जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, १६ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरूलाई शुक्रबार एक कार्यक्रमबिच कदरपत्रका साथ सम्मान गर्नुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा भएको उक्त कार्यक्रममा कर्मचारीहरूलाई मार्गनिर्देश गर्दै अध्यक्ष बिजुक्छेँले संस्थाको हितविपरीत संस्थालाई नोक्सान हुने काम गर्नेलाई दण्ड जरिवानाको व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले जनताले सरकारलाई तिर्नुपर्ने कर समयमै तिरी आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्नुभयो ।
अवकाश प्राप्त कर्मचारीहरूले अवकाशपछिका जीवनलाई पनि क्रियाशील ढङ्गले सामाजिक गतिविधिहरूमा लाग्न प्रेरित गर्दै उहाँले कर्मचारीहरूले सचेत भएर काम गरेनन् भने संस्थालाई नकारात्मक असर पुग्नेप्रति सचेत हुनुपर्छ भन्नुभयो ।
भक्तपुर देशकै सानो जिल्ला भएकोले भक्तपुरलाई टेस्ट ट्युबको रूपमा विकास गर्न सकिने विचार व्यक्त गर्दै उहाँले भक्तपुरको विकासलाई अझ परिष्कृत ढङ्गले अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।
सहकारी संस्थाहरूले सहकारीको भावना र मर्मअनुसार काम नगरेको हुँदा अहिले धेरै जनता सहकारीबाट पीडित भएको उल्लेख गर्दै उहाँले जनतामाझ सहकारी शिक्षाबारे पनि कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरू राम्रा भए जनताले सहज सेवा पाउने स्पष्ट पार्दै संस्थालाई गलत दिशामा लानबाट रोक्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
कर्मचारीहरू राजनीतिक प्राणी पनि भएको हुँदा देशमा भइरहेको विभिन्न राजनैतिक गतिविधिबारे जानकारी राख्नु आवश्यकता औँल्याउँदै उहाँले कर्मचारीहरूले नेतृत्वसँग समन्वय गरी जनप्रतिनिधिको नीति र निर्देशन राम्रोसँग पालना गरी काम गरे संस्था व्यवस्थित ढङ्गले अगाडि बढ्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जनप्रतिनिधि र कर्मचारीहरूको संयुक्त सहकार्य र हातेमालोले गर्दा भक्तपुर देशकै नमुना नगरको रूपमा परिचित बनेको बताउँदै जनताको भावना बुझेर काम गर्न कर्मचारीहरूलाई मार्गनिर्देश गर्नुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले राजनीतिकरूपले सचेत कर्मचारीले मात्रै देश र जनताको हितमा काम हुने चर्चा गर्दै कर्मचारीहरूले अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । भ्रष्ट कर्मचारीहरूलाई संरक्षण गर्ने काम शासकहरूबाटै हुँदै आएको उल्लेख गर्दै उहाँले भक्तपुर नपाले सङ्घीयताको सफल अभ्यास गरिरहेको बताउनुभयो ।
भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले ३० वर्ष आफ्नो कार्यकालको अनुभव सुनाउँदै कर्मचारीहरूलाई देश र जनताप्रति दत्तचित्त भएर काम गर्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका १५ जना र सेवा निवृत्त ८ गरी २३ जना कर्मचारीलाई प्रमुख अतिथि बिजुक्छेँले कदरपत्र र नगर प्रमुख प्रजापतिले पुष्प गुच्छाका साथ सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा कर्मचारी एशोसिएनका विकास प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो भने राजेश दिष्टिले पनि बोल्नुभएको थियो ।
Leave a Reply