भर्खरै :

वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठको निधन

वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठको निधन

काठमाडौँ, १५ चैत । काठमाडौँ सक्व निवासी वरिष्ठ इन्जिनियर एवम् साहित्यप्रेमी राजदास श्रेष्ठको उपचारको क्रममा बिहीबार बिहान निधन भएको छ । अस्पतालको स्रोतअनुसार उहाँको निधन विष सेवनबाट भएको हो ।
विसं २००५ सालमा काठमाडौँको सक्वमा जन्मनुभएका उहाँ पेसाले केमिकल इन्जिनियर हुनुहुन्थ्यो । नेपालको पहिलो केमिकल इन्जिनियरको रूपमा परिचित उहाँले सोभियत सङ्घमा उच्च शिक्षा हासिल गर्नुभएको थियो । उहाँले रुस, दक्षिण अफ्रिका, संरा अमेरिकालगायत देशमा सेवा गर्नुभएको थियो ।
देशभक्त, समाजसेवी एवं नेपालभाषाको उत्थानमा लाग्ने एक अगुवाको रूपमा उहाँ परिचित हुनुहुन्थ्यो । सक्व अथवा शंखरापुरको सम्पदा बचाउन उहाँ आमरण अनसन बस्नुभएको थियो । नेपालको उदयपुर सिमेन्ट कारखाना स्थापनामा पनि उहाँको योगदान रहेको थियो । इन्जिनियर श्रेष्ठको जीवनका अनुभवहरू ‘मजदुर’ दैनिकमा साप्ताहिकरूपमा प्रकाशित भएको थियो ।
देशका दक्ष र महत्वपूर्ण व्यक्तिहरूलाई सरकारले सम्बन्धित काममा उपयोग गर्नुपर्ने हो; उनीहरूको जीवनबारे चासो लिनुपर्ने हो । तर, सरकारको यसतर्फ ध्यान नगएको जनताको गुनासो छ ।
दिवङ्गत श्रेष्ठको जन्म पिता तुल्सीदास श्रेष्ठ र आमा अष्टमायाको कोखबाट भएको थियो । रसियाली श्रीमती भ्यालेन्टिनाको तर्फबाट दिवङ्गत श्रेष्ठका दुई छोरा छन् ।
दिवङ्गत श्रेष्ठको बिहीबार पशुपतिमा अन्त्येष्टि गरियो । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, केन्द्रीय सदस्य राजवीर डंगोल, वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाललगायत पार्टी कार्यकर्ता र नातेदारहरूले अन्त्येष्टि कार्यक्रममा श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

One response to “वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठको निधन”

  1. Ram Bindu Shrestha says:

    कर्मवीर वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठ प्रति हार्दिक श्रध्दासुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *