भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा नगर प्रहरी जवानलाई मार्गनिर्देशन

नगर प्रमुख प्रजापतिद्वारा नगर प्रहरी जवानलाई मार्गनिर्देशन

भक्तपुर, १५ चैत । भक्तपुर नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ । नगरपालिकाले नगर प्रहरी निरीक्षकको सहयोगमा पहिलोपटकको लागि २२ जना नगर प्रहरी छनोट गरी नगर प्रहरीहरूको लागि आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।
तालिममा सहभागी नगर प्रहरीलाई बिहीबार भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले मार्गनिर्देश गर्दै नगर प्रहरीले नगरपालिका र जनताबिच समन्वयकर्ताको भूमिका निर्वाह गरी जनताको भावना बुझेर मित्रवत् ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।
नगर प्रहरीको काम नगरपालिकासँग प्रत्यक्ष सरोकार भएको विषय हो र नगर प्रहरीले असल व्यवहार, बोलीबचन, अनुशासित र इमानदारिताका साथ काम गर्न प्रमुख प्रजापतिले प्रेरित गर्नुभयो ।
उहाँले नगर प्रहरीले नगरपालिकाको निर्देशन र आवश्यकताअनुसार दमकल र एम्बुलेन्सले जस्तै काम गर्न सधैँ तत्पर भएर बस्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले नगरको सन्तुलित विकासको लागि योजनाबद्ध ढङ्गले काम गर्दै आइरहेको उल्लेख गर्दै उहाँले भक्तपुर क्षेत्रफलको हिसाबले सानो नगरपालिका भए पनि चुनौतीहरू धेरै भएको नगर पनि हो भन्नुभयो ।
सो अवसरमा उपप्रमुख रजनी जोशीले भक्तपुर नपामा नगर प्रहरी व्यवस्थापनसँगै नगरका सबै क्षेत्र व्यवस्थित हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । नगर प्रहरी नगरपालिकाको नीति र निर्देशनअनुसार इमानदारीपूर्वक परिचालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले नगर प्रहरीको काम, कर्तव्य र अधिकारमाथि प्रकाश पार्नुभयो ।
भक्तपुर नगरपालिकाको नगर प्रहरी निरीक्षक नारायण चुवानले चैत १५ गतेबाट नगर प्रहरीहरूलाई तालिम सञ्चालन हुने जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *