थ गुणस्तरहीन भएको हुँदा गुणस्तरीय आयात गर्नुपर्ने, राजनीतिक परिवर्तन बरोबर हुँदा अप्ठेरो भएको, क्यासिनो खेलबाट नेपालले पनि आम्दानी गर्नुपर्ने, नेपाल पर्यटन बोर्डलाई भागबन्डाको थलो बनाउन नहुने, जलयात्रासमेत बन्द हुने गरी जलविद्युत् उत्पादनको नाममा भारतलाई नदीनाला दिन नहुने, पर्वतीय पर्यटनको मार्ग भत्किने गरी डोजर चलाउन नहुने, लुक्ला र कालापत्थर उड्ने हेलिकप्टरलाई ४ ठाउँ होइन ६ ठाउँमा रोक्ने अनुमति दिनुपर्ने, विदेशमा भएका राजदूतहरूलाई अर्थ कूटनीतिको जिम्मेवार निर्वाह गराउनुपर्ने विषय उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्राचीन स्मारक संरक्षण ऐनअनुसार नेपालको प्राकृतिक र संस्कृतिको सम्पदा जलमार्ग र पदमार्ग बिगार्न नहुने, भारतलाई ६० हजार मेगावाट विद्युत् बेच्ने नाममा जलमार्ग र जलचर समाप्त पार्ने काम गर्न नहुने, प्रम पुष्पकमल दाहालको भारत भ्रमणमा विद्युत् बेच्ने सम्झौता गर्नुअघि जलमार्ग र पर्यटन मार्ग बिग्रिनेबारे सोचेको देखिएन, नेपालीलाई गलत काममा लगाएर सम्पत्ति जोड्ने मनसाय कसैले पनि राख्न नहुने, एउटा प्रदेशमा शरीर बेच्ने महिलाहरूलाई अनुमति दिने चर्चा चलाइयो, त्यसरी अनुमति दिने दाबी गरेकाहरूको छोरीबुहारी शरीर बेच्ने काममा लाग्नेबारे किन सोचिएन भनी उल्लेख गर्नुभयो ।
शासक दलहरूको पक्षपात र बेइमानीलाई राजनीति भन्न नहुने, राजनीति सबै नीतिको मूल नीति र देश र जनताले इमानदारीपूर्वक सेवा गर्ने क्षेत्र भएको, देशको सन्तुलित विकासको लागि बसाइँसराइ जिल्लाभित्र सीमित गर्नुपर्ने, भन्सार राजस्व चुहावटमा भारतीय बिचौलिया र सरकारी अधिकारीहरूको संलग्नता भएको मन्त्रीहरूलाई जानकारी हुनुपर्ने उल्लेख गर्दै सांसद सुवालले दुग्ध पदार्थ आयात नगरी नेपालमै गुणस्तरीय दुग्ध पदार्थ उत्पादन गर्नुपर्ने, भारतकै पुरातत्वविद्हरूले रामायण कथामा उल्लिखित स्थानबारे कुनै अवशेष फेला नपरेको हुँदा रामायण सर्किटबारे सचेत हुनुपर्ने, बाह्य पर्यटनभन्दा आन्तरिक पर्यटनमा भरपर्नुपर्ने, जलविद्युत्, जङ्गल, भूमि र माफियाहरूविरूद्ध सबै एक भएर लड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सरकारी कमलपोखरी, जङ्गल, भवन, निजी दर्ता गरिएको वा बहालको नाममा आफ्नो स्वार्थ पूरा गर्ने कामको उद्योगी–व्यापारीहरूबाट पनि विरोध हुनुपर्ने सांसद सुवालले औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *