भर्खरै :

देशको उद्योग तथा व्यापार बलियो बनाउन घरेलु तथा साना उद्योगलाई बलियो बनाउनुपर्ने

देशको उद्योग तथा व्यापार बलियो बनाउन घरेलु तथा साना उद्योगलाई बलियो बनाउनुपर्ने

भक्तपुर, १६ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको आयोजनामा भएको ‘संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि घरेलु उत्पादन मेला २०८०’ को शुक्रबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो ।
नःपुखु परिसरमा सञ्चालित दुईदिने घरेलु उत्पादन मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रेम सुवालले भन्नुभयो, “घरेलु तथा साना उद्योग ठुला उद्योगहरूको जग हो । घरेलु तथा साना उद्योगमा ३२ लाख जनसङ्ख्या संलग्न छन् । कुल कर्जा प्रवाह भएको ४८ खर्ब रूपैयाँमध्ये १ खर्ब रूपैयाँमात्र घरेलु तथा साना उद्योगको लागि दिइएको छ । घर बलियो बनाउन जग बलियो बनाउनु पर्नेजस्तै साना तथा घरेलु उद्योगको विकास नभएसम्म ठुला उद्योग बलियो हुनेछैन ।”
उहाँले भन्नुभयो, “सरकारको बजेटको सिद्धान्त र प्राथमिकतामा नेमकिपाले कृषिलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ । घरेलु तथा साना उद्योगको आधार कृषि हो । सरकारले भारतीय एकाधिकार पुँजीलाई बिजुली सस्तोमा बिक्री गर्न भारतीय लगानीमै जलविद्युत् उत्पादन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।”
सरकारले व्यापारघाटा १८–२० खर्ब रूपैयाँ पुग्ने गरी भारतीय एकाधिकार पुँजीसँग खाना पकाउने ग्यास, पेट्रोल–डिजेल र दाल–चामल–तरकारी खरिद गर्ने होइन । नेपालको नदी–नालाबाट आफ्नै लगानीमा बिजुली उत्पादन गरी सरकारले नेपालीलाई बिजुली दिनु जरूरी छ, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भारत भ्रमणमा नेपालको फुकोट कर्णाली जलविद्युत् परियोजना भारतीय एकाधिकार पुँजीलाई दिनुभयो । कोसी–गण्डक–महाकाली र माथिल्लो कर्णालीलगायत भारतीय एकाधिकार पुँजीसँग भएको सन्धि–सम्झौता खारेज गर्नुपर्ने आवाज उठिरहेकोलाई बेवास्ता गरी नेपालका सरकारहरूले देशघाती सन्धि–सम्झौता गर्दै छन्, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारका प्रमुखदेखि एक अधिकारीसम्मले आफ्नो हस्ताक्षर गर्नुअघि देशघात र जनघात हुन्छ हुँदैनबारे बुझ्नु जरूरी छ । बेलायती–भारतसँग सुगौली सन्धि गर्न गएका नेपाली दूतहरू गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले आफ्नो लागि भारतमा जग्गा–जमीन लिएर देशघात गरेका थिए ।”
“नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि र नेपाली युवालाई ‘भाडाको सिपाही’ बनाउने गोर्खा भर्ती सन्धि गर्नेहरूले नेपाल हित हेरेनन् । अहिले ८० लाख नेपाली युवालाई बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न पठाइएको छ । यसमध्ये ३ लाख ५० हजार नेपाली महिलाहरू दुव्र्यवहारको सिकार भएको समाचार छ”, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी सरकारहरूले सरकारी र सार्वजनिक सम्पत्तिसमेत मुट्ठीभरका व्यक्तिहरूलाई कब्जा गराउँछन् । गोकर्ण रिसोर्टको ३००० रोपनी सरकारी जग्गा, बालमन्दिरको सरकारी जग्गा र थबहीको सरकारी जग्गा व्यक्तिको कब्जामा छ । भक्तपुरका सार्वजनिक पोखरीहरू पनि व्यक्तिको कब्जामा छ । सम्बन्धित सरकारी कार्यालयका अधिकारीहरूको जानकारीमै सार्वजनिक र सरकारी सम्पत्ति व्यक्तिको कब्जामा दिइएको हुनुपर्दछ ।”
सांंसद सुवालले भन्नुभयो, “नेपालको पर्यटन उद्योगलाई टेवा पु¥याउने घरेलु तथा साना उद्योग पनि हो । भक्तपुरको मौलिक उत्पादन दही, भादगाउँले टोपीलगायत हस्तकलाका उत्पादनलाई प्रवद्र्धन गर्नु जरूरी छ । पर्यटन उद्योगलाई टेवा पु¥याउने जलमार्ग र पर्वतीय पदमार्ग अवरूद्ध पारिएको छ । भारतलाई बिजुली बेच्ने निहुँमा नेपालका नदीनालामा जलविद्युत् उत्पादन योजना राखिएको हुँदा जलमार्ग अवरूद्ध भएको र पहाडमा सडक निर्माण गर्न डोजर चलाइँदा पर्वतीय पदमार्ग बिग्रिएको सम्बन्धित क्षेत्रका सरोकारवालाहरूको गुनासो छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु मेला आयोजनाले घरेलु उत्पादनबारे प्रचारप्रसार हुनुका साथै व्यापार प्रवद्र्धनमा समेत मद्दत पुग्ने बताउँदै भक्तपुरको जुजु धौ, भादगाउँले टोपी, हाकुपटासी, टाइचिन च्युराजस्ता वस्तुहरू विश्व बजारमा पु¥याउन सके त्यसले देशको आर्थिक विकासमा मद्दत पुग्ने बताउनुभयो ।
हरेक वस्तु विदेशी उत्पादनमा भर पर्दा नेपालको उत्पादन घट्नुका साथै बेरोजगारीको समस्या पनि बढ्दै गइरहेको स्पष्ट पार्दै उहाँले घरेलु उत्पादनहरूलाई नेपालमा मात्र नभई विदेशी बजारसम्म पु¥याउने वातावरण सिर्जना गर्न सके विदेशी मुद्रा आर्जन गर्न टेवा पुग्ने बताउनुभयो ।
युवाहरूलाई उद्यमशील बनाउने नीतिअनुरूप भक्तपुर नपाले युवा उद्यमशीलता ऋणसम्बन्धी कार्यविधि नगरसभाबाट पारित भइसकेको अवगत गराउँदै स्वदेशी वस्तु उपभोगमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुरका प्रजिअ रोशनीकुमारी श्रेष्ठले महिलालक्षित वित्तीय साक्षरता र उद्यमशीलताबारे प्रशिक्षण आवश्यक भएको उल्लेख गर्दै यस किसिमका मेलाहरूमा उपत्यकाभित्र रहेका तर लोप हुन लागेका मौलिक कला संस्कृतिको प्रवद्र्धनमा पनि अग्रसरता लिनुपर्ने बताउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले मेला आयोजनाको उद्देश्यमाथि प्रस्ट पार्दै स्थानीय सरकारले ससाना उद्योग बचाउन बजेटको व्यवस्था गरी संरक्षण गर्ने नीति लिनुपर्ने बताउनुभयो । भक्तपुर नपामा कोसेली घर निर्माणको खाँचो रहेको औँल्याउँदै उहाँले भक्तपुरका मौलिक र स्थानीय सामग्री प्रवद्र्धनमा स्थानीय तहको अग्रसरता महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका पूर्वअध्यक्ष चन्दनकृष्ण बाडे, उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख आशिष दाहाल र भक्तपुर पर्यटन विकास समितिका सचिव दिपेश वेंजुले पनि मेला आयोजनाको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभयो ।
कार्यक्रमपश्चात् प्रमुख अतिथि तथा अतिथिहरूले मेलाको अवलोकन गर्नुभएको थियो ।
संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि घरेलु उत्पादन मेला २०८० उद्योग तथा वाणिज्य कार्यालयको सहकार्य तथा भक्तपुर पर्यटन विकास समितिको संयोजनमा भएको हो । मेला चैत शुक्रबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नःपुखु परिसरमा हुनेछ प्रवेश शुल्क निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *